सूचनाको शक्ति - The Power Of Information

        

राम्री बस दुर्घटना : कारण गलत रोड इञ्जिनियरिङ

दाङ । दाङको राम्रीमा २३ जनाको ज्यान जाने गरि भएको बस दुर्घटनाको मुख्य दोष गलत रोड ईञ्जिनियरिङलाई दिइएको छ । गत पुस ६ गते दुर्घटनालगतै प्रदेश प्रहरीका एसएसपी नरबहादुर केसीको संयोजकत्वमा गठित छानबिन समितिले आफ्नो प्रतिवदेनमा यस्तो उल्लेख गरेको हो ।

झन्डै दुई महिनाअघि भएको दुर्घटनाबारे ५ नं. प्रदेशका प्रहरी प्रमुख एवम् डिआइजी पिताम्वर अधिकारीले राम्री दुर्घटनाको प्रमुख कारण गलत रोड इञ्जिनियरिङलाई प्रमुख कारणको रुपमा छानविन समितिले प्रतिवेदनमा औंल्याएको बताए । ‘म पनि त्यहाँ पुगेर अवलोकन गरेको छु,’ डिआइजी अधिकारीले भने, ‘राम्रीको मोडमा पुग्ने जो कोही मानिसले पनि रोडको इञ्जिनियरले राम्रो काम गरेको हो भन्ने अवस्था छैन ।’

सल्यानबाट दाङ तर्फ झर्दै गर्दा दुर्घटनास्थल राम्री भीरको कुना तर्फको भाग ५१ फिट अग्लो र १२० फिट लम्वाई भएको पहरो (पहाड) रहेको हुँदा त्यसले चालकलाई गाडी मोड्न अप्ठेरो हुने देखिएको डिआईजी अधिकारीले बताए । राम्री घुम्तीमा २० फिट चौडाई र मोडको वरपरको सडक १६.५ फिटदेखि १४.५ फिटसम्म चौडाइ गर्न आवश्यक रहेको छानबिन समितिको प्रतिवदेनमा उल्लेख छ ।

सडक १२ डिग्री स्लोपमा हुनु र मोडको कुना छेउमा रहेको पहरो (पहाड) का कारणले गर्दा हल्का मोड्दा पहाडमा ठोक्किने तथा मोड काट्न मुस्किल पर्ने स्थितिले गर्दा राम्री दुर्घटना भएको प्रतिवेदनमा उल्लेख रहेको डिआईजी अधिकारीले बताए । तर उनले छानबिन समितिले राम्री दुर्घटना हुनुको अन्य कारणमा चालकको लापरवाहीसँगै गाडी भित्रको होहल्लालाई प्रतिवदेनमा उल्लेख गरेको जानकारी दिए ।

बस आवश्यक भन्दा तीव्र गतिमा हुनु, चालकले सडकको खोल्डोलाई जोगाउन खोज्नु, सडक सुरक्षाको लागि आवश्यक बारहरू नहुनू, सामुन्ने सडक पिलर मात्रै हुनु, आसपासमा कुनै सडक संकेत नहुनु, त्यस्तो भयानक मोडमा कुनै ऐना पनि नराखिनु र बस भित्र सबै टिनएजर्स सवार हुँदा हो हल्लाले गर्दा चालकले बाटोमा आफूलाई फोकस राख्न नसकेकाले दुर्घटना घटेको उल्लेख छ ।

‘यसअघि पनि सोही स्थानमा अरू दुई–तीन वटा दुर्घटना भएको रहेछ,’ डिआईजी अधिकारीले भने, ‘त्यो गतल रोड इञ्जिनियरिङले गर्दा भइरहेको हुँदा त्यो पहाड तत्काल काट्न नितान्त आवश्यक छ ।’ त्यस्तै छानविन समितिले राम्री मोडको आसपासमा सार्वजनिक सूचनाको लागि बल्याक स्पट भनि उल्लेख गर्नुपर्ने, क्याट आइको व्यवस्था गर्नुपर्ने, कन्भेक्स मिरर राख्नुपर्ने लगाएतका सुझाव पनि दिएको छ ।

प्रहरीको प्रतिवेदनमा वनभोज, शैक्षिक भ्रमण तथा समूहगत रुपमा रिजर्भमा जाने सवारी साधनको विशेष चेकजाँच गर्नुपर्ने, दाङको तुलसीपुरदेखि सल्यानको कुपुरकोटसम्म चल्ने सवारी साधनलाई टाइम कार्डको व्यवस्था गर्नुपर्ने, सडकको अवस्थाको बारेमा जानकारी दिने बोर्डहरु तथा सडक सुरक्षा सामाग्रीको स्थानीयले समेत मर्मत संभारमा विशेष ध्यान दिनुपर्ने लगाएतका सुझाव पनि दिएको छ ।

गत पुस ६ गते दाङ घोराहीको शहिद कृष्णशेन इच्छुक बहुप्राविधिक शिक्षालयका विद्यार्थी र शिक्षक सवार बस सल्यानबाट शैक्षिक अवलोकन गरि फर्कने क्रममा बा ४ ख ९७६६ नम्वरको बस तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ राम्री भीरमा दुर्घटनामा हुँदा २३ जनाको मृत्यु भएको थियो भने १४ जना घाइते भएका थिए । दुर्घटनामा शिक्षालयमा अध्यनरत १९ विद्यार्थी, २ जना शिक्षक र बसका चालक तथा सहचालकको पनि मृत्यु भएको थियो ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार १२:१३