सूचनाको शक्ति - The Power Of Information

        

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा राष्ट्रिय संकटकाल घोषणा

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी अधिकार प्रयोग गर्दै राष्ट्रिय संकटकाल घोषणा गरेका छन् । गैरकानूनी रुपमा अमेरिका प्रवेश गर्ने आप्रवासी र तस्करहरुका कारण अमेरिकामा संकट आएको भन्दै अमेरिकाको दक्षिणी क्षेत्रमा मेक्सिकोसँग जोडिएको सीमामा पर्खाल लगाउन उनले तल्लो सदन कंग्रेस समक्ष बजेट माग गरेका थिए ।

तर डेमोक्रेटहरुको असहयोगका कारण उनको त्यो माग पुरा नभएपछि कंग्रेसलाई बाइपास गर्दै संकटकाल घोषणा गरिएको हो । राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा आयोजित कार्यक्रममा ट्रम्पले मेक्सिकोसँगको खुल्ला सीमाबाट ’राक्षसहरुको समूह’ र ’लागू औषध’ तस्करहरु भित्रिएका कारण अमेरिकी जनतालाई दुख भएको भन्दै राष्ट्रिय संकटकाल घोषणा गर्नु आफ्नो लागि महान काम भएको बताएका थिए ।

ट्रम्पले दक्षिणी सीमा खुल्ला भएको र आप्रवासीहरुको गैरकानूनी प्रवेशका कारण अमेरिकामा संकट उत्पन्न भएको भन्दै पर्खाल बनाउने अडान लिँदै आएका छन् । अमेरिका प्रवेश गर्न खोजी रहेका हजारौं आप्रवासीहरु केही महिनदेखि अमेरिकासँग सीमा जोडिएको मेक्सिकोका शहरहरुमा छन् । तर ट्रम्प प्रशासनले भने गैर कानूनी रुपमा कसैलाई पनि अमेरिका प्रवेश गर्न नदिने बताउँदै आएको छ ।

पर्खालका लागि बजेट पास नगरेसम्म ट्रम्पले सरकारी खर्च निकासा नगर्ने अडान लिँदा अमेरिकामा इतिहासकै सबैभन्दा लामो ३५ दिने ’सट डाउन’ भएको थियो । जनवरी २६ मा पर्खालका लागि खर्च समावेश नगरी सरकारी कार्यालयहरू खोल्न ट्रम्प ’अस्थायी रुपमा सहमत’ भएका थिए । यद्यपि, ट्रम्पले बढ्दो मानवीय तथा आप्रवासी संकट समाधान गर्न मेक्सिकोसँगको सीमामा स्टिलको पर्खाल लगाउन कंग्रेससँग माग गरिएको ५.७ बिलियन अमेरिकी डलर बजेट प्रस्ताव यथावत् रहेको बताएका थिए ।

बिहिवार अमेरिकी सदनले फेरि अमेरिकी कार्यालयहरु बन्द हुन नदिन सीमा सुरक्षा विधेयक पारित गरेको थियो । तर विधेयकमा सीमामा पर्खाल लगाउनका लागि ट्रम्पले माग गरे बमोजिम बजेटको व्यवस्था गरिएको थिएन । ट्रम्पले कंग्रेस समक्ष ५.७ बिलियन डलर माग गरेपनि विधेयकमा सीमा सुरक्षाका लागि १.३ बिलियन बजेट छुटयाएको छ । त्यसैले विधेयक पास भएपछि सरकारी कार्यालय बन्द हुन नदिन ट्रम्पले उक्त विधेयकमा हस्तक्षर गर्ने तर तल्लो सदन कंग्रेसलाई बाइपास गर्दै संकटकाल लगाउने तयारी गरिरहेको ह्वाइट हाउसले जनाएको थियो ।

ट्रम्पले सेनाका लागि छुट्याइएको बजेटबाट सीमामा पर्खाल लगाउन तयारी गरिरहेको बुझिएको छ । संकटकाल लगाएपछि ट्रम्प वर्तमान राजनीतिक प्रक्रियालाई बाइपास गर्दै थप शक्तिशाली बनेका छन् । यसबाट उनले सेनालाई छुटयाइएको बजेटलाई सीमामा पर्खाल लगाउन प्रयोग गर्न सक्नेछन् । तर, सीमामा देखिएको विषय संकटकाल लगाउनै पर्ने अवस्था हो वा होइन भन्ने विषयमा भने विवाद रहेको छ ।

यसअघि पनि अमेरिकामा संकटकाल लगाइएको थियो । तर विगतमा लगाइएका संकटकालहरु विदेश मामिलामा आइपरेको संकटसँग जुध्न प्रयोग गरिएको थियो । संकटकाल लगाउने ट्रम्पको घोषणासँगै विपक्षी डेमोक्रेटहरुले ट्रम्पले शक्तिको दुरुपयोग गरिरहेको आरोप लगाएको छ । संकटकाल लगाउने विषयमा ट्रम्पको रिपब्लिकन पार्टीकै केही नेताले विरोध गरिरहेको अवस्थामा ट्रम्पको निर्णय विरुद्ध अदालतमा मुद्दा दायर गर्ने विपक्षीको योजना छ ।

 

प्रकाशित मिति : ४ फाल्गुन २०७५, शनिबार १२:३५