सूचनाको शक्ति - The Power Of Information

        

कञ्चनपुर सुन प्रकरण : भारतीय तस्करको २३ किलो सुन र गाडीसहित ड्राइभर नेपालमा

बाँके । नेपाल प्रहरीले बिहीबार कञ्चनपुरको पुनर्वास क्षेत्रबाट १८ किलो सुनसहित एकजनालाई पक्राउ गर्यो । जिल्ला प्रहरी कार्यालय कैलाली र कञ्चनपुरको टोलीसँगै अपराध महाशाखा र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को संयुक्त टोलीले भारतीय सीमावर्ती क्षेत्र पुनर्वासबाट सो परिमाणमा सुन बरामद गरेको थियो ।

पुनर्वास नगरपालिकाको दशरथबस्तीका शंकर बिकको घरबाट माटोमा गाडेको अवस्थामा १८ किलो सुन भेटिएको थियो। सुनसँगै प्रहरीले एकजनालाई पक्रेको थियो । हिजो राति नै प्रहरीले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ अमरपुरका सुरज तिरुवाको गोठमा लुकाइराखेको अवस्थामा थप पाँच किलो ६०० ग्राम सुन बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय झलारीका अनुसार राति १ बजेमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले छापा मारी सुन बरामद गरेको हो । प्रहरीका अनुसार गोठमा खाल्डोमुनि दुई पोकामा लुकाइछिपाइ राखेको अवस्थामा सुन बरामद भएको हो ।

सिआइबीका एक उच्च अधिकारीले दिएको जानकारी अनुसार बरामद भएको सुन भारतीय तस्करको हो । तस्कर समूहको ड्राइभर रहेका नेपाली चालकले गाडीमा सुन भएको थाहा पाएपछि गाडी ल्याएर नेपाल आएका थिए ।

‘भारतीय तस्करको गाडी चलाउने नेपाली ड्राइभरले गाडीमा सुन भएको थाहा पाएर गाडीसहित नेपाल आएछन्,’ ती अधिकारीले भने, ‘घर आएर १८ केजी सुन भाइको ससुरालीमा लगेर राखे। बाँकी ५ केजी आफ्नै घरमा राखेको र केही सुन चलाएको पनि देखियो ।’ ती ड्राइभरका भाइ नेपाल प्रहरीमा कार्यरत छन् ।

सिबिआई अधिकारीका अनुसार ड्राइभर सुनसहित गाडी ल्याएर नेपाल आएपछि तस्कर समूह पनि केही दिनअघि कञ्चनपुर आएको थियो । ‘उनीहरूले गाडीमात्र लिएर गए । सुन वैध भएको भए उनीहरू दाबी गर्थे तर सुनबारे केही नभनी गए । त्यहीबेला सूचना चुहिएपछि हामीले अनुसन्धान थालेका थियौं,’ ती अधिकारीले भने ।

सुनको सूचना प्रहरीसम्म कसरी पुग्यो भन्ने उनले खुलाएनन् । सिआइबीका एसपी सुदिप गिरी, कैलालीका एसपी आभषण तिम्सिना, अपराध महाशाखाका डीएसपी रुगम कुँवर जिप्रका कञ्चनपुर मातहतको संयुक्त टोलीले सुनको अनुसन्धान गरेको थियो ।

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार १४:४३