बाँके । बाँकेमा यसबर्ष फागुन १५ गते हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइँदैछ । नवौं चरणमा खुवाउन लागिएको औषधि यसपटक भने स्वास्थ्यकर्मीले नै खुवाउने छन् । १५ गते हरेक वडामा तोकिएका बुथमा औषधि खुवाइने छ भने १६ गतेदेखि २६ गतेसम्म घरदैलो अभियान गरेर औषधि खुवाइने नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख केशबराज गौतमले बताए ।
यसअघि महिला स्वास्थ्य स्वयम् सेविकाबाट औषधि खुवाउने गरिएकोमा अभियानलाई थप प्रभावकारी बनाउन यसपटक स्वास्थ्यकर्मीबाटै औषधि खुवाउने रणनीति बनाइएको गौतमले बताए । बाँकेमा ५ लाख ८८ हजार २७८ जनालाई औषधि खुवाउन ३६८ स्वास्थ्यकर्मी खटिने आज नेपालगन्जमा आयोजित अन्तरक्रिया कार्यक्रममा जानकारी दिइएको छ ।
त्यस्तै स्वास्थ्यकर्मीलाई सघाउन ७८९ महिला स्वास्थ्य स्वयंसेविका खटिने छन् । स्वास्थ्य कार्यालयकी दुर्गा गौतमले आठौं चरणसम्म औषधि खुवाउँदा अपेक्षित उपलब्धी हासिल नभएका कारण यो पटक स्वास्थ्यकर्मीबाटै औषधि खुवाउँदा स्थानीयहरु विश्वस्त हुने अवस्था देखेर नयाँ रणनीति अपनाइएको बताइन् । औषधि खाँदा हुने समस्या औषधिका कारण नभई मानिसको शरीरमा हुने किटाणुका कारण भएको उनले बताइन् ।
हात्तीपाइले निवारणका लागि गरिएको अभियानमा आम औषधी सेवन बारे गलत धारणा, शहरी क्षेत्रमा औषधी सेवन प्रगती न्यून हुनु, लगाएतका चुनौतिहरुको सामना गर्नुपरेको बताइएको छ । बाँकेमा पाँच लाख ८८ हजार २७८ जनसंङख्या रहेकोमा करिब १३ प्रतिशतमा हात्तीपाइलेको संक्रमण रहेको बताइएको छ । क्युलेक्स क्यांकिफेसिएटस नामक लामखुट्टेले यो रोग सार्ने गर्छ ।
रोग निवारणका लागि डिइसी र अल्बेन्डाजोल नामक औषधि खुवाइँदै आएको छ । दीर्घरोगी, गर्भवती तथा ७ दिनको सुत्केरी महिला र २ वर्षमुनिका बालबालिकाबाहेक सबैले यो औषधि सेवन गर्न सकिने बताईएको छ । यो औषधिले कुनै पनि नकारात्मक असर नगर्नेसमेत कार्यक्रममा बताइएको थियो ।
सत्यपाटी - ।