सूचनाको शक्ति - The Power Of Information

        

आन्दोलनको भुँमरीमा रुकुमपूर्व, हेलिकप्टरमार्फत पुर्‍याइयो थप सुरक्षाकर्मी

रुकुमपूर्व । आइतबार साँझ निषेधित क्षेत्र तोकिएको रुकुम पूर्वको रुकुमकोटमा बुधबार थप सुरक्षाकर्मी हेलिकप्टरमार्फत पुर्याइएको छ । चार किल्ला तोकेर रुकुमपूर्व जिल्ला प्रशासन कार्यालयले लगाएको निषेधज्ञा जारी छ । निषेधाज्ञा नजिक गोलखाडाका करिब ६ हजार नागरिक पुगेका छन् ।

जिल्ला सदरमुकाम कहाँ हुने भन्ने विबादले रुकुम पूर्वका नागरिक विभाजित भएका छन् । अघिल्लो सरकारले गोलखाडालाई सदरमुकाम तोकेको थियो । गोलखाडा बासी विकट वस्तीमा सदरमुकाम हुनुपर्ने पक्षमा छन् । यस्तै रुकुमकोटका नागरिक जिल्ला टुक्रिदा सदरमुकाम खोसिएको पीडामा छन् । दुवै पक्ष आफ्नो ठाउँमा सदरमुकाम बनाउन आन्दोलनमै उत्रिएका छन् ।

तत्कालीन सरकारले गत वर्षको माघ ११ गते रुकुम (पूर्व)को सदरमुकाम पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर १२ स्थित गोलखाडा राख्ने निर्णय गरेको थियो । तर, गत वर्षकै माघ १७ गते अधिवक्ता गणेश हमाल, स्थानीय कृष्ण रेग्मीसहितले सरकारको निर्णय खारेज गरी सदरमुकाम पहिलेकै स्थानमा कायम गर्न सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।

एक वर्षको अवधिमा सर्वोच्चले १६ पटक पेशी तोकिसकेको छ । १६ औँ पेशी यही माघ २७ गते तोकिएको अवस्थामा गोलखाडाबासीले सरकारको निर्णय कार्यान्वयन गर्न दबाब दिएको सरोकार समितिले जनाएको छ । आन्दोलन चर्कदै जाँदा जिल्ला सदरमुकाम विवादले तनावग्रस्त रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकाका सबै वडा र भूमे गाउँपालिकाका केही वडामा गत निर्वाचनमा दिएको मत फिर्ताको माग गर्दै हस्ताक्षर संकलन गरिएको छ ।

पुथाउत्तरगंगाका १४ वडा र भूमेका तीन वडाका बासिन्दाले गोलखाडा सदरमुकामको पक्षमा मत जाहेर गर्दा पनि संघीय तथा प्रदेश सांसदहरु केही नबोलेको भन्दै मत फिर्ताको मागसहित हस्ताक्षर अभियान समेत थालेका छन् । संघीय सांसद कमला रोका तथा यो क्षेत्रबाट प्रदेश सांसद तेजबहादुर ओली छन् । सेतो कपडामा मतदाताको हस्ताक्षर संकलन गरेर प्रतिनिधिसभाको संसद सचिवालय र प्रदेश सभाको सचिवालयमा पेश गरिने उनीहरुको भनाइ छ ।

उच्च सुरक्षा सतर्कता
रुकुमपूर्वको जिल्ला प्रशासन कार्यालयले आइतबार जारी गरेको निषेधाज्ञालाई निरन्तरता दिदै उच्च सुरक्षा सतर्कता अपनाएको छ । सदरमुकाम र आसपासका क्षेत्रमा बाक्लो मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । रुकुमपूर्वको सदरमुकाम गोलखाडा हुनुपर्ने मागसहित स्थानीयहरु आन्दोलित भएका हुन् ।

गोलखाडा पक्षधरताले प्रदर्शनसँगै ज्ञापनपत्र बुझाउन हालको सदरमुकाम रहेको रुकुमकोट नजिक आएपछि प्रशासनले सुरक्षा व्यवस्था कडा गरेको हो । यसअघि नै सुरक्षाकर्मी दोब्बर पारेको प्रशासनले बुधबार बुटवलबाट थप सुरक्षाकर्मी हेलिकोप्टर मार्फत रुकुमकोट झारेको छ । निषेधाज्ञा तोकिएको सिस्ने गाउँपालिका र भूमे गाउँपालिकाको सीमाना धौलापैरामा गोल्खाडा पक्षधरलाई रोक्न प्रहरी बसेको छ ।

प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउनको लागि भन्दै ५ हजार बढी सर्वसाधारण बाटोमा रहेको रुकुम पूर्वको सदरमुकाम गोल्खाडा स्थापनार्थ सरोकार समितिका सदस्य पुनिराज घर्ती मगरले बताए प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले शान्ति सुरक्षा कायम गर्न र जिल्लामा कुनै पनि अप्रिय घटना नघटोस भनेर सुरक्षा ब्यवस्था कडा पारिएको बताए । जिल्ला प्रशासन कर्यालय रुकुम पूर्वले जिल्लामा आईतबार साँझ देखि घोषणा गरेको निशेधाज्ञ जारी राखेको छ ।

रुकुमपूर्वको सदरमुकाम रुकुमकोट बनाउने र गोल्खाडा बनाउने पक्षधरताका बिच बिभिन्न आन्दोलनहरुले जिल्लाको शान्ति सुरक्षमा खलल र्पुयाउन खोजेपछि निषेधाज्ञा जारी गरिएको हो । प्रशासनले अर्को आदेश नभएसम्मको लागि पूर्वमा सिस्ने गाउँपालिकाको वडा नम्बर ५ धौलापहिरा खोला, पश्चिममा सिस्ने गाउँपालिका ५ रानीकोट, उत्तरमा सिस्ने गाउँपालिका ६ रुकुमगाड हुँदै धाउनेको पाटीघट्टसम्म र दक्षिणमा सिस्ने ५ रुमालबारा हुँदै सहिदपार्कसम्मको चारकिल्ला भित्र निषेधाज्ञा जारी गरिएको छ । उक्त स्थान भित्र कुनै पनि बिरोध, सभा, जुलुस र भेला गर्न पाईने छैन भने त्यस्तो गरिएको पाईएमा कानुन अनुसार कारबाही गरिने छ ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार ०९:१४