बाँके । बहुउद्देश्यीय सभागृह बनाउने नारा दिएर नेपालगन्ज उद्योग वाणिज्य संघले गत वर्ष सञ्चालन गरेको महोत्सवको आयव्यय सार्वजनिक नगरेरै अर्को मेलाको आयोजनाको तयारी थालिसकेको छ । बहुउद्देश्यीय सभागृह बनाउने भन्दै हरेक बर्ष मेलाको आयोजना गर्दै आएको संघले गतबर्ष गरिएको महोत्सवको आयव्यय अहिलेसम्म सार्वजनीक गरेको छैन ।
आर्थिक दुरुपयोग भएकोले आयव्यय सार्वजनिक नगरिएको सरोकारवालाले आशंकासमेत व्यक्त गरेका छन् । महोत्सवमार्फत ठुलै धनराशी संकलन हुने गरेको भन्दै सरोकारवालाले आयव्यय सार्वजनिक नगरेर भ्रष्टाचार भएको हुनसक्ने आशंका व्यक्त गरे । आर्थिक चलखेल गर्नकै लागि लामो समयसम्म आयव्यय सार्वजनिक नगरिएको हो कि भन्ने शंका व्यवसायीमा बढदै गएको एक व्यवसायीले बताए ।
‘लामो समयसम्म आयव्यय सार्वजनिक नहुनु तथा कारणबारे पनि जानकारी नदिइनुलाई सामान्यरूपमा लिन सकिन्न,’ उनले भने । महोत्सव प्रयोजनका लागि समितिले गरेको खर्च अपारदर्शी भएकै कारण नेतृत्वबाटै यसलाई गुमनाम पार्ने प्रपन्च भइरहेको व्यवसायीहरुको भनाई छ । ‘एक बर्षअघि भएको महोत्सवको आयव्यय सार्वजनिक गरिएको छैन,’ नेपालगन्जका एक व्यवसायीले भने, ‘सभागृह भन्दै हरेक बर्ष मेला लगाउने र कमाउने धन्दा भइरहेको छ ।’
अघिल्लो बर्षको आयव्यय नै सार्वजनीक नगरेर फेरि महोत्सव आयोजना गरेपछि नेपालगन्जका उद्योगी व्यवसायीसमेत उद्योग वाणिज्य संघको नेतृत्वप्रति सन्तुष्ट देखिएका छैनन् । ‘उद्योग वाणिज्य संघको नेतृत्वप्रति प्रायोजक तथा सहयोगी असन्तुष्ट बनेका छन्,’ नाम नबताउने शर्तमा एक व्यवसायीले भने, ‘सभागृहलाई भजाएर अहिले पनि उद्योग वाणिज्य संघले महोत्सव आयोजना गरेको छ । तर सभागृह बन्ने सम्भावना देखिँदैन ।’
‘एक बर्षअघि भएको महोत्सवको आयव्यय सार्वजनिक गरिएको छैन । सभागृह भन्दै हरेक बर्ष मेला लगाउने र कमाउने धन्दा भइरहेको छ ।’
महोत्सव अवधिमा जिम्मा लिएका पदाधिकारीले नै अपारदर्शी तरिकाले खर्च गरेका कारण आयव्यय सार्वजनीक गर्न समस्या भइरहेको उद्योग वाणिज्य संघ स्रोतले भन्यो । स्रोतका अनुसार राम्रो कामका लागि भनेर गरिएको महोत्सवको आयव्यय लामो समयसम्म सार्वजनिक नगर्नुले आम नेपालगन्जबासी तथा यहाँका व्यवसायीमा आशंका जन्माएको छ । आयव्यय सार्वजनीक गर्न संघको नेतृत्वले ध्यान दिन सकेको छैन । बरु उल्टै यसलाई गुमनाम बनाउने प्रपन्च गरिरहेको छ ।
संघले आयव्यव सार्वजनीक गर्न वास्ता नगरेरै पुनः महोत्सव आयोजना गरेपछि संघभित्रकै केही सदस्यका साथै यहाँका व्यवसायीहरु आक्रोशित छन् । बहुउद्देश्यीय सभागृह निर्माणका लागि अघिल्लो वर्ष आयोजना गरिएको महोत्सवको आम्दानी सार्वजनिक नगरेर संघले त्यही नाममा प्रदेशस्तरीय अर्को महोत्सव फागुन १६ देखि २६ गतेसम्म महोत्सव आयोजना गर्ने घोषणा गरेर तयारी थालिसकेको छ ।
अघिल्लो मेलाको मुख्य उद्देश्य पनि बहुउद्देश्यीय सभागृह निर्माण गर्ने थियो तर अहिलेसम्म आम्दानी र खर्च सार्वजनिक गरिएको छैन । सभागृह निर्माण गर्न एक अर्ब खर्च लाग्ने अनुमान गरिएको छ । सभागृहकै नाममा करिब पाँच वटा महोत्सव सम्पन्न भइसकेका छन् । काँरकादोस्थित सडक डिभिजन कार्यालय परिसरमा निर्माण गर्ने भनिएको बहुउद्देश्यीय सभागृह निर्माणको काम भने अहिलेसम्म टुंगो लागेको छैन ।
संघका अध्यक्ष नन्दलाल वैश्यले गत पुस २३ गते अघिल्लो बर्ष भएको महोत्सवबाट महोत्सवसम्म संघको बैंक खातामा झन्डै ३ करोड मौज्दात रहेको जानकारी दिए पनि महोत्सवको आम्दानी र खर्च विवरण भने सार्वजनीक गर्न सकेनन् । यस पटकको महोत्सवबाट हामी करिब ५० लाख मुनाफा गर्ने लक्ष्य प्रस्तुत गरेका अध्यक्ष वैश्यले अघिल्लो वर्षको हिसाब भने एकीनरुपमा थाहा नभएको भन्दै टार्ने प्रयास गरेका थिए ।
अध्यक्ष वैश्यले भने, ‘गत वर्षको आयव्यय कार्यसमितिले निर्णय गरी एक–दुई पत्रकारलाई मात्र जानकारी दिएर सार्वजनिक गरेको हो । सबैलाई बोलाएर जानकारी दिन सकिएन । एक–दुई जना आएर हिसाब लिएर समाचार लेख्नुभयो ।’ उनले यस बर्षको महोत्सवको मुख्य उद्देश्य पनि बहुउद्देश्यीय सभाहल निर्माण गर्ने नै भएको बताए । उनले भने, ‘महोत्सव व्यवसायिक जमघट बढाउनका लागि पनि आयोजना गर्न लागिएको हो ।’
सभागृह निर्माणको क्षेत्रमा देखिने गरी कुनै पनि काम हुन सकेको छैन । ‘हरेक वर्ष बहुउद्देश्यीय सभागहको नाममा मेला लगाउने र आयव्यय सार्वजनिक नगर्ने वर्तमान कार्यसमितिमै मत बाझिँएको छ । यस्तो प्रादेशिक महोत्सव गर्नु नेतृत्वको लाचारी हो,’ एक व्यावसायीले भने । गत वर्षको महोत्सव सुरु गर्नुअघि नै संघले आयोजना गरेको पत्रकार सम्मेलनमा महोत्सव सकिएपछि आयव्यय सर्वाजनिक गर्ने प्रतिबद्धता जनाए पनि आयव्यय सार्वजनिक नगर्दा थप शंका उब्जिएको छ ।
।