सूचनाको शक्ति - The Power Of Information

        

सिक्टा सिँचाइका तत्कालिन आयोजना प्रमुख कार्की धरौटीमा रिहा

बाँके । राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइको नहर निर्माणमा भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्दा लगाएका तत्कालिन आयोजना प्रमुख दिलिपबहादुर कार्कीसँग एक करोड दश लाख धरौटी बुझाएर रिहा भएका छन् ।

अख्यितार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेको भ्रष्टाटाचार मुद्दा सुनुवाइ गर्दै विशेष अदालतका अध्यक्ष एवं न्यायाधीश बाबुराम रेग्मी सदस्यहरू प्रमोदकुमार श्रेष्ठ र नारायणप्रसाद पोखरेलको इजलासले सोमबार मागेको १ करोड १० लाख धरौटी बैंक ग्यारेन्टीमार्फत बुझाएर कार्की थुना मुक्त भएका हुन् ।

नेपाल बंगलादेशको वैंक ग्यारेण्टी बुझाएपछि उनलाई तारेखमा छोडिएको विशेषका प्रवक्ता पुष्प पाण्डेले बताए । तत्कालिन आयोजना प्रमुख कार्कीले उक्त आयोजना निर्माणका क्रममा एक अर्व ५६ करोड ८२ लाख ८३ हजार १९९ सय भ्रष्टाचार गरेको भन्दै अख्तियारले उनलाई विगो बमोजिम जरिवाना तिराउन माग गरेको छ ।

सिक्टा सिंचाई आयोजनामा २ अर्व १३ करोड ७६ लाख ७९ हजार ९२० रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुईमहिना अघि पूर्वमन्त्री विक्रम पाण्डे, आयोजना प्रमुख कार्कीसहित २१ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अख्तियारले कार्कीसँग कार्कीसँग एक अर्ब ५६ करोड, ८२ लाख ८३ हजार बिगो दाबी गर्दै मंसिर २१ गते मुद्दा दर्ता गरेको थियो ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको बाँके जिल्लामा निर्माणाधीन सिक्टा आयोजना निर्माणकै क्रममा मूलनहर भत्किएको, डिजाइन नै त्रुटीर्पण ढंगले गरेको, आयोजनामा खटिएका प्राविधिक, कन्सल्टेण्ट, निर्माण व्यवसायीले पर्याप्त सुपरभिजन नगरेको र परीक्षणका क्रममा नहर भत्किसकेकोमा पुनःपरीक्षण समेत नगरी निर्माण व्यवसायीलाई उन्मुक्ति दिएको अभियोग अख्यितारले गएको छ ।

कार्कीसँगै तत्कालीन आयोजना प्रमुखहरु सर्वदेवप्रसाद, सरोजचन्द्र पण्डित, र रमेश बस्नेतविरुद्धसमेत मुद्दा दायर गरिएको छ । यसअघि पूर्वमन्त्री विक्रम पाण्डे, पनि विशेषले मागेको ४ करोड धरौटी बुझाएर थुनामुक्त भैसकेका छन् ।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलवार ०६:४२