सूचनाको शक्ति - The Power Of Information

        

नरैनापुरमा आजदेखि डेढ सय बर्ष पुरानो मेला

बाँके । बाँकेको नरैनापुर गाउँपालिका–२ को गंगापुर (मियाँपूर्वा)मा आजदेखि डेढसय बर्ष पुरानो मेला सञ्चालन हुँदैछ । गंगापुरमा रहेको खलिफा सैयद नुर अहमद शाह रहमततुल्लाह अलैह उर्स मेला डेढ सय बर्षदेखि हरेक बर्ष मेला आयोजना हुँदै आएको छ । आजदेखि सुरु हुने मेला १२ गतेसम्म चल्ने मेला आयोजक समितिका प्रबन्धक तौहिद अहमद शाहले बताए ।

१८ बर्षसम्म पहाडमा तपस्या गरेर बसेका तत्कालीन धर्मगुरु खलिफा नुर अहमद शाहको सम्झनामा सन् १८५७ देखि हरेक बर्ष बसन्त पञ्चमीपछि मेला लाग्दै आएको छ । मेलामा सामूहिक भण्डारा, प्रार्थना, कव्वाली, नाच तथा तथा जादु खेल लगायतको गतिबिधि हुने गरेको छ । मेलामा भारत कानपुरका चर्चित कौव्वाल सरिफ परवाज तथा फैजाबादकी नेहानाजको जवाफी कौव्वाली मुख्य आकर्षण रहेको शाहले बताए ।

कौव्वाल टोलीमा १० जना महिला र १० जना पुरुष गरी २० जना रहने जनाइएको छ । मेलामा बाँके, बर्दियालगायत छिमेकी मुलुक भारतको बहराइच, श्रावस्ती, गोण्डा, बलरामपुर लगायत उत्तरप्रदेश तथा गुजरातबाट समेत दर्शालुहरु आउने गरेको नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले जानकारी दिए । सबै धर्मका मानिसहरु पुगेर रमाइलो गर्ने र आपसी सद्भाब बढाउने यो मेलाको बिशेषता रहेको अध्यक्ष शाहले बताए ।

यस्तै मेलास्थलमा रहेको खलिफा सेैयद नुर अहमद शाहको मजारप्रति दर्शालुहरुको धार्मिक आस्था रहेकाले च्यादर चढाउने, भाकल हाल्नेहरुको पनि मेलामा भीड लाग्ने गरेको छ । मेलामा दर्शकहरुलाई मनोरञ्जन गराउनका लागि भारतबाट आएका प्रशिद्ध नौटन्की नाचको आयोजना हुने गर्दछ भने नेपाल र भारतका ठूलाठूला ब्यापारिक कम्पनीहरुको स्टलहरुसमेत रहने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७५, शनिबार ०९:०१