सूचनाको शक्ति - The Power Of Information

        

मौसमविद भन्छन्, ‘आज पनि मेघगर्जनसहित वर्षा’

काठमाडौं । देशका अधिकांश भूभागमा आज (बिहिबार) पनि पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद सुजन सुवेदीले देशका अधिकांश भूभागमा सामान्यदेखि मध्यम वर्षा हुने र केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जानकारी दिए ।

उनका अनुसार देशभर दिनभरी नै सामान्यदेखि पूर्ण बदलीकै अवस्था रहनेछ । काठमाडौँ उपत्यकासहितका स्थानमा अहिले पनि पानी परिरहेको छ । उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको छ । बिहिबार राति पनि अधिकांश स्थानमा पानी पर्ने मौसमविद सुवेदीले जानकारी दिए ।

बुधवारदेखि बदली भएको मौसम शनिबारसम्म लगभग यस्तै अवस्थामा रहने पनि महाशाखाले जनाएको छ । शनिबारसम्म देशभर सामान्यदेखि पूर्ण बदली रही पश्चिम र मध्यको धेरै स्थानमा हल्का र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद सुवेदीले बताए । उनले पश्चिमी वायुको प्रभावले बदली र वर्षा भएको बताए ।

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार ०७:२९