सूचनाको शक्ति - The Power Of Information

        

महिलाका बाध्यता : हिंसा सहन्छन्, उजूरी दिँदैनन्

दुर्गा देवकोटा । लम्की (कैलाली) । नेपाली समाजमा सदियौंदेखि प्रचलनमा रहेका गलत रीतिथितिले महिलामाथि हिंसा बढाएको छ । छाउपडी प्रथा, बहुविवाह, दाइजो, सुत्केरी बार्ने, बालविवाह जस्ता गलत अभ्यासले महिलामाथिको हिंसा बढाएको हो । पहलसिंह धामी त्रिभुवन मावि बटनपुर कैलालीका शिक्षक हुन् । उनकी श्रीमती महिनावारी हुँदा पाँच दिनसम्म छाउगोठमा बस्छिन् । शिक्षक धामीलाई महिनावारी बार्न हुँदैन भन्ने राम्ररी थाहा छ ।

उनले श्रीमतीलाई घरभित्रै सुताउने प्रयास पनि गरे तर, छिमेकी र परिवारले बस्न दिएनन् । शिक्षक धामी भन्छन्, ‘श्रीमती बाहिर बसाउने इच्छा छैन तर, हाम्रो समाजमा यही अभ्यास छ । सबै बाहिर बस्छन् । मेरी श्रीमती पनि पाँच दिन बाहिर बस्छिन् । उनले दुध दही खान पाउँदिनन् ।’ नेपालीमा समाजमा सदियौंदेखि चल्दै आएका यस्ता प्रथा शिक्षक र कर्मचारीले पनि हटाउन सकेका छैनन् जसको सबैभन्दा बढी असर महिला र साना बालबालिकामा परेको छ ।

टीकापुर–२ की धना साउदलाई पनि महिनावारी भएका बेला घरको आँगनसम्म जाने अनुमति छैन । उनी भन्छिन्, ‘हाम्रो टोलमा पाँच वटा सामूहिक गोठ छन् । हामी महिनावारी हुँदा त्यहीँ बस्छौं । पहिले पहिले त घरघरमा गोठ थिए । अहिले धेरैले भत्काए तर, सामूहिक गोठ भने भत्किएका छैनन् ।’ उनका अनुसार महिनावारी भएको पाँच दिन नियमित नुहाउनुपर्छ । अझ दुधे बच्चालाई दैनिक नुहाएर लुगा फेरेर मात्रै घर लैजानुपर्छ ।

टीकापुर–४ की निर्मला पाण्डे गत कात्तिकमा सुत्केरी भइन् । उनलाई ११ दिन नहुञ्जेलसम्म घरसँगै जोडिएको अलग्गै कोठामा राखियो । एघार दिनसम्म उनले कसैलाई छुन पाइनन् । निर्मला भन्छिन्, ‘सुत्केरी अवस्थामा आफ्नो र बच्चाको स्याहार आफैंले गरे । अलग्गै बस्न इच्छा त थिएन तर, घरमा विद्रोह गर्न सकिनँ ।’ कैलालीकै रमिला देवकोटाका लगातार तीन छोरी जन्मिए । त्यसपछि छोरा पाउनुपर्छ भन्दै उनका श्रीमान्ले दुई पटकको गर्भ परीक्षण पछि गर्भपतन गर्न लगाए ।

छोरा पाइनस् भन्दै उनले बहुविवाह गरे तर, रमिलाले बहुविवाहविरुद्ध उजुरीसम्म गरिनन् । उनलाई छिमेकीले ‘छोरा जन्माउन सकिनस् त अब के गर्छस् सहेर बस’ भने । दुःखेसो पोख्दै उनले भनिन्, ‘मैले र मेरा छोरीले माया पनि पाएनौं । श्रीमान्ले निकै दुःख दिए तर, समाजले तिरस्कार गर्ला, कहाँ गएर बसौंला भन्ने चिन्ताले उजूरी गरिनँ ।’ कैलालीमा यस्ता बहुविवाहका घटना थुप्रै हुन्छन् तर, ती प्रहरीसम्म पुग्दैनन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीमा गत वर्ष बहुविवाहका दश वटा मात्रै उजूरी परेका थिए । कानूनले महिनावारी बार्ने र बार्न लगाउनेलाई सजायको व्यवस्था गरेको छ । कैलालीमा अहिलेसम्म एउटा पनि यसबारे उजूरी परेको छैन । कैलालीको सुगरखालकी बिन्द्रा रिमाल (नाम परिवर्तन) को १७ वर्षमा विवाह भयो । विद्यालय पढ्ने उमेरमा बिन्द्रा र उनका श्रीमानले प्रेम विवाह गरे । विवाहपछि बिन्द्राका सासू ससुराले दैनिक दाइजोका नाममा यातना दिन थाले । बिन्द्राले प्रहरीकहाँ जाने हिम्मत नै गरिनन् । उनले माइतीको इज्जत जाने भन्दै सहेर बसिन् ।

माइतीले दाइजो दिन नसक्ने अवस्था देखेपछि उनले घर छाडिन् । अहिले उनी सुर्खेतको वीरेन्द्रनगरमा बस्छिन् । उनको तीन वर्षकी छोरी छन् । ‘घर छोड्दा म गर्भवती थिएँ । मेरो श्रीमान्लाई थाहा थियो । म घर छोडेर निस्किएँ । मजदूरी गरेर गुजारा गरे तर, मेरो श्रीमान् मलाई लिन कहिल्यै आएनन्,’ बिन्द्राले भनिन्, ‘म कहिलेकाहीँ माइत जान्छु । उनले बिहे पनि गरेका छैनन् तर, मेरो वास्ता गर्दैनन् । मलाई दाइजो बिना नआउनु भनेका छन् । छोरी पाल्छु, बस्छु । ठूली भए पछि अधिकार यसैले खोज्छे ।’

सुदूरपश्चिम प्रदेशका सांसद उमादेवी वादी महिलालाई कुल, धर्म, संस्कार र संस्कृतिसँग जोडेर रोकतोक वा बन्देज लगाउने गरिएको बताउँछिन् । उनले भनिन्, ‘महिलाले गलत सामाजिक अभ्यासका कारण भोगिरहेको हिंसा न्यून गर्न संसदमा आवाज उठाइरहेकी छु ।’ घरपरिवारले पनि यस्ता गलत परम्परा तोड्न आवश्यक रहेको उनको बुझाइ छ । सुदूरपश्चिम प्रदेश सरकारले महिला हिंसा न्यूनीकरणका लागि अभियान समेत सञ्चालन गरिरहेको छ । कैलालीका स्थानीय तहमा पनि महिला लक्ष्यित विविध कार्यक्रम सञ्चालनमा छन् ।

टीकापुर नगरपालिकाका उपप्रमुख केशरी विष्टले आफू निर्वाचित भइसकेपछि टीकापुरका सबै वडामा गएर छाउपडी गोठको अवस्था अवलोकन गरेको बताइन् । ‘टीकापुर नगरपालिकाका ग्रामीण क्षेत्रमा ५० प्रतिशत महिला अहिले पनि महिनावारी हुँदा बार्छन्, हामीले यो समस्यालाई गम्भीर रुपमा लिएका छौं,’ बिष्टले भनिन्, ‘यस्ता परम्परा तोड्न सबै जिम्मेवार बन्नुपर्छ । स्थानीय सरकारले पनि कडाइ गर्ने खालको नीति र कानून निर्माण गर्नुपर्छ ।’ महिलामाथि गलत परम्पराका नाममा हिंसा भएको जानकारी पाए महिला अधिकारकर्मीले समेत उजूरी दिने व्यवस्था हुनुपर्ने उनको भनाई छ ।

महिला अधिकारकर्मी निर्मला कडायत सदियांैदेखि समाजमा जरा गाडेर बसेको सामाजिक मूल्य मान्यता परिवर्तन गर्न त्यति सजिलो नभएको बताउँछिन् । राष्ट्रिय मावि मनिकापुरकी शिक्षिका ज्ञानु पौडेलले आफ्नो विद्यालयमा महिनामा एक दिन किशोरीका समस्याबारे छलफल हुने गरेको जानकारी दिइन् । शिक्षिका पौडेलले भनिन्, ‘हामीले किशोरीलाई बालविवाह नगरुँन् भनी विवाह पछिका झमेलाबारे सम्झाउँछौं र महिनावारी हँंदा सरसफाइ आवश्यक पर्छ भन्ने जस्ता कुरा सिकाउने गर्छौं ।’

सामाजिक अभियन्ता विष्णुदेवी रावल समाजमा विद्यमान कुप्रथाले महिलाको जीवनमा पारेको प्रभावबारे छलफल गर्न आवश्यक रहेको बताउँछिन् । कानून कडा बन्नुपर्ने र धर्म र संस्कार भनी व्याख्या गरिँदै आएका कुरालाई परिमार्जन गर्न आवश्यक भएका उनी ठान्छिन् । मुलुकी देवानी संहिताले यस्ता गलत अभ्यासका कारण महिलाले हिंसामा परे भनी उजूरी गरेमा कडा कारवाही हुने व्यवस्था गरेको त छ तर पनि अधिकाँश महिलाहरु हिंसा सहेरै बसिरहेका छन् ।

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार १४:४७