बाँके । बर्षेनि घर निर्माण गर्ने क्रम बढ्दो छ । जनघनत्व उस्तै बढिरहेको छ । सबै टोलमा पूर्वाधारहरु बनिरहेका छन् । नेपालगन्ज उपमहानगरपालिका महानगर बनाउन महत्वाकांक्षी योजनाका साथ अघि बढिरहेको छ । तर नेपालगन्जबासीले शुद्ध खानेपानी पिउन भूमिगत स्रोतकै भर पर्नुपर्ने बाध्यता छ ।
आर्थिक अवस्था राम्रो हुनेले महंगा फिल्टर मेशिन, जार तथा बोतलको पानी पिइरहेका छन् । निम्न आयस्रोत भएका नागरिकहरु भने ह्याण्ड पम्प र कुवाको पानी पिउन बाध्य छन् । नेपालगन्जको बढ्दो बस्ती विकास र जनघनत्व अनुसार खानेपानी संस्थानले सबै टोल र बस्तीमा शुद्ध पिउने पानी पु¥याउन सकिरहेको छैन ।
२०६८ को जनगणना अनुसार नेपालगन्जको जनसंख्या एक लाख ३८ हजार ९५१ रहेको छ । तर खानेपानी संस्थानको तथ्यांक अनुसार हालसम्म नेपालगन्ज उपमहानगरपालिकाभित्र ५ हजार उपभोक्ताले मात्रै खानेपानी संस्थानको धारा जडान गरेका छन् । यसमध्ये पनि दशकअघि जडान गरिएका धारा बिग्रिएर, लिकेज भएर, बील भुक्तानी नगरेर धारा बन्द रहेकोले यसको संख्या घटेको छ ।
‘नेपालगन्जमा खानेपानी संस्थानले सोचेअनुरुप सेवा दिन नसकेको देखिन्छ,’ स्थानीय माया लामिछाने भन्छिन्, ‘खानेपानीका पाइपलाइन दशकअघि जहाँसम्म थिए, अहिले पनि त्यति नै छन् । वर्षैपिच्छे अन्य पूर्वाधारहरु विस्तार भइरहेका छन्, तर नेपालगन्जका नागरिकका घरघरमा शुद्ध पिउने पानीका धारा विस्तार हुन सकेका छैनन् ।’ नागरिकको स्वास्थ्यप्रति खानेपानी संस्थान संवेदनशील नभएको उनको गुनासो छ ।
नेपालगन्ज उपमहानगरपालिका–१८ को कारकाँदो क्षेत्रमा बढेको जनघनत्व अनुसार खानेपानी संस्थानले आफ्नो सेवा विस्तार नगर्दा उपभोक्ताहरु दुषित एवम् महंगो मूल्य तिरेर पानी पिउन बाध्य भएको लामिछानेको भनाई छ । उनले भनिन्, ‘हामीले यहाँ घर बनाएर बस्न थालेको दुई वर्ष भइसक्यो, अहिलेसम्म आफ्नै ह्याण्ड पम्पकै पानी शुद्धिकरण गरेर पिउने गरेका छौं, खानेपानी संस्थानले कहिलेसम्म पानी वितरण गर्ने हो, अत्तोपत्तो छैन ।’
संस्थानले सेवा विस्तारका लागि भन्दै कारकाँदोस्थित भगवती टोलमा गतवर्ष चार लाख २५ हजार लिटर क्षमता रहेको एउटा ओभरहेड ट्यांकी निर्माण गरेको छ । ट्यांकीबाट अहिलेसम्म संस्थानले उपभोक्तालाई पिउने पानी वितरण गर्न नसकेको वडा नम्बर १८ का वडासदस्य दीपक ढुंगाना बताउँछन् । ‘खानेपानी संस्थानले कारकाँदोमा एउटा ट्यांकी निर्माण गरिसकेको छ, खानेपानीको पूर्वाधार बनाउन संस्थानले अझै जग्गा खोजिरहेको रहेछ,’ उनले भने ।
संस्थानले सेवा विस्तार नगर्दा कारकाँदोका बासिन्दा केहीले हेण्डपम्पको दुषित पानी र कतिपयले ह्याण्डपम्पकै पानी शुद्धिकरण गरेर पिउने गरेको वडासदस्य ढुंगानाले सुनाए । कारकाँदो क्षेत्रमा अत्यधिक रुपमा जनघनत्व बढेका कारण खानेपानी संस्थानले सेवा विस्तारमा तदारुकता देखाउनुपर्ने उनको सुझाव छ । कारकाँदोजस्तै पछिल्लो समयमा नेपालगन्जमा विस्तार भएका बस्तीअनुसार धेरैजसो ठाउँमा खानेपानी संस्थानको सेवा पुग्न सकेको छैन ।
नेपालगन्जको तेजनगर, बसपार्क, सुर्जीगाउँ, जिल्ला प्रहरी कार्यालयको दक्षिण क्षेत्र, कोरियनपुर, भृकुटीनगर, बाँकेगाउँ, गोसाईगाउँ, आर्दशनगर, बेलासपुर, फुलटेक्रा, रामनगर, लग्दहवा, भुजईगाउँ लगायत स्थानमा विगत दशकयता जनघनत्व ह्वात्तै बढेको छ । तर, ती बस्तीहरुमा खानेपानी संस्थानले अहिलेसम्म धारा जडान गर्न सकेको छैन । नेपालगन्जका नयाँ बस्तीहरुमा संस्थानको ‘शुद्ध पानी’ नपुग्दा उपभोक्ताहरु दुषित पानी पिउन बाध्य छन् ।
नेपाल सरकारले एक घर, एक धाराको नीति अगाडी सारे पनि नेपालगन्जबासीलाई दुषित पानी पिउनै पर्ने बाध्यता छ । भृकुटीनगरका रमेश अधिकारीले खानेपानी संस्थानले पानी वितरण गर्न नसकेको गुनासो पोखे । ‘खानेपानी संस्थानले अहिलेसम्म पानी वितरणको लागि कुनै सुरसार गरेको छैन,’ उनले भने, ‘हामीहरु हेण्डपम्पकै पानी प्रयोग गरिरहेका छौं, हाम्रो टोलमा धेरै जनाले हेण्डपम्पकै पानी पिउने गरेका छन् ।’
खानेपानी संस्थानले अहिलेसम्म करिव ४ दशक पुरानो पानी ट्यांकीमार्फत नेपालगन्जमा पानी वितरण गर्दै आएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ मा संस्थानको साढे ४ लाख लिटर क्षमताको एउटा ओभरहेड ट्ंयाकीबाट हालसम्म खानेपानी वितरण गरिरहेको खानेपानी संस्थान शाखा कार्यालय नेपालगन्जका प्रशासन शाखा प्रमुख एवम् सूचना अधिकारी बुद्धिप्रकाश केसीले बताए ।
उनका अनुसार संस्थानले उक्त ट्यांकीमा नगरका विभिन्न तीन स्थानमा गाडेको डीप ट्युबेलबाट दैनिकरुपमा करिव ३० लाख लिटर पानी तानेर झण्डै ५ हजार उपभोक्तालाई पानी वितरण गरिरहेको छ । ‘कारकाँदोमा एउटा ओभरहेड ट्यांकी निर्माण भइसकेको छ, यसवर्ष २ वटा डीपबोरिङ पनि सञ्चालनमा आउँदैछ,’ उनले भने । नेपालगन्ज उपमहानगरका नयाँ बस्तीहरुमा संस्थानले चाहेर पनि खानेपानीको पाइप पुर्याउन नसकेको उनले बताए ।
‘नयाँ बस्तीमा पानीको माग धेरै छ, तर पाईप विस्तार गर्न संस्थानसँग बजेट छैन,’ उनले थपे, ‘कारकाँदोमा स्थापना भएको ओभरहेड ट्यांकी सञ्चालनमा आएपछि उपभोक्ताको माग अनुसार पानी वितरण गर्न सकहज हुनेछ ।’ संस्थानले उपलब्ध गराउने पानी शुद्ध भए पनि कतिपय ठाउँमा उपभोक्ताले पाइप जोड्ने ठाउँमा लिकेज हुँदा त्यहाँबाट ब्याक्टेरिया छिर्ने सम्भावना रहेको केसीको भनाई छ ।
केहीवर्ष अघि संस्थानकै पानीमा ‘कोलिफम’ जीवाणु फेला परेको पुष्टी भएको थियो । यस विषयमा उनले भने, ‘हामीले उत्पादन गरेर ट्यांकीमा पु¥याउँदा र छोड्दासम्म शतप्रतिशत पानी शुद्ध हुन्छ, तर वितरण पाइपमा उपभोक्ताले जोड्ने ठाउँमा लिकेज हुँदा त्यहाँबाट जीवाणु पस्नसक्छ । त्यसको लागि संस्थानले पानी शुद्धिकरण गर्न ब्लिचिङ्ग पाउडर हाल्ने गरेको छ ।’
सत्यपाटी - ।