बाँके । करिब सात बर्षअघि पाँच रूपैयाँबाट शुरू गरेको बचतले राप्तीसोनारीका अधिकांश महिला अहिले उद्यमी बनेका छन् । अहिले यहाँ महिलाहरू आफ्नै मेहनतमा रु.१० लाख बढीको करोबार एक्लै गर्न सफल देखिएका छन् । घरखर्च समेत श्रीमानकै भर पर्नुपर्ने विगतको बाध्यता अहिले अन्त्य भएको छ ।
अब श्रीमति होइन श्रीमान श्रीमतिको आम्दानीमा रमाउँन थालेका छन् । सहकारीमा आबद्ध भएर बचत गर्न थालेपछि यहाँका महिालको आर्थिक अवस्थामा सुधार आएको स्थानीय गंगा शाह बताउँछिन् । उनकाअनुसार आर्थिक अवस्था बजबुद हुनुका साथै महिला आफै आत्मनिर्भर भएकैले अहिले परिवार र समाजमा सम्मानित व्यवहार पाइएको छ ।
घरपरिवारले थाहा पाए गाली पाउँने डरले लुकेर जम्मा गरेको पाँच रूपैयाँले आज सक्षम र आत्मनिर्भर बनाएको राप्तीसोनारीका महिलाहरू बताउँछन् । आत्मनिर्भर बनकै लागि नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थामा सहभागी भएका यहाँका महिलालाई अहिले घरपरिवारको पनि उत्तिकै सहयोग र साथ रहेको शाहले बताइन् ।
अहिले उक्त सहकारीमा ९०४ जना महिला सेयर सदस्य छन् । सबैको सुरुवाती अवस्था कमजोर थियो । तर अहिले सबै आत्मनिर्भर भइसकेका छन् । बाख्रापालन गरेर सहकारीमा आयस्रोत जुटाएका उनीहरूले अहिले आर्थिक रूपमा परिवारलाई सघाउन सक्षम भएको बताएका छन् ।
मासिक रु.२५ समूहमा बुझाउनु पर्दा श्रीमानको भर पर्नुपर्ने अवस्थामा रहेकी राप्तीसोनारी–६ की सीता पुनले अहिले आफ्नै कमाईले घर परिवार चलाएको बताइन् । ‘आम्दानी ठिकै छ, घर खर्चको विषयमा अहिले परिवारको सल्लाह हुने गरेको छ,’ उनले भनिन्, ‘सहकारीले नै आत्मनिर्भर र सक्षम बनाएको हो ।’
आर्थिक अभावकै कारण सात बर्षअघि श्रीमानबाट अमानवीय व्यहार सहनुपरेको बताउँदै शोभा परियारले भनिन्, ‘अहिले श्रीमान् पनि खुशी हुनुहुन्छ ।’ सहकारीको बचतले शोभाको परिवारमा परिर्वतनसँगै खुशी पनि छाएको छ । बैदेशिक रोजगारीमा रहेका श्रीमानले बिदेशमा कमाएर पठाएको पैसा खर्च नगरी आफनै कमाईले घरपरिवार चलाउँदा उनीमा एकदमै आनन्द आएको छ ।
‘उहाँको पैसा सकभर खर्च गर्दिनँ,’ उनले भनिन्, ‘आफैंले खर्च जुटाउने भएकी छु ।’ मासिक रु.२०० सहकारीमा बचत गर्दै आएकी शोभाले अहिले सहकारीमा रहेर रु.एक लाख बढीको कारोबार गरिरहेकी छन् । पछिल्लो समय बाँकेमा सहकारीको माध्यमले महिलाहरू आफै आत्मनिर्भर र सक्षम हुन थालेका छन् । सहकारी सञ्चालनमा ३३ प्रतिशत महिला अनिवार्य गरिएको छ ।
एक लाख ६५ हजार शेयर सदस्यमध्ये ५१ प्रतिशत महिलाको सहभागिता रहेको जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम जैशी बताउँछन् । कर्मचारीमा एक हजार ६०० सयमध्ये ६६ प्रतिशत महिला रहेको उनले बताए । सहकारीले परिवारमा आर्थिक सहकार्यको वातावरण सिर्जना गर्ने हुँदा घरेलु हिंसा न्यूनीकरणमा समेत टेवा पुगेको उनको भनाई छ ।
सत्यपाटी - ।