प्रधानमन्त्री केपी शर्मा ओली, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले बिहीबार काठमाडौँमा आयोजित जनताको जलविद्युत आयोजना कार्यक्रमको शुभारम्भ समारोहको उद्घाटन गर्दै ।
काठमाडौं । यो साता प्रधानमन्त्री केपी शर्मा ओली अति नै व्यस्त रहे । हरेकदिन समुद्घाटनको भ्याइ नभ्याइ । एकैदिनमा एउटामात्र होइन, दुई चारवटै कार्यको थालनी । स्वास्थ्य अवस्थाका कारण केही समय थलिएपछि लामो समय नदेखिएको सक्रियता पछिल्लो समय ह्वात्तै देखियो ।
कारण, रिपोर्ट कार्डमा प्रगति विवरण थप्नु । आर्थिक सूचकाङ्क र वित्तीय क्षेत्रमा संकटका रेखाहरु प्रस्ट देखिँदा पनि प्रधानमन्त्री सामु दवाव थियो । एक वर्षे कार्यकालमा प्रगतिको सूची उकासिँदै गरेको देखाउनु । काम होस् नहोस्, लक्ष्य पुगोस् नपुगोस् । तर रिपोर्ट कार्ड मेन्टेन गर्न नै भए पनि प्रधानमन्त्री ओलीले देखाएको सक्रियता लोभलाग्दो रह्यो ।
२०७४ फागुन ३ गते दोस्रो पटक प्रधानमन्त्री नियुक्त भएका केपी शर्मा ओली नेतृत्व सरकारको एक वर्ष पूरा भयो । त्यसैले आज उनले सार्वजनिक सम्बोधन गर्दै सरकारले गरेका कामको फेहरिस्त जारी गरे जसमा आजमात्रै उद्घाटन गरेका दुईवटा कार्यक्रम समेत अटाउन भ्याए । त्यसैले पनि उनको गएको साताको र्‘यापिड फायर समुद्घाटन’ सफलताको सूची चुल्याउनकै लागि थियो भन्ने प्रस्ट छ ।
सरकार गठनको एक वर्ष पुग्न एक दिन बाँकी रहँदा दुई चर्चित शुभारम्भ भए प्रधानमन्त्रीद्वारा । एउटा पानी जहाजको कार्यालय समुद्घाटन र अर्को नेपालको पानी जनताको लगानी । हिजो युवाका लागि बेरोजगार भत्ताको शुभारम्भ गरेका थिए उनले । यी सबै विषय आज उनले सार्वजनिक गरेको सरकारको सफलताका सूचीमा समेटिएका छन् ।
यो सूची तयार पार्नका लागि जोड्नुपर्ने यी ‘शुभारम्भ’हरुमा प्रधानमन्त्रीको सक्रियता यतिधेरै बढ्यो कि पूर्वनिर्धारित ‘जनयुद्ध दिवस’मा समेत ओली सहभागी हुन सकेनन् । त्यसैदिन उनले प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गरे । काम गर्न नसकेको भन्दै आलोचित बनिरहेको सरकारसामु देखाउन योग्य कार्यक्रमको आवश्यकता थियो, जसलाई यस्तै कार्यक्रमबाट उनले समेटे । उनले कार्यक्रम समेट्नका लागि नै यति स्पिडमा काम गरेको भने आफ्नै मन्तव्यबाट खुलासा पनि गरे ।
आज विहान मात्रै मैले पानीजहाज कार्यालय उद्घाटन गरेँ । त्यो रमाइलोका लागि हैन, जहाज चलाउनकै लागि हो । भोलिबाट फेरि कसैलाई गिज्याउन मन लाग्ला र भनिएला, ‘अड्डा खुलेछ, टिकेट काट्न जाऔं कि ?’ म पनि ठट्टा गरौं ? ’त्यो टिकट काट्ने अड्डा हैन । नजानुस् । टिकट काटेर जहाज चढ्ने दिन पनि आउँछ । खबर मै गरौँला ।’ ‘हिजो दिउँसो मैले प्रधानमन्त्री रोजगार कार्यक्रम उद्घाटन गरेँ ।
यसले कामको खोजीमा रहेका शीप भएकमा वा नभएकाहरुको विवरण तयार गर्छ र हाम्रो संविधानमा उल्लेख भए बमोजिम रोजगारीको हक उपलब्ध गराउन सरकारलाई सहजीकरण गर्छ । यी अभियानहरु हाम्रा काम तथा रोजगारीसँग जोडिएका कार्यक्रम हुन् ।’ सरकारले पाँच वर्षभित्रमा बाध्यात्मक वैदेशिक रोजगारीको अन्त्यको लक्ष्यसहित घोषणा गरिएको कार्यक्रमले बेरोजगार युवालाई वर्षमा कम्तिमा एक सय दिन रोजगारी दिने भनेको छ ।
सरकारले रोजगारी नभएका प्रत्येक परिवारका एक सदस्यलाई कम्तिमा एक सय दिनको रोजगारी दिने दावी गरेको छ । भलै यो कार्यान्वयनमा पुग्दा कुन स्वरुप ग्रहण गर्छ अहिले नै भन्न सकिन्न । यसैगरी आज सरकारले पानी जहाज कार्यालय स्थापना गरेको छ । प्रधानमन्त्री ओलीले एकान्तकुनामा रहेको कार्यालयको उद्घाटन गरेका हुन् । माघ ३ गतेको मन्त्रिपरिषदको बैठकले पानी जहाज कार्यालय खोल्ने निर्णय गरेको थियो ।
मन्त्रिपरिषदले कर्मचारी दरबन्दीसमेत स्वीकृत गरेको थियो । नेपालमा पानी जहाज संचालनको कुरा ओलीले उठाउँदै आएका थिए । जसको आलोचना पनि भएको थियो । आज नै ओलीले जनताको जलविद्युत आयोजना कार्यक्रमको शुभारम्भ गरेका छन् । ‘नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युतको शेयरधनी’ भन्ने नाराका साथ सुरु गरिएको कार्यक्रमको प्रधानमन्त्री ओलीले राष्ट्रिय सभागृहबाट आरम्भ गरेका हुन् ।
यसअघि रेल विभाग पनि गठन नभएको होइन । नभएको काम मात्र हो । अघिल्लो साता मात्रै प्रधानमन्त्रीले झापाबाट रात्रि उडानको पनि शुभारम्भ गरेका थिए । पर्यटन मन्त्री रवीन्द्र अधिकारीको सक्रियतामा उडान सुरु गरिएको थियो । आजको रिपोर्टमा त्यसलाई पनि अटाउँदै सरकारले एक वर्षमा उल्लेख्य काम गर्न सकेको प्रधानमन्त्रीले जनाएका छन् ।
सत्यपाटी - ।