सूचनाको शक्ति - The Power Of Information

        

सरकारी गाडी ट्राफिक प्रहरीको नियन्त्रणमा

बाँके । सरकारी कार्यालयका कर्मचारीहरुले सार्वजनिक विदाको दिनमा सरकारी गाडी चलाउन जिल्ला प्रशासन कार्यालयको अनुमति लिनुपर्छ । सार्वजनीक विदामा सरकारी गाडी चलाउन नेपाल सरकारले नै प्रतिबन्ध लगाएको छ ।

सरकारको नियम विपरीत सरकारी सवारी चलाउन पाइँदैन । यदि चलाउनै पर्ने भए सरकारी मापदण्ड पूरा गरेर चलाउन पाइने व्यवस्था छ । तर बाँकेमा भने सरकारी नियमको उलंघन गर्दै सवारी चलाउने क्रम बढेको छ भने बाँके प्रशासनले पनि नियम पालनासँगै कार्यान्वयनमा चासो देखाएको छैन ।

जिल्ला प्रशासन कार्यालयले पनि सार्वजनिक विदाका दिन सार्वजनिक सवारी साधन प्रयोग गर्दा तत्कालिन क्षेत्रीय प्रशासन कार्यालयको परिपत्र अथवा अनुमति लिनुपर्ने प्रावधान छ । सरकारले यसअघिनै सार्वजनिक सवारी साधन नचलाउन आदेश दिइसकेको छ ।

तर बाँकेका सरकारी कार्यालयका कर्मचारीहरुले नियम विपरित सरकारी सवारी साधन चलाइरहेका छन् । विदाका दिन अनुमति बिना सरकारी सवारी चल्न थालेपछि जिल्ला ट्राफिक कार्यालयले सवारी नियन्त्रणमा कडाई गरेको छ ।

गत शनिबारमात्रै ट्राफिक प्रहरीले अनुमतिबिना चलाएका आधा दर्जन सरकारी सवारीसाधन नियन्त्रणमा लिएको थियो । गत शनिबार जिल्ला प्रशासन कार्यालय बाँकेसहित कोहलपुर नगरपालिकाको भे१ब १४२२, घरेलु तथा साना उद्योग कार्यालय नेपागन्जको भे१ब ४०७, सिँचाई डिभिजन कार्यालयको भे१ब ६११ र भे१ब ३०९ नम्बरको सरकारी मोटरसाइकल ट्राफिकले नियन्त्रणमा लिएको हो ।

सार्वजनिक विदाका दिन अनुमतिबिनै सरकारी सवारीसाधन चल्न थालेपछि कडाई गरिएको ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रहरी नायब निरीक्षक ओम पौडेलले बताए । बाँकेमा पछिल्लो समय स्थानीय तहका जनप्रतिनिधिदेखि सरकारी निकायका कर्मचारीले सरकारी सवारी साधनको दुरुपयोग गर्दै आएका छन् ।

यसअघि पनि सल्यानको शारदा नगरपालिकाको सवारी साधन पनि बाँकेमै ट्राफिकले नियन्त्रणमा लिएको थियो भने हुम्ला नगरपालिकाको सवारी साधन नेपालगन्जस्थित वाटरपार्कको खुला मैदानमा सो नगरपालिकाका नगरप्रमुख र उनका छोरा स्वयमले सिकिरहेको अवस्थामा फेला परेको थियो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले यस विषयमा आफूलाई जानकारी नभएको बताए । उनले सार्वजनिक विदाका दिन जिल्ला प्रशासन लगायत जुनसुकै कार्यालयले अनुमति बिना सरकारी सवारी साधन चलाउन नपाउने बताउँदै भने, ‘यस विषयमा तत्काल बुझेर कारबाही प्रक्रिया अघि बढाउँछौं ।’

प्रकाशित मिति : २७ माघ २०७५, आइतवार ०९:५३