सूचनाको शक्ति - The Power Of Information

        

जाजरकोट बस दुर्घटना : मृतक तीन जनाको सनाखत

बाँके । जाजरकोटमा बिहीवार भएको बस दुघर्टनामा परी मृत्यु भएका चार जनामध्ये तीन जनाको सनाखत भएको छ । मृतकमध्ये एकजना पुरुषको सनाखत हुन सकेको छैन ।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार मृत्यु हुनेमा जगदुल्ला गाँउपालिका–४ छाँचु, डोल्पाका मुनबहादुर बोहरा, खजुरा–२, बाँकेका बसका सहयोगी हरिबहादुर रावत र सोही ठाउँका सहचालक सागर भण्डारी रहेका छन् ।

गम्भीर घाइते पश्चिम रुकुम आठबीकोट नगरपालिका–१३ का लालबहादुर थापा र आठबीसकोट नगरपालिका–११ का भरत चन्दलाई थप उपचारका लागि गएराती र जाजरकोट नलगाड नगरपालिका–५ कालिमाटीका विवश बोहरालाई आज बिहान नेपालगन्ज ल्याइएको छ ।

जाजरकोट अस्पतालमा चार जना र रिम्नामा दुई जनाको उपचार भइरहेको छ । घाइतेको निःशुल्क उपचार गरिने प्रजिअ बस्नेतले बताए । घटनास्थल सदरमुकाम खलंगाबाट करिब १५ किलोमिटरको दूरीमा पर्दछ ।

नेपालगन्जबाट रुकुम पश्चिम आठविसकोट नगरपालिकाको राडीबजारतर्फ गइरहेको भे १ ख १३२९ नम्बरको बस बिहीबार जाजरकोट भेरी नगरपालिका–१ रिम्ना नजिकै पिपेमा दुर्घटनामा परेको थियो ।

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार १५:०१