सूचनाको शक्ति - The Power Of Information

        

गम्भीर घाइते नेकपाका सांसद वलीको निधन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट प्रदेश ५ मा निर्वाचित प्रदेश सांसद उत्तरकुमार वलीको निधन भएको छ । गत माघ २४ गते दाङमा भएको दुर्घटनामा गम्भीर घाइते भएका सांसद वलीको काठमाडौंको मेडिसिटी हस्पिटलमा उपचारका क्रममा बिहान ३ बजे निधन भएको हो ।

सांसद वली दाङ क्षेत्र ३ को ‘ख’ बाट गएको प्रदेशसभा निर्वाचनमा प्रदेशसभा सदस्यमा विजयी भएका थिए । २०५६ सालमा तत्कालीन नेकपा एमालेको सदस्यता प्राप्त गरेका ३६ वर्षका सांसद वली एकाएक पार्टी राजनीतिमा चर्चामा आएका थिए ।

दाङमा लोकप्रिय युवा नेताका रुपमा स्थापित ओलीको पार्टीको केन्द्रिय नेतृत्व तहसम्म बलियो पकड थियो । ओलीको निधनले नेकपा दाङ यतिबेला शोकमा डुबेको छ । घाइते वलीको टाउको, खुट्टा र मुटुमा गम्भीर चोट लागेको थियो ।

अस्थायी राजधानी बुटवलबाट गृहजिल्ला दाङ जाँदै गरेको अवस्थामा लमहीतर्फ आउँदै गरेको बेला दुर्घटना भएको थियो । यात्रुबाहक बससँग सांसद ओली चढेको बा१८च ६८३६ नम्बरको कार घोराही–३ को मसोट खोला पुल नजिकै एकआपसमा ठोक्किँदा सांसद वली गम्भीर घाइते भएका थिए ।

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार ०७:५८