कर्णाली घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा जुम्लाको जैविक खाद्यजस्तु पर्न थालेको छ ।
नेपालगञ्ज, सुर्खेत, कालीकोट, जुम्ला हुँदै मुगुको रारा घुम्न आउजाउ गर्ने र डोल्पा, जुम्लाहुँदै बाहिर जिल्ला फर्किने स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा यहाँको जैविक खाद्यवस्तु पर्न थालेको हो । रारा, से फोक्सुण्डो, त्रिपुरासुन्दरी, कनकासुन्दरी, पाण्डवगुफा, चन्दननाथ भैरवनाथ मन्दिर, बौद्ध स्तुपलगायत कर्णालीमा रहेका पर्यटकीय तथा धार्मिकस्थल अवलोकन भ्रमण गर्ने हजारौँ पर्यटकले यहाँको जैविक खाना रुचाउने गरेका छन् ।
पर्यटकले यहाँको मार्सी चामल, सिमी, स्याउ, स्याउको चाना र ब्राण्डी, ओखर, फापरको पीठो, कोदोको पीठो, मकै, गहुँ, आलु, गेँडागुडी र अन्य फलफूललगायतका जैविक उत्पादन खाने र घर फर्किदा नासोको रुपमा लैजाने गर्दछन् ।
चन्दननाथ नगरपालिका–१० खल्लागाउँका रामकृष्ण चौलागाईंले २०६७ सालदेखि आरके स्याउ प्रशोधन तथा फलफूल डिष्ट्रिलरी उद्योग सञ्चालन गरेर फलफूलबाट ब्राण्डी, वाइन, चामजेली, चाना, जुस, साइटर उत्पादन गर्नुभएको छ । सो उद्योगबाट वार्षिक रु तीन करोड बराबरको कारोवार हुने गरेको उहाँले जानकारी दिनुभयो । नेपालका ठूला शहरमा आफ्नो उद्योगबाट उत्पादित वस्तु पुग्ने गरेको उहाँले बताउनुभयो ।
होटल व्यवसायी पदमबहादुर महतका अनुसार होटलमा बस्ने अधिकांश पर्यटकले स्याउको ब्राण्डीसँग खाजा नास्ता खाने गर्दछन् । चितवन महोत्सवको स्टलमा राख्नका लागि रु सात लाख बराबरको यहाँको अर्गानिक खाद्य वस्तु तथा पेय पदार्थ लगिएको उहाँले बताउनुभयो ।
यस्तै चन्दननाथ–६ पुरानो बसपार्कमा रहेको न्यू कोसेली घरका प्रोपाइटर दीपराज रावतले अर्गानिक खाद्यवस्तु पर्यटकलाई पु¥याउन नसकिएको बताउनुभयो । “मार्सी चामलको माग बढ्दो छ, तर जुम्लामा मार्सी चामलको उत्पादन जोगाउन चुनौती छ”, उहाँले भन्नुभयो, “वार्षिकरुपमा मार्सी चामल रु दश लाखको कारोवार हुने गरेको छ ।”
जिल्ला कृषि विकास कार्यालयका विज्ञ बालकराम देवकोटाकाले हरेक वर्ष जिल्लामा जैविक उत्पादन बेचबिखन गर्ने क्रम बढेको बताउनुभयो । “प्राङ्गारिक उत्पादनबाट जिल्लामा हरेक वर्ष करोडौँ रकम भित्रिएको छ, अझै यसलाई बढवा दिनुपर्छ”, उहाँले भन्नुभयो । जिल्लामा अहिले जैविक वस्तुको लेवलिङ, प्याकेजिङ र सोको महत्वबारे प्रचारप्रसार हुन थालेपछि स्थानीयले पनि जैविक खान्की बेचेर राम्रो कमाइ गर्न थालेकाले पर्यटक तथा व्यापारीका लागि किनमेल गर्न सहज भएको उहाँले बताउनुभयो ।
घरेलु तथा साना उद्योग विकास समितिको तथ्याङ्कअनुसार कृषिसँग सम्बन्धित उद्योग ३३६ छन् । त्यसैगरी प्राइभेट फार्म एक हजार ५३३, साझेदारी फार्म १२५, लद्युउद्यम ३२१ र वाणिज्यतर्फ दुई हजार १२९ रहेका छन् । जिल्लामा उत्पादन हुने जैविक वस्तुको जिल्लाभित्र र बाहिरका बजारमा माग बढ्दै गए पनि यसको उत्पादन भने विस्तारै घट्दै गएको छ । जैविक खाद्यान्न, तरकारी तथा फलफूलको माग बढे पनि उत्पादन घटेको विज्ञ देवकोटाले बताउनुभयो ।
कृषि ज्ञान केन्द्रका अनुसार खेतीयोग्य जमीनमा अव्यवस्थित शहरीकरण र जलवायु परिवर्तन बढ्दै जानु, बालीचक्र फेरिनु तथा पछिल्लो पुस्ताको कृषिप्रतिको मोह घट्नुका कारण प्राङ्गारिक उत्पादन घट्दै गएको हो । जुम्लामा उत्पादन हुने ढटेलो र आरुको तेल, मार्सी चामल तथा महको माग अहिले विश्व बजारमा बढिरहेको छ । (रासस)
।