सूचनाको शक्ति - The Power Of Information

        

उत्तरकुमार वली : अस्ताए एक विकासप्रेमी नेता

नवीन नेपाली । नारायणपुर । दाङको कर्णाली भनेर चिनिने पश्चिम क्षेत्रको विकासको नेतृत्व गर्न शुरु गरेका सांसद उत्तरकुमार वलीको निधनपछि त्यो क्षेत्र यतिखेर शोकमा छ । माघ २४ गते अपरान्ह भएको कार दुर्घटनापछि अचेत अवस्थामा रहँदै आएका सांसद वलीको शुक्रबार बिहान काठमाडौँमा उपचारकै क्रममा निधन भएपछि पश्चिम दाङ दुःखित छ । विद्यार्थी कालदेखि राजनीतिक यात्रा शुरु गरेका वली पूर्णकालीन रुपमा राजनीति मै होमिएपछि पश्चिम दाङमा विकासले मुहार फेर्न थालेको स्थानीयवासी बताउँछन् ।

बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले पश्चिम दाङले वर्षौंपछि प्राप्त गरेको विकासप्रेमी नेता गुमाउनु परेको प्रतिक्रिया दिए । ‘जतिबेलादेखि सांसद वलीले केन्द्रीय राजनीतिमा पहुँच राख्न शुरु गर्नुभयो, त्यो समयदेखि पश्चिम दाङले विकासको महसुस गर्न पाएको हो,’ गाउँपालिका अध्यक्ष पौडेलले भने, ‘जनतालाई खुशी बनाएर आफू खुशी हुने नेता हुनुहुन्छ उहाँ ।’ दाङ निर्वाचन क्षेत्र नं ३ (ख) बाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसद वलीले चालु आर्थिक वर्षका लागि मात्रै पश्चिम दाङमा करोडौँ बजेट तथा कार्यक्रमहरु भित्र्याएका थिए ।

दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले चालु आवमा आफ्नो गाउँपालिकाका लागि मात्रै ७ करोडको बजेट प्रदेश सरकारबाट विनियोजन भएको बताए । दंगीशरण गाउँपालिका सांसदको वलीको गृह गाउँपालिका पनि हो । ‘यो क्षेत्रले अहिलेसम्म राजनीतिक नेतृत्व पाउन सकेको थिएन, उत्तरकुमारको उदय हुने बित्तिकै विकासको कार्यक्रमहरु शुरु भएका हन्,’ अध्यक्ष चौधरीले भने, ‘हाम्रो गाउँपालिकामा मात्रै ७ करोड भन्दा बढीको बजेट उहाँकै पहलमा विनियोजन भएको छ ।’

विकासको पहिलो पूर्वाधारको रुपमा सडक र शिक्षालाई प्राथमिकता दिँदै बजेट तथा कार्यक्रमहरु निर्माण गरेका सांसद वलीको पहलमा पश्चिम दाङमा सिँचाइ सुविधाका लागि कुलो, नहर र बाँध निर्माणका कार्यक्रमहरु शुरु भएका छन् । सामुदायिक विद्यालयहरुमा भौतिक पूर्वाधार निर्माण, युवाका लागि खेलकूद मैदानको निर्माण, पर्यटकीय गन्तव्यहरुमा पूर्वाधार निर्माणका योजनाहरु सांसद वलीकै नेतृत्वमा सञ्चालन भएको बबई गाउँपालिकाका अध्यक्ष पौडेल स्मरण गर्छन् ।

वलीको निधनपछि पश्चिम दाङले एक सबल नेतृत्व गुमाएको बताउँदै अध्यक्ष पौडेलले भने, ‘यो वर्ष बबई गाउँपालिकामा मात्रै ३ करोडको बजेट उहाँकै पहलमा विनियोजन भयो । त्यो बजेटमा नयाँ सडकको ट्र्याक निर्माण, स्तरोन्नति र विद्यालयहरुको भौतिक पूर्वाधारमा सुधार गर्ने योजनाहरु छन् ।’ प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीले सांसद वली जस्ता राजनीतिक विचारले दृढ र विकासमा नेतृत्व दिनसक्ने अर्को नेता दाङले पाउन धेरै वर्ष कुर्नुपर्ने बताए । कक्षा ८ देखि वलीसँग मित्रवत् सम्बन्धमा रहेर काम गर्दै आएको बताउने सांसद चौधरीले पश्चिम दाङको आर्थिक विकासका लागि धेरै योजनाहरु लिएर वलीले राजनीति गरेको सम्झन्छन् ।

को हुन् सांसद उत्तरकुमार ?

दंगीशरण गाउँपालिका वडा न. ६ लेटारका सांसद वलीको जन्म साल २०४१ हो । विद्यार्थी जीवनमै गाउँको विद्यालय अखिलको प्रारम्भिक कमिटीमा बसेर विद्यार्थीहरुको नेतृत्व गरेका वलीले जिल्ला कमिटीबाट तत्कालीन निर्वाचन क्षेत्र नं ४ को इञ्चार्ज भएर काम गरेका थिए । आइएस्सी अध्ययनका लागि नेपालगन्जस्थित बहुमुखी क्याम्पसबाट समेत वलीले राजनीतिक गतिविधिहरु गरेका थिए । बिएस्सी अध्ययनका लागि काठमाडौँको अमृत साइन्स क्याम्पसबाट विद्यार्थी आन्दोलनको नेतृत्व गर्नुभएको सांसद चौधरीले जानकारी दिए ।

उनले भने, ‘सबैका प्रिय विद्यार्थी नेताको रुपमा उहाँले शैक्षिक विषयहरुमा बहस चलाउनुहुन्थ्यो । उहाँ विद्यार्थीे आन्दोलनलाई नेतृत्व गरेर सफल बनाउने नेता हुनुहुन्थ्यो ।’ सांसद वली तत्कालीन निर्वाचन क्षेत्र नं ५ बाट २०६४ मा र सविधानसभाको २०७० सालको निर्वाचनमा पनि उम्मेदवार हुनुभएको थियो । दुई निर्वाचनमा पराजित भए पनि प्रदेश सभाको निर्वाचनमा उनले नेपाली काँग्रेसका नेता बुद्धिराम भण्डारीलाई पछि पार्दै विजयी भएका हुन् ।

बबई गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलले भने, ‘निर्वाचन हारे पनि जनतामाझ पुगेर विकास निर्माणका बारेमा छलफल गर्ने, योजनाका लागि पहल गरिरहने र समस्या भए व्यक्तिगत लगानीमा विकासका लागि स्थानीयवासीलाई सहयोग गर्ने व्यवहारका कारण वली सबैको प्रिय बन्नुभएको थियो ।’ माघ २४ गते बेलुका बुटवलस्थित अस्थायी राजधानीबाट बैठकपछि दाङस्थित घरतर्फ आउँदै गर्नुभएका सांसद वली लमही घोराही सडक खण्डमा दुर्घटनामा परेका थिए ।

घोराहीबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ५ ख ५५२९ नं को यात्रुवाहक बसले बुटवलबाट तुलसीपुरतर्फ आउँदै गरेको बा १८ च ६८३६ नं को सांसद वली सवार कारलाई घोराही–लमही सडक खण्डअन्तर्गत घोराही उपमहानगरपालिका वडा–३ चिसापानी नजीकै ठक्कर दिएको थियो । सांसद वली आफैंले कार चलाएका थिए । दुर्घटनालगत्तै वलीलाई लमहीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि राति नै कोहलपुर मेडिकल कलेज लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि हेलिकप्टरबाट राजधानी लगिएको थियो । दुर्घटना भएको १६ दिनसम्म अचेत अवस्थामा रहनुभएका सांसद वलीको शुक्रबार बिहान निधन भएको हो । सांसद वलीका श्रीमती र दुई छोरा छन् ।

 

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार १६:०४