सूचनाको शक्ति - The Power Of Information

        

मानवअधिकार र कानुनी सचेतनाका लागि समन्वय जरूरी : कानुनमन्त्री केसी

बुटवल । मानवअधिकार र कानुनी सचेतनाका लागि प्रदेश सरकार र मानवअधिकार समुदायको समन्वय जरूरी रहेको आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले बताएका छन् । इन्सेक प्रदेश ५ कार्यालयको आयोजनामा मंगलबार बुटवलमा आयोजित नेपाल मानवअधिकार वर्ष पुस्तक २०१९ को सार्वजनिकीकरण कार्यक्रममा उक्त कुरा बताएका हुन् । मन्त्री केसीले मानवअधिकार उल्लङ्घनका घटनाहरूलाई न्युनीकरण गर्न सहकार्यलाई अझ अघि बढाउने विषयमा विषयमा सोच्नका लागि पनि इन्सेकलाई आग्रह गरे ।

मानव अधिकारको संरक्षण र प्रवर्धनका निम्ति प्रदेश सरकार संवेदनशील रहेको बताए । उनले समाजमा पछाडि पारिएका समुदायहरूलाई राज्यको मुलधारमा ल्याउनका निम्ति प्रदेश सरकार लागि परेको भन्दै स्वःअनुशासित समाज नबन्दासम्म मानव अधिकारको पूर्ण अनुभूति गर्न नसकिने बताए । प्रदेशसभाका विपक्षी दलका नेता बलदेव शर्माले मानवअधिकारको संरक्षण र मानवअधिकारको संस्कृतिको विकासमा इन्सेकको भूमिका महत्वपूर्ण रहेको बताए ।

प्रदेश सांसद आइपी खरेलले इन्सेकले विगत लामो समयदेखि मानवअधिकारको क्षेत्रमा महत्वपूर्ण काम गर्दै आइरहेकोे बताए । उनले आगामी दिनमा वैदेशिक रोजगारीमा जाने युवाहरूको अधिकारका विषयमा काम गर्न इन्सेकलाई सुझाव दिए । बुटवल उपमनपाका मेयर शिवराज सुवेदीले इन्सेकले मानवअधिकारको संरक्षणका निम्त्ति स्थापित संस्था भएको बताउँदै यसले पीडितहरूको संख्या घटाउनका निम्ति महत्वपूर्ण कार्य गरेको बताए ।

पूर्व सांसद विनोद पहाडीले इन्सेकले मानव अधिकारको अनुगमन र अभिलेखीकरणको क्षेत्रमा सरकारले गर्न नसकेको महत्वपूर्ण काम गरेको बताए । उनले इन्सेकको कारणले कतिपय व्यक्तिको जीवन प्रगतिपथमा अगाडि बढेको बताए । पहाडीले इन्सेक मानव अधिकारको सूचना श्रोतको भण्डार भएकोले सरकारलाई समेत सजिलो भएको बताए । इन्सेक प्रदेश ५ का संयोजक भोला महतले प्रदेश ५ को मानव अधिकारको अवस्था प्रस्तुत गरेका थिए ।

सन् २०१८ मा राज्य पक्षबाट दुई जना र अन्य पक्षबाट ६५ जनाको हत्या, यातनामा चार जना, अन्य पक्षबाट धम्की तथा कुटपिटमा २३ जना, जातीय विभेदमा १७ जना महिला अधिकार उल्लङ्घनका ७३६ जना, अपहरण घटनामा सात जना, आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकारका घटनामा दुई जना, बालअधिकार उल्लङ्घनका घटनामा २४८ जना अमानवीय व्यवहारमा १३ जना पीडित भएको तथ्याङ्क प्रस्तुत गरेका थिए । यस्तै प्रदेश ५ मा उत्कृष्ट जिल्ला प्रतिनिधि रीमा बिसीलाई नगद तथा प्रशंसापत्र सहित पुरस्कृत गरिएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७५, बुधबार ०८:३३