सूचनाको शक्ति - The Power Of Information

        

केन्द्रको टुंगो लगाउँदै सकियो खजुराको गाउँसभा

बाँके । खजुरा गाउँपालिकाको चौथो गाउँसभाले खजुरा गाउँपालिकाको केन्द्रको टुंगो लगाएको छ । खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिको अध्यक्षतामा आज बसेको गाउँपालिकाको चौथो सभामा मतविभाजन प्रक्रियाबाट केन्द्रको टुंगो लगाइएको हो ।

वडा नं. ३ स्थित नेरा प्रावि बी गाउँमा रहेको ४ विगाहा बढी क्षेत्रफल जमिनमा गाउँपालिकाको केन्द्र राख्ने गरी दुईतिहाई सदस्यले सभाबाट पारित गरेका हुन् । गत माघ १५ गतेदेखि शुरु भएको चौथो गाउँसभामा केन्द्रको विषयमा विवाद आएपछि वडा नं. ७ का वडाध्यक्ष अतिउल्ला खाँको नेतृत्वमा वडाध्यक्षहरु सहभागी रहेको कार्यदल बनाइएको थियो ।

फागुन १ गतेसम्म बैठक स्थगीत भएको बैठकमा कार्यदलको आज बसेको बैठकमा प्रतिवेदन प्रस्तुत गरेको थियो । त्यसपछि वडा नं. २ का वडाध्यक्ष देविलाल शर्माले बी गाउँमा केन्द्र तोक्ने प्रस्ताव, वडा नं. ४ का वडाध्यक्ष तिलकवीर सुनारले यथास्थानमा र वडा नं. ५, ८ का वडाध्यक्ष क्रमशः देवेन्द्रमान श्रेष्ठ र फिरोज खानले क गाउँमा केन्द्र तोक्ने विषय अघि सारेपछि मतविभाजन प्रक्रियाबाट टुंग्याइएको थियो ।

उपप्रमुख एकमाया विकले सभामा गाउँपालिकाको केन्द्र बि गाउँमा तोक्नका लागि हुन्छ भन्नेले हुन्छ र हुन्न भन्नेले हुन्न भनेर मतविभाजन गराएपछि दुईतिहाई सदस्य हुन्छ भन्ने पक्षमा देखिएपछि केन्द्र बि गाउँमा टुंगो लागेको थियो । चौथो गाउँसभाले वडा नं. ४ मा फुटबल मैदान र क गाउँमा इलाका प्रशासन राख्ने गरी पारित गरेको छ ।

सभामा गाउँपालिका अध्यक्ष कक्षपतिले नयाँ तोकिएको केन्द्रमा भवन निर्माणका लागि १ करोड रुपैयाँ छुट्याउन राखेको प्रस्ताव पनि सभाले पारित गरेको छ । प्रमुख कक्षपतिले गाउँपालिकामा आवश्यकताका आधारमा योजनाहरु छनौट भई लागू हुने गरेको बताए । केन्द्रको टुंगो लगाएसंगै चौथो गाउँसभा सकिएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७५, बुधबार १७:५३