सूचनाको शक्ति - The Power Of Information

        

प्रधानमन्त्री ओलीले भने, ‘पुल उचालेर भए पनि पानीजहाज चलाउछौँ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुल उचालेर भएपनि पानी जहाज चलाउने बताएका छन् । ललितपुरको एकान्तकुनामा नेपाल पानीजहाज कार्यालयको उद्घाटन गर्दै उनले आज ललितपुरको एकान्तकुनामा पानीजहाज कार्यालय उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपाल अब पानीजहाज युगमा प्रवेश गरेको पनि बताए ।

उनले पानीजहाज ल्याउन पुलले समस्या ल्याउला भन्ने शंका रहेको भन्दै संसारमा पुल उचाल्न मिल्ने प्रविधि आइसकेकोले पुलल बाधा नपुग्ने बताए । भौतिक योजना तथा यातायात मन्त्रालयले आयोजना गरेको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले कार्यालयको स्थापनाले पानीजहाजको शुरुआत र विकासका लागि ढोका खोलेको बताए ।

नेपालमा धेरै नदीमा जल यातायातको सम्भावना रहेकाले नेपाल पूर्णरूपमा भूपरिवेष्ठित देश नभएको उनले औँल्याए । उनका अनुसार भारतको गङ्गा नदीमा नेपालकै नदीबाट सुख्खायाममा ७२ प्रतिशत र वर्षायाममा ४० प्रतिशत पानी नेपालबाट नै जान्छ । उनले भने, ‘भारतका ठूला नदी र समुन्द्रको टाउकोमा बसेर हामी भूपरिवेष्ठित भनेर खुम्चनु हुँदैन ।’

प्रधानमन्त्री ओलीले नेपामला रेलभन्दा पहिले पानी जहाज आउने ठोकुवा गरे । ‘गंगासम्म पानीजहाज आउन सक्छ भने नेपालमा पनि आउँछ,’ ओलीले भने, ‘पानीजहाज भन्नेबित्तिकै धेरै ठूलो पनि होइन । सानो डुंगाजस्तो पनि होइन । ठिक्कको पानीजहाज आउँछ ।’ नदीको आकार, गहिराइअनुसार पानीजहाज ल्याइने उनले बताए । कतिपयले नेपालको नदीमा पानीजहाज चलाउन गहिराइ पुग्दैन भनेका छन् ।

उनले यहाँको खोलाका चौडाइ र गहिराइका आधारमा जहाज निर्माण गर्न पनि इञ्जिनीयरहरुलाई सुझाव दिए । उनले भने, ‘अहिले कस्तो जहाज बन्ने गर्छ, त्यो हेरेर होइन यहाँको भूबनोटअनुसार जहाज निर्माण गर्नुपर्छ ।’ नेपालमा पानीजहाज ल्याउन भारतले गण्डक क्षेत्रमा विस्तृत अध्ययन प्रतिवेदन डिपिआर थालिसकेको उनले बताए । रेल र पानीजहाजका इञ्जिनियर उत्पादन गर्न सरकारले विद्यार्थीलाई विदेश पढ्न पठाउने पनि प्रधानमन्त्रीले घोषणा गरे ।

गत वर्ष भारत भ्रमणमा जाँदा आफूले पानीजहाज सञ्चालन र काठमाडौँ–रक्सौल रेलको सम्भावनाका विषयमा छलफल भएको उनले जानकारी दिए । भारतसँग ‘कनेक्टिभिटी’ (सम्पर्क सञ्जाल) मा नयाँ आयाम थपिएको उनले औँल्याए । उनले भने, ‘अहिलेसम्म सडक र हवाईमार्गबाट मात्रै जोडिएकामा जल यातायात र रेल यातायातबाट पनि हामी जोडिँदैछौँ ।’ ‘पानीजहाजको आकार हेरेर होइन खोलाको क्षमताअनुसार पानीजहाज बनाउन सकिन्छ, चलाउन सकिन्छ,’ उनले भने, ‘गहिराइ नचाहिने फिजिएको पानीजहाज बनाउन सकिन्छ ।’

प्रधानमन्त्री ओलीले विसं २०२७ मा नै पानीजहाजको सम्भावनाका बारेमा अध्ययन भएको पाएको बताए । ‘पानी जहाज कार्यालय जागीर खुवाउनका लागि होइन, देशलाई एक कदम अघि बढाउन खुलेको हो,’ उनले भने, ‘पानी जहाजको टिकट कहिले पाइन्छ भनेर केही महिना हामीलाई जिस्काउलान् तर केही महिना पर्खनुस् । टिकट पाइन्छ ।’ भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले राष्ट्रिय झण्डा राखेर पानीजहाज चलाउनु नेपालका लागि गर्वको विषय भएको बताए ।

भूपरिवेष्ठित देशमा पानीजहाज धेरै नेपालीले असम्भव विषय सोच्ने गरेको उल्लेख गरे । उनले भने, ‘हिजो पानीजहाज सम्भव छ र ? भन्नेहरुले नै हामीलाई घच्घच्याई रहनुभएको थियो ।’ भारत भ्रमणको क्रममा रक्सौल–काठमाडौं रेल र पानी जहाजको कुरा आफूले उठाएको स्मरण गर्दै उनले केही दिनभित्र काठमाडौंबाट कोशी नदीसम्म सामान लगेर त्यहाँबाट पानी जहाजमार्फत ओसार्न सकिने बताए ।

मन्त्रालयका सचिव मधुसुदन अधिकारीले अहिलेसम्म सडक यातायात र हवाई यातायात मात्रै सञ्चालनमा रहेकामा जल यातायात र रेल यातायातको शुरुआत र विस्तार गर्न मन्त्रालय लागिपरेको बताए । मन्त्रालयका सहसचिव गोपालप्रसाद सिग्देलले जल यातायात हवाई र सडक यातायातभन्दा सस्तो हुने औँल्याए । मन्त्रिपरिषद्को गत पुस २९ गतेको बैठकले उपसचिवको नेतृत्वमा १६ कर्मचारी रहने गरी कार्यालय स्थापनाको निर्णय गरेको थियो ।

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहीबार १४:४३