सूचनाको शक्ति - The Power Of Information

        

अमेरिकी सहयोगको जहाज बन्दै नेपालकै पहिलो ‘एयर एम्बुलेन्स’

काठमाडौं । नेपाली सेनाले संयुक्त राज्य अमेरिकाबाट निकट भविष्यमा प्राप्त गर्ने स्काइ ट्रक (कार्गो विमान) लाई एयर एम्बुलेन्स बनाउन छलफल सुरु भएको छ । अमेरिकी सेनाले फरेन मिलिट्री फन्ड शीर्षकबाट नेपाली सेनालाई ४ वटा स्काइ ट्रक अनुदान दिने तयारी गरेपछि तिनको प्रयोजनबारे सेनाले गृहकार्य थालेको हो ।

पोल्याण्डमा निर्मित लाइट डबल इन्जिन स्काइ ट्रकले २०६८ मा काठमाडौंदेखि भारतको पटनासम्म सफल उडान गरेको थियो । तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई सेनाको पिजेडएल एम–२८ स्काइ ट्रक चढेर पटना पुगेका थिए । अहिले अमेरिकाले प्रदान गर्न लागेको स्काइ ट्रक सोही सिरिजको अझ नयाँ मोडलको हो ।

यही तथ्यलाई आधार बनाएर अति आवश्यक सेवाका लागि एयर एम्बुलेन्स बनाउन छलफल भइरहेको हो । ‘अमेरिकी सेनाले प्रदान गर्न लागेको जहाजमा १९ सिट क्षमता हुन्छ । डबल इन्जिनका ती जहाजमा विशष्टि सुरक्षा मापदण्ड अपनाइएको हुन्छ,’ पूर्व प्रधानसेनापति राजेन्द्र क्षत्रीले भने ‘पटनाको सफल उडान गरिसकेकाले सो जहाजबाट भारतीय सहरहरुमा उडान गर्न कुनै समस्या छैन ।’

क्षत्री प्रधान सेनापति रहँदै सन् २०१६ मा अमेरिकी सेनाले अनुदान सहयोगमा प्रदान गर्ने ४ वटा स्काइ ट्रकबारे निर्णय भएको हो । आपतकालीन सेवामा उपयोग हुने एयर एम्बुलेन्स नेपालमा एउटा पनि छैनन् । नेपालबाट गम्भीर बिरामी विदेश लैजानु पर्दा भारत, थाइल्यान्डबाट एयर एम्बुलेन्स झिकाउनु पर्ने अवस्था छ । यस्तो अवस्थामा नेपाली सेनाले एयर एम्बुलेन्स सञ्चालन गरी आपतकालीन सेवा प्रदान गर्नुपर्ने पूर्व प्रधान सेनापति क्षत्रीको भनाइ छ ।

‘आवश्यकता पर्दा एयर एम्बुलेन्सको रुपमा प्रयोग गर्ने र अन्य समयमा नियमित काममै प्रयोग गर्ने मिल्ने बनाउन सकिन्छ । यो मोडलमा जाँदा उपयुक्त हुन्छ,’ पूर्व प्रधानसेनापति क्षत्री भन्छन् । नेपालको आफ्नै एयर एम्बुलेन्स भएपछि दलालमार्फत एयर एम्बुलेन्सका लागि तिरिरहेको महँगो शुल्क घट्ने उनको भनाइ छ । नेपाली बिरामीले काठमाडौंदेखि दिल्ली, मुम्बई र चेन्नईका अस्पताल पुग्न एयर एम्बुलेन्स प्रयोग गर्दा ४२ लाख रुपैयाँसम्म तिर्नुपर्ने बाध्यता छ । योमध्ये झन्डै आधा रकम काठमाडौंमा रहेका एयर एम्बुलेन्स दलालले पाउने हुन् ।

अमेरिकाले दिँदैछ ४ स्काइ ट्रक

अमेरिकी सेनाले नेपाली सेनालाई चार वटा स्काइ ट्रक प्रदान गर्दैछ । पहिलो खेपमा संयुक्त राज्य अमेरिकाको इन्डो–प्यासिफिक कमाण्डले पोल्याण्डमा निर्मित २ वटा पिजेडएल एम–२८ स्काई ट्रक दिनेछ । अमेरिकी सेनाको रेखदेखमा नेपाललाई हस्तानान्तरण गरिन लागेका ती स्काइ ट्रक सैन्य प्रयोग मापदण्डअनुसार निर्माण भइरहेका छन् । दोस्रो खेपमा थप २ जहाज प्रदान गर्नेछ ।

सैनिक प्रवक्ता सहायक रथी यमप्रसाद ढकाल अमेरिकी सेनाले जहाज दिने विषयमा सहमति भइसके पनि मिति आइनसकेको बताउँछन् । ‘यही वर्ष (सन् २०१९) भित्रै आउने भन्ने हो तर हस्तान्तरणको मिति तय भइसकेको छैन’, उनी भन्छन् । एउटा स्काइ ट्रक एयर एम्बुलेन्स बनाउनेबारे छलफल भइरहेको हुनसक्ने उनले बताए । अमेरिकी सेनाले २०७२ को महाभूकम्प लगत्तै ४ वटा स्काइ ट्रक पठाउने तयारी गरेको थियो । ती केही पुराना थिए ।

अहिले दिन लागिएका स्काइ ट्रक ब्रान्ड न्यू हुन् । नेपाली सेनाका तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीले भूकम्पछि गरेको अमेरिकाको औपचारिक भ्रमणमा यससम्बन्धी सहमति भएको हो । अमेरिकी सेनाले सरकारको सहमतिमा वार्षिक रुपमा आफू निकट देशका सेनालाई फरेन मिलिट्री फन्ड अन्र्तगत सैन्य सामाग्री सहयोग गर्दै आएको छ । नेपाली सेनाले हवाई सेवा विस्तार र मजबुत पार्न बनाएको १० वर्षे योजना अन्र्तगत सर्विस बिओण्ड इकोनोमिक रिपेयरिङ (मर्मत–सम्भारभन्दा बाहिर) रहेका विमान हटाएर नयाँ विमान ल्याइरहेको छ ।

तत्कालीन प्रधानसेनापति गौरबशम्सेर राणाको कार्यकालमा बनेको योजना क्षत्रीको कार्यकालमा प्रक्रियामा र प्रधानसेनापति पूर्णचन्द्र थापाको कार्यकालमा कार्यन्वयनमा गएको हो । केही समयअघि काठमाडौं आएका इन्डो–प्यासिफिक कमाण्ड प्रमुख फिलिप्स एस डेभिड्सन र नेपालका लागि अमेरिकी राजदूर्त याण्डी डब्लु बेरीबीच स्काइ ट्रक हस्तान्तरणबारे छलफल भएको पूर्व प्रधान सेनापति क्षत्रीले जनाए । रक्षामन्त्री इश्वर पोखरेल र डेभिड्सनबीचको भेटवार्तामा पनि यो विषयमा छलफल भएको थियो ।

स्काइ ट्रक के हो ?

नेपाली सेनाले केही दशकदेखि प्रयोगमा ल्याएको पिजेडएल एम–२८ स्काई ट्रक विशेषगरी पहाडी तथा हिमाली जिल्लामा अत्यावश्यक वस्तु ढुवानीका लागि निर्माण भएको सानो जहाज हो । यसमा दुईवटा इन्जिन हुन्छन् । विश्वका शक्तिशाली देशका सेनाले प्रयोगमा ल्याएको यो जहाज उडान र अवतरणका लागि अति सजिलो मानिन्छ । जहाजमा १९ सिट क्षमता हुन्छ । सानो रनवेमा समेत उडान भर्न र अवतरण गर्न मिल्ने यो जहाज पोल्याण्डमा अमेरिकी सेनाको प्रत्यक्ष निगरानीमा उत्पादन हुन्छ ।

अमेरिकाको वायु र जल सेनाले यही जहाज प्रयोग गरिरहेका छन् । नेपाली सेनाले सामाग्री ढुवानी, विशिष्ठ पाहुना बोक्न र सैन्य तालिम अन्र्तगत प्याराजम्पका लागि यो जहाज प्रयोग गर्दैै आएको छ । सेनासँग रहेका ३ स्काइट्रकमध्ये दुई दुर्घटनामा परी काम नलाग्ने भइसकेका छन् । एउटा चालू अवस्थामा छ । विश्वकै खतरनाक मानिएका डोल्पा, मुस्ताङ, जुम्ला र मनाङजस्ता हिमाली जिल्लाका विमानस्थलमा यो जहाजले सयौं पटक उडान र अवतरण गरिसकेको छ ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतवार १२:२६