सूचनाको शक्ति - The Power Of Information

        

लोकगायक पशुपतिले गाएको ‘लुट्न सके लुट कान्छा’माथि सरकारको प्रतिबन्ध !

काठमाडौं । भ्रष्टाचारको शून्य सहनशीलताको बारम्बार भाषण गर्दै हिडिरहेको दुई तिहाइको सरकारले चर्चित लोकदोहोरी गायक पशुपति शर्माले गाएको ‘लुट्न सके लुट कान्छा’ बोलको नयाँ लोकदोहोरी गीतमाथि प्रतिबन्ध लगाएको छ । भ्रष्टाचार, समाजको बेथितिहत्या, हिंसा र बलात्कारजस्ता विषयलाई व्यंग्य गर्दै गीत सार्वजनिक गरेपछि सरकारले ‘लुट्न सके लुट कान्छ, अरु देशमा पाइँदैन नेपालमै हो छुट’ बोलको उक्त गीतलाई यूट्यूब च्यानलबाट हटाउन दबाब दिएको हो ।

शर्माको गीतबारे प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा नेकपाका नेताहरुले छलफल गरेका थिए । छलफल लगत्तै शर्मालाई फोन गरेर गीत च्यानलबाट हटाउन दबाब दिएको स्रोतल देश सञ्चारलाई जानकारी दियो । यता, सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटासँग बुझ्न खोज्दा उनले भने, ‘म बिरामी छु । राति भयो । म सुते । भोलि कुरा गरौला ।’ यस्तै गायक पशुपति शर्माले भने फेसबुकमा लामो स्टाटस लेख्दै गीतमार्फत शुशासन कायम हुनुपर्छ र देशमा विसंगती व्याप्त हुनु हुदैन भन्ने ध्येय रहेको बताएका छन् ।

उनले भनेका छन्, ‘सर्वप्रथम त म यहाँ हरुलाई जानकारी गराउन चाहान्छु की म राजनीतिलाई त्यती गहिराईबाट बुझ्दिन । तर शुशासन कायम हुनुपर्छ र देशमा विसंगती ब्याप्त हुनुहुदैन भन्ने कुरामा म सचेत छु । मेरो गीतले बिसंगतीलाई ब्यंग्य गरोस भन्ने मेरो एकमात्र ध्येय थियो । मेरो नियत कसैको चित्त दुखाउने नभई केवल विसंगतीमाथि प्रहार गर्नु र विकृतीको उजागर गर्नु मात्र थियो यसमा म पुनः प्रष्ट पार्न चाहन्छु । अहिले डिजिटल प्लेटफर्म युट्युबमा रहेको गीतलाई परिमार्जनसहित पुनः लिएर आउने बाचा गर्दै अहिले बजिरहेको गीत युट्युब बाट मैले हटाउने निर्णय गरेको छु ।’

https://www.facebook.com/pashupati.sharma.577/posts/2178594845539748

‘लुट्न सके लुट कान्छ, अरु देशमा पाइँदैन नेपालमै हो छुट’ बोलको उक्त गीत गायक शर्माले बिहीवार आफ्नै आधिकारिक युट्यूब च्यानलमार्फत भिडियोसहित सार्वजनिक गरेपछि एकाएक चर्चामा आएको थियो । देशमा चलिरहेको भ्रष्टाचार, हत्या, हिंसा र बलात्कारजस्ता विषयलाई पशुपतीले गीतमा निकै मार्मिक ढंगले समेटेका थिए, यसो त पशुपति शर्माका प्राय गीत जनचेतना मुलक र व्यग्यात्मक हुने गर्दछन् ।

उनले यो गीतमार्फत पनि सरकारलाई गतीलो झटारो प्रहार गरेका थिए । गीतमा शब्द अनि संगीत पनि गायक शर्माको आफ्नै रहेको थियो । गीतको म्युजिक भिडियोमा पशुपति शर्मा, मञ्जु विक र प्रज्योल भण्डारी देखिएका छन् । भिडियोलाई निर्देशन दुर्गा पौडेलले गरेका छन् भने छायांकन पनि दुर्गा पौडेलले नै गरेका छन् । यसको सम्पादन नविन घर्ती मगरले गरेका हुन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतवार ०५:१९