सूचनाको शक्ति - The Power Of Information

        

गीति एल्वम निकाल्ने तयारीमा ‘रेडियोप्रमी वान’

बाँके । रेडियो श्रोताहरुबीच चिर परिचित नाम हो ‘श्याम गिरी’ । उनलाई धेरैले ‘रेडियोप्रमी वान’ भनेर चिन्छन् । नेपाल आयल निगम इन्धन डिपो नेपालगन्जका कर्मचारी रहेका ४८ बर्षिय गिरी अत्यन्तै शालीन र मृदुभाषी रहेको उनका सहकर्मीहरु बताउँछन् ।

रेडियोका सबैजसो फोन सम्वाद कार्यक्रममा उनले सम्वाद गर्न भ्याएकै हुन्छन् । उनी आफ्नो परिचय दिने क्रममा नामको अन्तिममा ‘रेडियोप्रमी वान’ जोडिहाल्छन् । साथीभाईहरुसँग सहजै निकटता बनाउन सक्ने उनको खुबी हो । उनी नयाँ साथीहरुसँग छिट्टै नजिक बन्छन् र सक्ने सहयोग गर्न तयार हुन्छन् ।

उनका अत्यन्त निकट रहेका साथी संजय पछाईका अनुसार गिरिले नेपालगन्जको एफएम स्टेशन रेडियो हिमालका सबैजसो कार्यक्रमहरुमा उनले फोन गरेर अन्तरक्रिया गरिरहन्छन् । रेडियो कार्यक्रमका अतिथिलाई प्रश्न गर्छन् । सम्वाद कार्यक्रममा मात्र नभई रेडियोका अन्य मनोरञ्जनात्मक कार्यक्रममा समेत उनको फोन सम्वाद भइरहन्छ ।

रेडियोबाटै ‘रेडियोप्रमी वान’को परिचय बनाएका नेपालगन्ज उपमहानगरपालिका–१९ निवासी गिरी पछिल्लो समयमा गीति एल्बम निकाल्ने तयारीमा जुटेका छन् । अत्यन्त सुमधुर स्वरका उनले आफ्नै शब्द रचना तथा स्वरमा ‘हे माया तिमी कहाँ छौं कहाँ’ बोलको गीति एल्वम निकाल्ने तयारीमा रहेको उनले बताए । उनको एल्बम निकाल्न आयल निगममा कार्यरत कर्मचारीहरुबाट आर्थिक सहयोगसमेत संकलन गरेका छन् ।

‘उहाँको एल्वम निकाल्न सहयोग संकलन गरिरहेका छौं,’ सहयोग रकम संकलन समितिका संयोजक अजित कुमार पोख्रेलले भने । पोख्रेलका अनुसार हालसम्म नेपालगन्ज डिपोमा कार्यरत साथीहरुबाट स्वेच्छिकरुपमा रकम संकलन गरिएको र त्यहाँ कार्यरत सम्पूर्ण कर्मचारीले सहयोग गरिरहेको उनले बताए । डिपोमा कार्यरत कर्मचारी संजय पछाईले ३० हजार रकम सहयोग गर्ने बताएका छन् । उक्त गीतको म्युजिक भिडियोमा मनोहर डिसी र संजय पछाईले अभिनय गर्ने गायक गिरीले बताए ।

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार ११:२६