सूचनाको शक्ति - The Power Of Information

        

शिवरात्री विशेष नेपालगन्जमा शिव साधना शिविर हुँदै

बाँके । शिवरात्री पर्वको बिशेष अवसर पारेर नेपालगंजमा चौथो शिव साधना हुने शिविर हुने भएको छ । परम उद्धारकर्ता संकटमोचन स्वरुप गुरु मदनबाबाको सानिध्यतामा फागुन १६ देखि २० गतेसम्म श्री पिण्डेश्वर शिव लक्ष्मीधाम, तुल्सीपुरको आयोजना तथा शिव साधना आयोजना मुल समिति, नेपालगन्जको आतिथ्यतामा नेपालगन्जको भृकुटीनगरमा शिवरात्री विशेष चौथो शिव साधना हुने भएको हो ।

शिव भगवानको पूजा र आरधाना गर्ने विशेष दिन शिवरात्रीका अवसर पारेर आयोजना गरिएको साधनाको क्रममा साधकहरु प्रार्थना, ध्यान, जप, सत्सङ र योगमा लिनहुनाका साथै परम उद्धारकर्ता संकटमोचन स्वरुप गुरु मदनबाबाका मुखारविन्दबाट सत्मार्गमा लाग्न जीवन उपयोगी प्रवचन सुन्ने अवसर प्राप्त हुनेछ । साधनाको अन्तिमदिन पितृहरुको उद्धार एव्म साधक साधिकामा विद्यमान रोग, दोष, विध्नबाधाबाट मुक्ति प्राप्त गर्न महारुद्री अनुष्ठान सहितको सवा करोड ज्योति प्रज्वलन पनि गरिने साधना आयोजन मुल समितिका संयोजक हरि सुवेदीले जानकारी दिए ।

श्री पिण्डेश्वर शिवलक्ष्मीधामका परम उद्धारकर्ता संकटमोचन स्वरुप गुरु मदनबाबाको सानिध्यतामा आयोजना हुने साधनामा नेपाल र भारतका गरी १ हजार बढीको सहभागिता हुने मुल समितिका संयोजक सुवेदीले जानकारी दिए । साधनालाई व्यवस्थित र भव्यरुपमा सम्पन्न गर्नका लागि बिभिन्न समितिहरुसमेत गठन गरिएको छ ।

जसअन्तरगत आर्थिक व्यवस्थापन, प्रचार प्रसार, स्वागत तथा सत्कार, भोजन व्यवस्थापन, आवास, मञ्च तथा टेन्ट व्यवस्थापन, दैनिकपूजा, रुद्री र सवाकरोड ज्योति प्रज्वलन, खानेपानी तथा सरसफाइ, सुरक्षा र कार्यसम्पादन समिति गठन गरिएको प्रचार प्रसार समितिका संयोजक ओबिराज आचार्यले जानकारी दिए । उनले छुट्टाछुटै समितिहरुले सक्रियताका साथ कार्य गरिरहेको बताए ।

कार्यक्रमका सहभागीहरुले नकारात्मक सोंचाइ त्याग्ने, शरीरमा नकरात्मक सोंचका कारण परेका असरहरु कम हुने, तनाव कम भै सकारात्मक उर्जा बढ्दै जाने र जीवनमा कार्य सिद्धी प्राप्त हुनेसमेत यसअघिको शिव साधना शिविरमा सहभागी प्रचारप्रसार संयोजक आचार्यले आफ्नो अनुभव सुनाए । शिविरमा सहभागिताका लागि जुनसुकै धर्म, पेशा, जातजाति, भाषा, संस्कृतिका साथै जनुसुकै उमेरका व्यक्तिहरु सहभागीहुन सक्ने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार १७:००