सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तहका १२७ उजुरी अख्तियारमा

बाँके । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगन्जमा स्थानीय तहका उजुरी धेरै परेका छन् । सम्पर्क कार्यालय, नेपालगन्जका प्रमुख गणेश गैरेले स्थानीय तहका १२७ उजुरी परेको बताए । उनका अनुसार अख्तियार सम्पर्क कार्यालय नेपालगन्जले चालू आर्थिक वर्षमा आठ वटा मुद्दा दर्ता भएकामा पाँच वटा मुद्दा बाँकेका रहेका छन् ।

बाँकेको सिक्टा सिँचाइ आयोजना, यातायात व्यवस्था कार्यालय भेरी, सशस्त्र प्रहरी बल नौबस्ता बाँके, नौबस्ता डिप बोरिङ उपभोक्ता समिति बाँके, त्रिभुवन मावि कोहलपुरको अख्तियारमा मुद्दा परेको हो । अख्तियारको सम्पर्क कार्यालय नेपालगन्जले पप्पुले बनाएको जब्दीघाट पुल निर्माण बर्दिया, साविक जिल्ला कृषि विकास कार्यालय दैलेख र नेपाल टेलिकम दूरसञ्चार कार्यालय दाङविरुद्ध मुद्दा दायर गरेको छ ।

अख्तियार नेपालगन्ज कार्यालयमा शिक्षाका ७७, वनका ४९, भूमिका ३०, गृहमा २२, स्वास्थ्य तथा जनसङ्ख्याका १३, भौतिक पूर्वाधार तथा यातायातका १३, ऊर्जा जलस्रोत तथा सिँचाइका ११, कृषि तथा पशुपक्षीका ११ वटा उजुरी परेका छन् । आव २०७५÷७६ को माघ २६ गतेसम्ममा सम्पर्क कार्यालयले आठ वटा तीव्र कारवाही (स्टिङ अपरेशन) गरेको छ । उक्त स्टिङ अपरेशनमा १३ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ ।

अख्तियारले अस्थायी प्रहरी पोष्ट बसपार्क नेपालगन्ज, गुलरिया नगरपालिका बर्दिया, इलाका प्रहरी कार्यालय मैनापोखरी, राजापुर नगरपालिका बर्दिया, दाङमा आफूलाई वडाध्यक्ष बताउने व्यक्ति, भूमि सुधार तथा मालपोत कार्यालय बाँके, अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय सुर्खेत, सव डिभिजन वन कार्यालय बाँकेमा स्टिङ अपरेशन गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय सुर्खेतमा कार्यरत प्रहरी सहायक निरीक्षकलाई केन्द्रीय कार्यालयबाट आएको टोलीले रङ्गेहात पक्राउ गरेको हो ।

अख्तियार सम्पर्क कार्यालय, नेपालगन्जमा चालू आवको पुस मसान्तसम्ममा १७६ वटा उजुरी परेका छन् । त्यसमध्ये ३४ उजुरीको प्रारम्भिक अनुसन्धान सम्पन्न भएको प्रमुख गैरेले जानकारी दिए । यो अवधिमा बर्दियामा ८९ उजुरी परेका छन् भने १६ वटाको प्रारम्भिक अनुसन्धान सकिएको छ । दाङका ८८ वटा उजुरी परेका छन् । नौ वटा उजुरीको प्रारम्भिक अनुसन्धान सम्पन्न भएको छ ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार १७:३६