बाँके । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी (वसन्त पञ्चमी) विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लागेको छ ।
विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने धार्मिक विश्वास छ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हँसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्ने गर्छन् ।
विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् भने तान्त्रिकहरू तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा आराधना गर्छन् । सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजका दिनलाई ‘वसन्त पञ्चमी’ पनि भन्ने गरिन्छ ।
ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धा्िङ्गनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने भएकाले सरस्वती पूजाको ठूलो महत्व छ । गान्धर्व पुराणमा आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने उल्लेख छ । आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने विश्वास छ ।
यस दिन बालबालिकालाई शिक्षारम्भका साथै नाक–कान छेडिदिने गरिन्छ । सरस्वतीलाई चढाइएको सात गेडा अक्षता दाँतले नछोई निलेमा विद्या र बुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ । सरस्वतीका मन्दिरका साथै विद्यालयहरुमा विशेष कार्यक्रमहरु भइरहेका छन् । श्रीपञ्चमीकै अवसरमा नेपालगन्जका सबै विद्यालयहरुमा सरस्वती पुजा भइरहेको छ ।
सो अवसरमा नेपालगन्ज–१९ स्थित ब्रिटिस स्कुलले पनि विद्यार्थी भर्नासँगै अक्षरारम्भ गराएर सरस्वती श्रीपञ्चमी मनाएको छ । विद्यालय प्राङ्गण सजाइएको छ । विद्यालयको बीच चौरमा सरस्वतीको तस्वीर राखेर पुजाआजा भइरहेको छ भने सो स्थान निजकै विद्यार्थी भनाई र अक्षरारम्भ भइरहेको छ । सरस्वती पुजामा बिद्यार्थी, अभिावकलाई स्वागत गरिएको ब्रिटिस स्कुलका प्रिन्सिपल हेमन्तराज काफ्लेले जानकारी दिए ।
बिहानैदेखि सरस्वती पुजा, विद्यार्थी भर्ना र अक्षरारम्भ लगायतका कार्यक्रम चलिरहेको जानकारी दिए । प्रिन्सिपल काफ्लेका अनुसार सरस्वती पुजाको दिनलाई अक्षारम्भ वा विद्यारमभको अवसर भएकोले बालबालिकालाई निशुल्क भर्ना गरिएको छ । उनले आज विद्यालयमा भर्नाका लागि आउने बालबालिकाको भर्ना शुल्क नलाग्ने जानकारी दिँदै विद्यार्थी भर्नाका लागि अभिभावकहरुलाई आग्रह समेत गरेका छन् ।















सत्यपाटी - ।