सूचनाको शक्ति - The Power Of Information

        

विद्युत पोल ढल्दा अन्धकारमा उपमहानगरका गाउँ

बाँके । नेपालगन्ज उपमहानगरपालिकाको पुरैना, पुरैनी तथा डुडवा गाउँपालिकाको बेतहनी बनकट्टी गाउँ यतिवेला अन्धकारमय भएको छ । ट्रयाक्टर चालकको लापरबाहीका कारण उक्त गाउँ यतिवेला अन्धकार भएको हो । आज दिउँसो करिब दुई बजेतिर नेपालगन्ज उपमहानगरपालिका वडा नं.२२ पुरैनीस्थित नहरबाटोमा रहेको बिजुलीको पोल ट्रयाक्टरले ढालेपछि यतिवेला सो क्षेत्रका जनता बिजुली उपभोग गर्नबाट बञ्चित भएका हुन् ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ का स्थानीय ट्रयाक्टर धनीको ट्रयाक्टरले ठक्कर दिएपछि बिजुलीको पोल ढलेको स्थानीय प्रत्येक्षदर्शीले बताए । घटनालगत्तै ट्रयाक्टरसहित चालक फरार भए । बिजुलीको पोल भाँचिएको छ, भाँचिएको पोलसँगै विद्युतीय तार सडकमा झरेको छ । बिजुलीको पोल ढलेको खबर नेपाल बिद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रलाई स्थानीयले समयमै खबर गरे पनि प्राधिकरणले लाईन सुचारु नगरेको स्थानीयले बताए ।

स्थानीयका अनुसार बिद्युत प्राधिकरणका कर्मचारी गाडीसहित आए, भाँचिएको पोलको तस्वीर लिएर गए तर पोल मर्मत गरि लाईन सुचारु गर्नेमा कुनै चासो नदिँदा बिद्युत उपभोग गर्न नपाएको स्थानीय उद्योगी राजेश धनकुट्टाले जानकारी दिए । वसन्तपुरस्थित रामसुमिरन कपास उद्योगका सञ्चालक राजेश धनकुट्टाले भने बिद्युत पोल ढलेपछि उद्योगको काम रोकिएको छ । बेलुकाको समय भएका कारण बालबालिकालाई अध्ययन गर्नसमेत समस्या भएको छ ।

खाना पकाउने समयमा पनि बत्ति नआएपछि सो क्षेत्रका बासिन्दा प्राधिकरणप्रति आक्रोसित बनेका छन् । स्थानीय वसन्तपुरका धनसरा मल्लले लाइन कतिखेर आउँछ भनेर सोध्दासमेत स्पष्ट जवाफ नपाएको गुनासो गरिन् । भाँचिएको उक्त पोलको स्थानमा नयाँ पोल जडान गरि तार जडान गर्नुपर्ने भएकाले आज काम हुन नसक्न हुँदा भोली लाइन जडान हुने नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार २०:१८