लमही । दाङको तुलसीपुर बसपार्कमा रहेका अटो व्यवसायीलाई नयाँ स्थानमा सारिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं ६ र ९ को सिमानाअन्तर्गत पातुखोलामा निर्माण भएको ‘अटोभिलेज’मा व्यवसायी सरेका छन् । अहिले बसपार्कबाट अटो व्यवसायीलाई सारिएसँगै नमूना बसपार्क निर्माणको कामले पनि तीव्रता पाएको छ ।
पहिले बसपार्कमा रहेका सबै अटो व्यव्सायी नयाँ अटोभिलेजमा सरिसकेका छन् । अटो भिलेज व्यवस्थापन समितिका अध्यक्ष टोपबहादुर महताराका अनुसार ८५ अटो व्यवसायी नयाँ अटोभिलेजमा सरिसकेका छन् । १२० कोठा निर्माण भएको अटोभिलेजमा करीब १५० व्यवसायीले नाम दर्ता गराएको अध्यक्ष महताराले बताए ।
गतवर्षको माघदेखि निर्माण शुरु भएको उक्त अटोभिलेजमा केहीदिन अघि विद्युतसमेत जडान भइसकेको छ । अब तटबन्ध निर्माण र केही कोठा बनाउन बाँकी रहे पनि लगभग काम अन्तिम चरणमा पुगिसकेको महताराले बताए । त्यहाँ निर्माण गरिएका एउटा कोठाको भाडा मासिक रु एक हजार कायम गरिएको छ ।
उपमहानगरपालिकाको करीब रु दुई करोड लगानीमा अटोभिलेज निर्माण भएको हो । खानेपानीको समस्या रहेको अटोभिलेजमा स्थानीय सरकारले खानेपानीको व्यवस्था गर्नुपर्ने महताराको भनाइ छ । महताराका अनुसार पश्चिममा १३० मिटर र पूर्वतिर बनेका कोठामा ७०–८० मिटर तटबन्ध निर्माण गर्नुपर्ने अवस्था रहेको छ ।
पूर्वतिर कुलोमा ‘कलभर्ट’ बनाउन र अटोभिलेजसम्म पुग्न सडकको पनि स्तरवृद्धि गर्न आवश्यक रहेको महताराले बताए । तुलसीपुर–६ मा रहेको तीन बिघा र तुलसीपुर–९ मा रहेको दुई बिघा जग्गामा अटोभिलेज निर्माण गरिएको हो । खोलाको सतहदेखि साढे दुई मिटर अग्लो र जमीनमुनि एक मिटर गहिरो तटबन्ध निर्माण गरिएको छ ।
तुखोलाको किनार बस्तीदेखि टाढा भएकाले पनि अटोभिलेजका लागि उचित स्थान भएको महताराको भनाइ थियो । ‘अटो व्यवसायबाट चर्को ध्वनि निस्कनुका साथै फलामजन्य किला काँटीले फोहर हुन्छ,’ उनले भने, ‘त्यसैले अटोभिलेज बजार तथा बस्तीदेखि टाढा हुन जरुरी छ ।’
सत्यपाटी - ।