सूचनाको शक्ति - The Power Of Information

        

रेडियोले जोड्यो ‘मित–मितिनी’ सम्बन्ध

बाँके । श्याम गिरी उनलाई धेरैले रेडियोप्रेमी भनेर चिन्छन् । रेडियोका सबैजसो फोन सम्वाद कार्यक्रममा उनी सम्वाद गर्न भ्याइहाल्छन् । आफ्नो परिचय दिने क्रममा नामको अन्तिममा ‘रेडियोप्रमी वान’ जोडिहाल्ने ४८ बर्षिय श्याम नेपाल आयल निगम नेपालगन्जमा कार्यरत कर्मचारी हुन् ।

साथीभाईहरुसँग सहजै निकटता बनाउन सक्ने उनको खुबी हो । उनी नयाँ साथीहरुसँग छिट्टै नजिक बन्छन् र सक्ने सहयोग गर्न तयार हुन्छन् । नेपालगन्ज उपमहानगरपालिका–१९ निवासी श्यामले यहाँका विभिन्न एफएम स्टेशनहरुले चलाउने फोन संवाद कार्यक्रमहरुमा फोन गरेर अन्तरक्रिया गरिरहन्छन् ।

नेपालगन्जका प्रायः सबैजसो एफएम स्टेशनका सांगीतिक कार्यक्रमहरुमा फोन सम्वाद गरिरहने श्यामले रेडियोबाटै रेडियोप्रमीको परिचय बनाएका छन् । रेडियोमा प्रशारण हुने फोन संवाद कार्यक्रमसँगै अन्य मनोरञ्जनात्मक कार्यक्रममा समेत उनको फोन सम्वाद भइरहन्थ्यो । त्यही फोन संवादका माध्यमबाट उनले मितिनीको नाता गाँसे ।

बाँके बैजापुरकी श्यामकुमारी चौधरीको रेडियो मोह पनि उस्तै छ । उनी पनि रेडियो हिमालका सबै कार्यक्रमहरुमा फोन सम्वाद गरिरहन्थिन् । राप्तीसोनारी गाउँपालिका–५, बिनौना निवासी २९ बर्षिया श्यामकुमारी स्थानीय अगुवाका रुपमा परिचित छन् । पढाईमा स्नातक उनले विभिन्न गैरसरकारी संस्थामा काम गरिसकेकी छन् ।

स्नातकसम्मको पढाई पुरा गरेकी श्यामकुमारी गाउँकै अगुवा महिलामात्रै नभई शिक्षित मध्येमा गनिनुहुन्छ । सामाजिक विभेद विरुद्धका अभियानमा उहाँको सहभागिता छुट्दैन् । गाउँ समाजमा हुने विभिन्न विभेदका विरुद्धकी अभियन्ताको रुपमा परिचय बनाएकी श्यामकुमारी सोंच सकारात्मक भए परिवर्तन सम्भव भएको ठान्छिन् ।

श्याम गिरी र श्यामकुमारी चौधरीको उमेर अन्तर करिब १९ बर्ष छ । थर र लिंग फरक भए पनि एउटै रेडियोमा एउटै नामका दुई पात्रले फोन सम्वाद गरिरहन्थे । रेडियोमा हुने फोन सम्वादले श्याम र श्यामकुमारीलाई नजिक बनायो । र अन्ततः उनीहरुले मितेरी लगाए ।

सायद महिला र पुरुषबीचको यो मितेरी सम्बन्ध नेपालमै पहिलो र प्रेरणादायी मान्न सकिन्छ । रेडियोका कार्यक्रममा हुने फोन सम्वादले उनीहरुलाई मित र मितिनीको नातामा बाँधिदिएसँगै उनीहरु दुवैका परिवारलाई एउटै परिवार जस्तो बनाइदिएको छ, अर्थात् दुवै परिवार एक भएजस्तो बनाइदिएको छ ।

‘नाम मिलेपछि रेडियो सम्वादकै क्रममा फोन नं. आदानप्रदान भयो,’ उनीहरु भन्छन्, ‘हामीले मित र मितिनी भनेर एक अर्कालाई सम्बोधन गर्यो । यो सम्बन्ध पारिवारिकरुपमा पनि निकट भयो ।’ उहाँहरु आफूलाई भाग्यमानी ठान्नुहुन्छ । सबैले समान लिंगबीच मितेरी लगाउँछन् । तर उहाँहरुबीचको मितेरीको सम्बन्ध विल्कुलै नौलो छ ।

श्याम भन्छन्, ‘रेडियोमा नाम सुने, मेरै नाम रहेछ । मात्रै जात र लिंग फरक, तर पनि मैले उहाँलाई मितिनीको नाता लगाए । केहीले शंका गरे । मैले त्यो शंकालाई प्रष्ट्याए । हामी दुवैको एक अर्काका परिवारसँग भेटघाट आउजाउ हुन्छ ।’ दुई वटा परिवारलाई रेडियोले एउटै परिवार बनाइदिएको भन्दै उनीहरु खुशी व्यक्त गर्छन् ।

श्यामकुमारी भन्छिन्, ‘सकारात्मक रुपमा हामी दुई परिवार एक भएका छौं । मान्छेले के बुझ्दछन् वा कुन दृष्टिले हेर्छन्, त्यसमा हामीलाई वास्ता छैन । हामी पारिवारिक रुपमा एउटा परिवार भएका छौं । महिला र पुरुषहरुबीचको विभेद अन्त्यको यो एउटा गतिलो उदाहरण पनि हो ।’

‘हाम्रा सोंचहरु अझै नकारात्मक विकारहरुले भरिएका छन् । हामी अरुलाई राम्रो होइन, शंकाको दृष्टिले हेर्छौ । हाम्रा सोंचहरुकै कारण समाज अझै पनि पछाडि परिरहेको छ,’ श्यामकुमारी भन्छिन्, ‘हाम्रो मितेरीको सम्बन्धलाई हामी र हाम्रो परिवारले मानिसकेको छ । मैले यसलाई सूचना र प्रविधिले लगाएको गुणका रुपमा मानिरहेकी छु ।’

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार ०८:४४