सूचनाको शक्ति - The Power Of Information

        

चितुवाको छालासहित फेरि भरीया नै पक्राउ, कहाँ छन् खास मतियार ?

बाँके । प्रहरीले नेपालगन्जबाट चितुवाको छालासहित दुईजना भरीयालाई फेरि पक्राउ गरेको छ । प्रहरीको ५ नम्बर प्रदेश अनुसन्धान ब्यूरोले नेपालगन्ज बसपार्क नजिकैबाट उनीहरुलाई पक्राउ गरेको हो ।

अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी निरीक्षक बोधराज रेग्मीका अनुसार पक्राउ पर्नेमा रोल्पा लिवाङ १ का ४४ वर्षीय चन्द्रबहादुर घर्ती र स्मृति गाउँपालिका २ का आइते विष्ट मगर रहेका छन् । स्रोतकाअनुसार उनीहरू दुवैजना भरीया हुन् ।

यसअघि पनि बाँकेकोे बैजनाथ गाउँपालिका–१ गाभर भ्यालीबाट चितुवाको छाला र दाह्रासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरू पनि भरीया नै थिए । बेलाबखतमा प्रहरीले यसरी भरीया पक्राउ गर्दै आए पनि अहिलेसम्म खास मतियारलाई पक्राउ गर्न सकेको छैन ।

यसरी पक्राउ पर्ने भरीयाले सास्ती पाउँदै आएका छन् । तर, यस्तो अबैध कारोबारमा संलग्न भई मोटो रकम कमाउँने मतियार भने सधै उम्किदै आएका छन् । यसरी पक्राउ गरेका भरीयालाई धरौटीमा छोडिएसँगै बरामद गरिएका बाघ, चितुवा लगयातका वन्यजन्तुका छाला वन तथा प्रहरीकै मिलेमतोमा वेपत्ता पारिन्छ ।

बैजनाथबाट बरामद भएको छाला कहाँ र कुन अवस्थामा छ अहिले पनि वन कार्यालयले सार्वजनिक गरेको छैन । बाँकेमा अहिलेसम्म यसरी कति छाला बरामद भयो भन्ने यकिन विवरणसमेत वन वा प्रहरी दुबैसँग भेटिदैन ।

राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन–२०२९ को दफा २६ (३) अनुसार थोप्ले चितुवाको अंग र प्रत्यगको चोरी सिकार गर्ने वा कारोबार गर्नेलाई ६ महिनादेखि १ वर्षसम्म कैद वा २० हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म जरिवाना अथवा दुवै सजाय हुने व्यवस्था छ । तर, अहिलेसम्म निकुञ्ज र वनले यसरी मतियारलाई कानूनी कारवाही गरेको पनि छैन ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार १६:३६