सूचनाको शक्ति - The Power Of Information

        

प्रदेशसभा सदस्य ओलीलाई हेलिकप्टरबाट काठमाडौँ लगियो

बाँके । दाङमा बिहिबार बेलुका भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका प्रदेशसभा सदस्य उत्तरकुमार ओलीलाई थप उपचारको लागी हेलिकप्टरबाट काठमाडौँ लगिएको छ ।

लमही स्थित फ्लोरेन्स अस्पतालमा प्राथमिक उपचार गरेर थप उपचारको लागि कोहलपुर मेडिकल कलेज लगिएको ओलीको त्यहाँ पनि उपचार सम्भव नभएपछि थप उपचारको लागि हेलिकप्टरमार्फत काठमाडौँ लगिएको प्रदेशसभा सदस्य रेवतीरमण शर्माले जानकारी दिए ।

नेपालगन्ज मेडिकल कलेज कोहलपुरबाट काठमाडौँको मेडिसिटी अस्पताल रेफर गरिएको न्युरो सर्जन सञ्जय झाले बताए । डा. झाका अनुसार सांसद ओलीको स्वास्थ्य अवस्था सुधारउन्मुख छ । उपचारमा संलग्न चिकित्सकका अनुसार पेटमा भएको इन्टर्नल ब्लिडिङ अहिले रोकिएको छ भने श्वासप्रश्वास गति सामान्य छ ।

बिहिबार घोराहीबाट लमही जाँदै गरेको ना ५ ख ५५२९ नम्बरको यात्रुवाहक बसले बुटवलबाट तुलसीपुर जाँदै गरेको बा १८ च ६८३६ नम्बरको सांसद ओली सवार कारलाई घोराही–लमही सडक खण्डको चिसापानी घुम्तीमा ठोक्किदा ओली गम्भीर घाइते भएका थिए ।

उक्त दुर्घटनामा बसमा यात्रा गरिरहेकी पश्चिम रूकुमकी रमिला शर्माको मृत्यु भएको थियोे भने प्रदेशसभा सदस्य ओलीसहित १४ घाइते भएका थिए । ओली आफँैले कार चलाएको बुझिएको छ । ओली गतवर्ष भएको प्रदेशसभा निर्वाचनमा दाङ निर्वाचन क्षेत्र नं ३ (ख) बाट निर्वाचित भएका थिए ।

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार १४:३४