सूचनाको शक्ति - The Power Of Information

        

देशभरका पत्रकारहरुको भेला आजदेखि पोखरामा, पर्यटन व्यवसायी उत्साहित

जमुनावर्षा शर्मा । चिप्लेढुङ्गा । नेपालभरका झण्डै एक हजार ५०० पत्रकारको भेला पोखरामा हुँदै गर्दा यहाँका पर्यटन व्यवसायी भने निकै उत्साहित बनेका छन् । नेपाल पत्रकार महासङ्घको केन्द्रीय साधारणसभा एवं विधान अधिवेशन आजदेखि पोखरामा हुँदैछ । भोलीसम्म चल्ने साधारणसभाको मञ्चबाटै गण्डकी प्रदेश सरकारले आन्तरिक भ्रमण वर्ष २०१९ को घोषणा गर्ने कार्यक्रम छ ।

प्रदेश सरकारको समन्वयमा हुने सो अधिवेशनमा प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्बा गुरुङले भ्रमण वर्ष घोषणा गर्नेछन् । देशभरिका पत्रकारमाझ भ्रमण वर्ष घोषणाले सूचनाको प्रवाह एकैसाथ चारैतिर पुग्ने भएकाले पनि यो भेलाले पर्यटन व्यवसायीलाई निकै उत्साहित बनाएको रेबान पोखराका अध्यक्ष भीमसेन भुजेल बताउँछन् ।

उनी भन्छन्, ‘यो साह्रै राम्रो अवसर हो, पोखराको सुन्दरता र यहाँको आतिथ्यतालाई देशभर चिनाउन तथा पोखराका नलेखिएका थुप्रै कुरा खोजेर लेखेर पर्यटन प्रवद्र्धन गर्न आग्रहसमेत गर्छु ।’ होटल एशोसिएशन अफ नेपाल (हान)पश्चिमाञ्चल अध्यक्ष विकल तुलाचन सरकारले आन्तरिक भ्रमण वर्षको घोषणाको तयारी गरिरहँदा देशभरिका पत्रकारको भेला पोखरामा हुनु निकै प्रशंंसनीय पक्ष रहेको बताउँछन् ।

उनी भन्छन्, ‘यो पर्यटकको अफ सिजन हो । यस बेला पत्रकारको भेलाले यहाँको पर्यटनलाई थप टेवा पु¥याउने छ । अर्को कुरा कतिले पोखराका बारेमा मात्रै सुन्नु भएको थियो होला, कति आउनु पनि भएको होला, सबैसबैले पोखराको सुन्दर दृश्यलाई आँखामा राखेर कलममा शब्द बोकेर जानुहुनेछ । लोकप्रिय सञ्चारमाध्यममा पोखरा अझै छाउने छ ।’

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रबन्धक सूर्य थपलिया पनि पर्यटनको प्रचारप्रसारमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने भएकाले यो भेलाले पोखराको पर्यटनमा विशेष भूमिका खेल्ने विश्वास व्यक्त गर्छन् । विशेषगरी माइस टुरिज्म (मिटिङ्ग, इन्सेन्टिभ, कन्फरेन्स, इभेन्ट) ले पर्यटनमा विशेष भूमिका खेल्छ ।

‘पत्रकारको यो भेलाले पनि माइस टुरिज्म प्रवद्र्धनमा महत्वपूर्ण भूमिका रहने हामीले विश्वास लिएका छौँ,’ उनले भने । ‘जब पोखरालाई पत्रकारले हेर्नुहुन्छ, पढ्नुहुन्छ, अनि सशक्त माध्यमबाट समाचार, आलेख, विशेष रिपोर्टहरु प्रसारण गर्नु हुनेछ । यो पैसामा रुपान्तरण गर्न नसकिने लाभको रुपमा हामीले लिएका छौँ,’ थपलिया भन्छन् ।

‘राष्ट्रिय समृद्धिका लागि सञ्चार : गुणात्मक, व्यावसायिक र सुरक्षित पत्रकार’ भन्ने नाराका साथ दुई दिन पोखरामा हुन लागेको केन्द्रीय साधारणसभा र विधान अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको पत्रकार महासङ्घ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिए । श्रेष्ठले यो अधिवेशनले सङ्घीय संरचनानुसार महासङ्घको संरचना पनि परिवर्तन हुन लागेको बताउँदै भेला ऐतिहासिक हुने र यसले यहाँको पर्यटनलाई पनि सँगसँंगै प्रवद्र्धन गर्ने सघाउ पुर्याउने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहीबार ०७:२०