
काठमाडौं । पश्चिमी वायुको प्रभावले आगामी तीन दिनसम्म बद्ली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौमसविद् राजु प्रधानाङ्गले कमजोररुपमा विकसित भएको पश्चिमी वायुको प्रभावले बदलीसँगै हल्का वर्षा गराउने बताए ।
उक्त प्रणालीको प्रभाव आगामी शनिबारसम्म जारी रहने र आइतबारदेखि मौसममा सुधार आउने उनको भनाइ थियो । अघिल्लोपटक देखापरेको पश्चिमी वायुले तीन दिनसम्म देशैभर बदली र वर्षा गराएको थियो । उक्त प्रणाली कमजोर भएको चारदिनमै पुनःपश्चिमी वायु नेपालको आकाशमा देखापरेको हो
काठमाडौँ उपत्यकामा तीन–चार दिनयता घाम लागेकाले केही न्यानो महसुस गरिए पनि पश्चिमी वायुको प्रभावले आजदेखि बदली गराएका कारण काठमाडौँमा केही चिसो बढाएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार बिहीबार डडेलधुरामा सात, वीरेन्द्रनगरमा पाँच र दाङमा एक मिलिमिटर वर्षा भएको छ ।
यसैबीच महाशाखाले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी बुलेटिन जारी गर्दै बिहीबार राति देशको अधिकांश भेगमा सामान्यदेखि पूर्ण बदली भएको छ भने पश्चिमी भेगका अधिकांश स्थानमा र मध्य तथा पूर्वी भेगका केही स्थानमा हल्का वर्षा भएको छ । उच्च पहाडी र हिमाली भेगका अधिकांश स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
आज शुक्रबार देशभर सामान्यतया बदली रहनेछ भने पश्चिमी भेगका अधिकांश र मध्य र पूर्वका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । आगामी ४ गते शनिबार पनि देशका अधिकांश स्थानमा बदली र पश्चिम, पूर्वी तथा मध्य नेपालका पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना छ ।
सत्यपाटी - ।