सूचनाको शक्ति - The Power Of Information

        

अपारदर्शी नेपालगन्ज उद्योग वाणिज्य संघलाई काखी च्याप्दै स्थानीय प्रशासन

बाँके । आर्थिक सवालमा अपारदर्शी देखिएको नेपालगन्ज उद्योग वाणिज्य संघलाई स्थानीय प्रशासनले काखी च्यापी रहेको छ । सभागृह निर्माणको निहुँमा यसअघि लगाइएका महोत्सवको आर्थिक आयव्यय समेत सार्वजनिक गर्न नसक्दा चौतर्फी बदनाम कमाइरहेको संघलाई आगामी महोत्सवमा कडा सुरक्षा उपलब्ध गराउने भन्दै बाँके प्रशासनले काखी च्यापेको हो ।

मेलाबाट संकलित रकम संघले विभिन्न डेलिगेशनका नाममा लाखौं रकम खर्च गरेको छ । तर उपलब्धी शून्य छ । तत्कालिन प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालादेखि अन्य मन्त्रीहरुलाई विभिन्न माग लिएर टोली नै भेट्न जाँदा यही सभागृह निमार्ण गर्ने भनि उठाइएको रकम नै डेलिगेशनका नाममा खर्च भएको संघका पदाधिकारीले जानकारी दिए ।

सभागृहको मुद्दा तत्कालिन संघका अध्यक्ष दामोदर आचार्यले उठाएका हुन् । यही मुद्दामा टेकेर सुनील शर्मा, कृष्णप्रसाद श्रेष्ठ र नन्दलाल वैश्यले पटक–पटक मेला महोत्सव लगाउने र रकम संकलन गर्ने गरेका छन् । हरेक मेला महोत्सवबाट पारदर्शी तरिकाले रकम उठेको समेत हिसाबकिताब नराखिने गरेको र मेलामा खानपान, भोजभतेर, काठमाडौं बस्दा विभिन्न रमाइलो लगायतका विवरणमा हिसाब मिलान गर्दै बचेको रकम देखाइने गरेको संघका पूर्व पदाधिकारीले जानकारी दिए ।

आर्थिकरूपमा अपारदर्शी रहेको संघलाई बाँके प्रहरीको पनि उत्तिकै साथ रहेको देखिएको छ । संघले आर्थिक पारदर्शीता नदेखाएको समाचार बाहिरिएपछि उक्त समस्याको समाधान खोजीपछि मात्रै महोत्सव गर्न सुझाव दिनुपर्ने ठाउँमा उल्टै सुरक्षा प्रबन्ध कडा मिलाएर महोत्सव गर्न प्रेरित गरेको व्यवसायी नै बताउँछन् ।

संघ अपारदर्शी भएको र सभागृहको नाममा संकलित रकम दुरूपयोग भएको हुन सक्ने भन्दै सूचना सार्वजनिक हुँदाहुँदै पनि बाँके प्रशासनले संघमाथि छानबीन गर्न चासो देखाएको छैन,’ एक व्यवसायीले भने ‘यस्तो उदासीपनले त धेरै प्रश्नहरु जन्माउँछ ।’ स्मरणीय छ, सभागृहका लागि संकलन गरेको रकम अझै सार्वजनिक गर्न चासो देखाइएको छैन ।

यसअघि लगाइएका मेला, महोत्सवमा संकलित रकम कहाँ, कति र कसरी खर्च भयो र कसरी राखिएको छ भन्ने बारे अहिले पनि रकम प्रदान गर्ने दाताहरू समेतले थाहा पाउन सकेका छैनन् । विगतको हरहिरसाब अस्तव्यस्त भएका बेला संघले पुनः महोत्सव लगाउँदैछ । सभागृह निर्माणकै नाम भजाउँदै संघले आगामी महोत्सव गर्ने तयारी गरेको छ ।

उद्योग वाणिज्य संघले यसअघि सञ्चालन गरेको मेला महोत्सवमा संकलित रकम पारदर्शी गर्ने विषयमा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले हरहिसाब आफूहरुसँग तयार रहेको दावी गरे तर सार्वजनिक गर्न बाँकी रहेको बताए । सरकारले अपारदर्शी, अमितव्ययी निकायका कार्यक्रममा सरकारी निकायलाई सहभागीतामा रोक लगाएको छ ।

तर, बाँके जिल्ला प्रशासन र प्रहरी प्रशासनले अपारदर्शी संघको आगामी महोत्सवमा कडा सुरक्षाको व्यवस्था गर्ने प्रतिबद्धता जनाएको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताएका छन् । यता, बाँके प्रशासन र प्रहरीले महोत्सवका समयमा देखिने असुरक्षालाई महसुस गरी आयोजकले सुरक्षा माग गरेअनुसार सो माग भएको अवधीमा सुरक्षाको व्यवस्था गर्ने बताएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७५, बुधबार ०८:४६