सूचनाको शक्ति - The Power Of Information

        

७८ लाख घुस काण्डमा फसेका अख्तियारका आयुक्त पाठकद्वारा राजीनामा

काठमाडौं । घूस लिएको अभियोगमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दंगालका अनुसार पाठकले राष्ट्रपति कार्यालयमा राजीनामा बुझाएका छन् ।

उनीमाथि के कस्तो थप कारवाही हुनसक्छ भन्ने बारेमा दंगालले त्यसबारेमा छलफल भइरहेको जानकारी दिए । उनका विरुद्ध सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज संसदमा महाअभियोगको प्रस्ताव दर्ता गर्ने तयारी गरेको थियो । तर राजीनामा दिएका कारण अब संसदको भूमिका सकिएको नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए ।

पछिल्लो घटनाक्रम बुझेका पाठकले हतारहतार राष्ट्रपति कार्यालय गएर शुक्रबार राजीनामा दिएका हुन् । नेम्वाङले अब संसदको भूमिका सकिएपनि कानुनी प्रक्रिया अनुसार उनलाई थप कारवाही हुन सक्ने जनाए । संसदमा नेकपाका संसदीय दलका उपनेता नेम्बाङले शुक्रबार बाह्रखरीसँगको कुराकानीमा आफूहरुले सांसदहरुको हस्ताक्षर संकलनको काम थालिसकेको र प्रमाण आधाउधी पाइसकिएको तथा आधा आज मिल्नेसमेत जानकारी दिएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि उनलाई कारवाही गर्न पार्टीको संसदीय दललाई आग्रह गरेका थिए ।

पाठक भक्तपुरको चांगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका सञ्चालकसँग घूस लिएको भिडियो रेकर्डसम्बन्धी समाचार सार्वजनिक भएपछि विवादमा आएका थिए । स्वामित्व विवादमा रहेको इन्जिनियरिङ कलेजका सञ्चालक लम्बोदर न्यौपानेले आयुक्त पाठकलाई ७८ लाख घूस दिएको समाचार सार्वजनिक भएको थियो । राजीनामा दिएपनि उनलाई ओहदामा बसेर बदमासी गरेकोले कारवाही प्रक्रिया अघि बढ्ने बुझिएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार १४:२४