सूचनाको शक्ति - The Power Of Information

        

बाँके निकुञ्जले लगायो हात्ती भाडामा प्रतिबन्ध

बाँके । बाँके राष्ट्रिय निकुञ्जले हात्ती भाडामा प्रयोग गर्न रोक लगाएको छ । मेला, महोत्सव लगायतका पर्वमा हात्ती भाडामा प्रयोग नगर्नु भन्ने सरकारले निर्देशन दिएसँगै रोक लगाइएको निकुञ्जले जनाएको छ । निकुञ्जका प्रमूख संरक्षण अधिकृत युवराज रेग्मीका अनुसार नयाँ निर्देशन प्राप्त भएपछि हात्ती कहीँकतै पठाइएको छैन ।

प्रमूख संरक्षण अधिकृत रेग्मीले भने, ‘अब हात्ती निकुञ्ज र संरक्षण क्षेत्रको कामबाहेक अन्यत्र प्रयोग हुँदैनन् ।’ सरकारले हालैमात्र हात्ती व्यवस्थापन सम्बन्धी ऐन संशोधन गरेपछि हात्तीको प्रयोगमा रोका लगाइएको हो । असोज महीना अघिसम्म निकुञ्जले शुल्क लिएर हात्तीलाई मेला, महोत्सव, महायज्ञ लगायतका पर्वहरुमा भाडामा दिने गरेको थियो ।

वन्यजन्तुको अधिकार र हात्तीको प्रयोगबाट हुने असुरक्षालाई देखेर पनि सरकारले हात्ती व्यवस्थापन सम्बन्धी नयाँ नियम ल्याएको प्रमूख संरक्षण अधिकृत रेग्मीले बताए । उनका अनुसार अहिले पनि विभिन्न कार्यक्रमका लागि आयोजकहरुले हात्ती माग गर्दै निकुञ्जमा पुग्ने गरेका छन् । तर, निकुञ्जले हात्ती भाडामा नदिने भन्दै फर्काउने गरेको छ ।

चार वटा हात्ती रहेको बाँके राष्ट्रिय निकुञ्जमा नेपाली पर्यटकले हात्ती प्रयोग गर्दा ६ घण्टाको रु.५ हजार, सार्क देशका पर्यटकका लागि रु.१० हजार र अन्य मुलुकका पर्यटकका लागि रु.२० हजार शुल्क लिँदै आएको थियो । यो नियम लागु भएपछि विभिन्न कार्यक्रमका आयोजकहरुले शुल्क तिरेर पनि हात्ती नपाउने निकुञ्जका सूचना अधिकारी विष्णु थपलियाले जानकारी दिए ।

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार १७:४४