सूचनाको शक्ति - The Power Of Information

        

खण्डहर बन्यो ऐतिहासिक दरबार खुंग्रीकोट

उमा केसी । रोल्पा । ऐतिहासिक तथा सांस्कृतिक धरोहरको संरक्षणमा चासो नदिँदा रोल्पाको खुंग्रीकोट दरबार खण्डहरमा परिणत भएको छ । सोह्रौ शताब्दीमा राजा फत्तेप्रचण्ड सेनले शासन गरेको खुंग्रीकोट दरबार संरक्षणको अभावमा खण्डहर बन्दै जान थालेको हो ।

ऐतिहासिक र सांस्कृतिक पर्यटनकोे उच्च सम्भावना बोकेको यो दरबार संरक्षणका अभावमा आफ्नो पहिचान गुमाउन सक्ने अवस्थामा पुगेको छ । यसको संरक्षण र व्यवस्थापन गर्न सके यहाँ उल्लेखनीय सङ्ख्यामा पर्यटक आउने र यसबाट गाउँको विकासमा समेत टेवा पुग्ने विश्वास स्थानीयवासी मिलन सिंहको छ ।

दरबारलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने आधार रहेकाले यसतर्फ ध्यान दिनुपर्ने सिंहको सुझाव छ । विगतमा दरबार संरक्षणका लागि स्थानीयवासीले पटकपटक अनुरोध गर्दा कुनै निकायबाट सहयोग नपाएको बताउँदै उनले यो दरबार राज्यको ऐतिहासिक सम्पत्ति भए पनि यसको संरक्षणमा ध्यान नदिनु दुःखद भएको बताए ।

स्थानीय सरकार गठनपछि धार्मिक तथा ऐतिहासिकस्थलको विकास र प्रवद्र्धनमा विशेष ध्यान दिँदै खुंग्रीकोट दरबारको संरक्षणमा समेत बजेट विनियोजन गरेको गाउँपालिकाले जनाएको छ । बजेट विनियोजन गरे पनि दरबारको हकवालाले स्थानीय तहलाई संरक्षणको अनुमति नदिएपछि बजेट अन्यत्रै खर्च गर्नुपरेको गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले बताए ।

‘दरबार गाउँपालिकाको मात्रै नभएर जिल्लाकै महत्वपूर्ण सम्पत्ति भएकाले यसलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्छ,’ अध्यक्ष घर्तीले भने । दरबारको दीर्घकालीन संरक्षणका लागि हकवालासँग छलफल भइरहेको गाउँपालिकाले जनाएको छ । दरबार भत्किँदै जाँदा त्यहाँ प्रयोग भएका महत्वपूर्ण काठपात, इँट्टा भिङ्गटीसमेत हराउँदै जान थालेको छ ।

सो दरबारमा तत्कालीन राजाले प्रयोग गर्ने भाँडाकुडा समेत रहेको छ । चार कोठे उक्त दरबारमा राजाको सिंहासन, स्नान कक्ष, भान्सा घरलगायतका कोठा रहेको बताइन्छ । दरबार नजिकै राजाले प्रयोग गर्ने पोखरी र मन्दिरसमेत रहेको छ । मन्दिरमा दशैँको समयमा विशेष पूजाआजा गर्ने चलन अझै कायम रहेको स्थानीयवासीको भनाइ छ । दरबारको समग्र विकास हुनसके खुंग्रीकोटलाई पर्यटकीय हबको रुपमा विकास गर्न सकिने पर्यटनका जानकार बताउँछन् ।

खुंग्रीकोटको चतुरभुजमा रहेको शिव पञ्चायन मन्दिर, सोही स्थानमा रहेको धार्मिक वनलाई प्याकेजमा विकास गर्न सके यो क्षेत्र पर्यटकीय हब हुनसक्ने पर्यटन पत्रकार सङ्घ रोल्पाका अध्यक्ष लोकेन्द्र चन्दले बताए । ‘रोल्पाको घोडागाउँ र प्यूठानको सारीस्थित रातो माटोलाई समेत खुंग्रीकोटको पर्यटनसँग जोड्न सकिन्छ,’ उनले भने । पवित्र धार्मिक पर्यटकीय क्षेत्र स्वर्गद्वारीलाई ऐतिहासिक दरबारसँग जोडेर प्याकेजमा पर्यटनको विकास गर्न सकिने सम्भावना पनि त्यतिकै रहेको छ । रासस

प्रकाशित मिति : २९ माघ २०७५, मंगलवार १३:३३