बागलुङको तमानखोला गाउँपालिकाका लेखापाल यामबहादुर थापा कार्यालय बिदाको समय विद्यालय चहार्नुहुन्छ । पेशाले निजामती कर्मचारी उहाँ शिक्षकले जस्तै पढाउँदै विद्यालय चाहर्ने गर्नुभएको हो ।
विद्यार्थीमा हराउँदै गएको पठन संस्कृति, सामाजिक सञ्जालका कारण समाजमा परेको प्रभाव, विद्यालयको सबै जिम्मेवारी शिक्षकको काँधमा छाड्ने अभिभावक र पेशाका लागि मात्रै शिक्षणमा सहभागी हुने शिक्षकलाई सचेत बनाउँदै पठन संस्कृति अभिवृद्धि गर्न उहाँले अनुशिक्षण सञ्चालन गर्दै आउनुभएको हो । दूरदराजदेखि जिल्ला सदरमुकाम नजिकैका विद्यालयमा समेत अनुशिक्षण सञ्चालन गर्दै आउनुभएका लेखापाल थापा अहिलेसम्म दर्जन बढी विद्यालयमा पुगिसकेकोे बताउनुहुन्छ ।
साना विद्यार्थी सामाजिक सञ्जालमा भुलेको देखेपछि सचेतना फैलाउनकै लागि उहाँको मनमा अनुशिक्षण सञ्चालन गर्ने सोच पलाएकोे थियो । विद्यार्थीलाई मात्रै नभई शिक्षक र अभिभावकलाई समेत सचेत गराउनुपर्ने देखेर सबैलाई एकै ठाउँमा राखेर उहाँले अनुशिक्षण दिँदै आउनुभएको हो । लोकसेवाको तयारी गर्ने बेला लिएका तालीम, पत्रकारिता तथा उद्घोषण तालीम, व्यक्तित्व विकास तालीम र विभिन्न समयमा विभिन्न व्यक्तिका लेख तथा रचना पढ्ने क्रममा उब्जेका जिज्ञासा र आफैँले खोजी गरेर पत्ता लगाएका कतिपय तथ्यलाई थापाले अनुशिक्षणका लागि प्रयोगमा ल्याउनुभएको छ ।
“निजामती सेवामा प्रवेश गर्नुपूर्व गरेको पत्रकारिता र समाजसेवाले सिकाएका कुरा अहिले फुर्सदको समयमा विद्यालयमा पुगेर बाँड्ने गरेको छु”, थापाले भन्नुभयो, “विकृत बन्न लागेको समाज सुधार गर्नु हामी युवाको दायित्व हो ।” उहाँले एकदिने अनुशिक्षणमा सकारात्मक सोच, उत्प्रेरणा, पठन संस्कृति अभिवृद्धि गरेर व्यक्तित्व विकास गराउन सहयोग पु¥याउँदै आउनुभएको छ । “अनुशिक्षणमा सहभागी भएपछि अरूमा पनि प्रेरणा जागेको छ, पढ्नेले मात्रै पढाउन सक्छ भन्ने भावनाको विकास भएको छ”, भैरव माध्यमिक विद्यालय बागलुङ नगरपालिका–१० भकुण्डेका शिक्षक खिमबहादुर थापाले भन्नुभयो, “एक दुई पटक मात्रै होइन कम्तीमा वर्षमा चार–पाँच पटक यस्तो खालको कार्यक्रम गर्नसके शिक्षक, विद्यार्थी, अभिभावक सबैमा सुधार आउँछ ।”
अनुशिक्षणमा विशेष गरेर आधारभूत र माध्यमिक तहका विद्यार्थी सहभागी हुने गरेका छन् । अहिलेसम्म जिल्लाका दुई हजार ५०० भन्दाबढी शिक्षक, विद्यार्थी र अभिभावकलाई थापाले अनुशिक्षण दिइसक्नु भएको छ । बिनाशुल्क विद्यालयमा पुग्ने गर्नुभएका थापालाई विद्यालयरूले बिदाको समय मिलाएर बोलाउने गरेका छन् । थापाले यसअघि रेश नुन्थला माध्यमिक विद्यालय काठेखोला गाउँपालिका, न्यू मोडेल इङ्लिस बोर्डिड स्कूल काठेखोला–७, शिवालय आधारभूत विद्यालय बानपा–१०, चौतारेडाँडा माध्यमिक विद्यालय बानपा–१०, मङ्गला आधारभूत विद्यालय तमानखोला, खोलेस्वाङ आधारभूत विद्यालय बोङ्गादोभान, विष्णु आधारभूत विद्यालय नर्जाखानी, हिल साइड बोर्डिङ स्कूल तमानखोला, शान्ति माध्यमिक विद्यालय खुंखानी, जनजागृति माध्यमिक विद्यालय बोङ्गादोभान, धनगौज्योति माध्यमिक विद्यालय तमान, प्रकाश माध्यमिक विद्यालय खुङ्गा, त्रिभुवन माध्यमिक विद्यालय खरवाङलगायत विद्यालयमा निःशुल्क अनुशिक्षण गरिसक्नु भएको छ ।
अनौपचारिक शिक्षा हासिल गर्न सहयोग पु¥याउने उद्देश्यले आफूले प्रशिक्षण दिँदै हिँडेको थापा बताउनुहुन्छ । प्रशिक्षणमा स्थायी साथी किताब बनाउनुपर्ने, पुुस्तकालयमा अध्ययन गर्ने बानीको विकास गर्ने, अध्ययन गर्ने विद्यालयको पोशाकमा अनिवार्य फोटो खिचेर सामाजिक सञ्जालमा राख्ने, जन्मदिवस, नयाँ वर्ष, दशैँ तिहारमा पुस्तक उपहार दिने संस्कारको विकास गर्ने, वाक कलाको विकास गरी व्यक्तित्व विकास निर्माणमा ध्यान दिने, दयालाग्दो जीवनशैली नभई रहर लाग्दो जीवनशैली अपनाउनका लागि सङ्घर्षशील जीवनयापन गर्ने, खोज अनुसन्धानमूलक अध्ययनमा निरन्तर लागिपर्नेजस्ता शैलीे अनौपचारिक शिक्षण हुने गरेको छ ।
जिल्लाका नगरपालिका तथा गाउँपालिकासँग समन्वय गरी विद्यार्थीलाई सकारात्मक सोच, उत्प्रेरणा तथा अध्ययन संस्कृतिको विकास र विस्तार गर्न प्रशिक्षण गर्ने योजना बनाउनुभएका थापाले लोकसेवाको तयारीमा रहेका युवायुवतीलाई समेत निःशुल्क प्रशिक्षण दिने गर्नुभएको छ । (रासस)
।