सूचनाको शक्ति - The Power Of Information

        

लाखौं मूल्यको अवैध सामान बरामद

बाँके । नेपालगन्जमा ठूलो परिमाणमा खाद्यबस्तुसहित कपडा बरामद गरिएको छ । नेपालगन्जमा अबैधरुपमा भित्र्याइएको उक्त सामाग्री विशेष सुराकीको आधारमा वडा प्रहरी कार्यालय र राजश्व अनुसन्धान कार्यालयको सयुक्त टोलीले नेपालगन्ज २ बुद्धटोल (न्यूरोड)बाट बरामद गरेको हो ।
अबैधरुपमा ल्याइएको नेपालगन्ज–२, स्थित एक गोदाम घरमा भण्डार गरि राखिएको अवस्थामा बरामद गरिएको वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख नारायण डाँगीले बताए । उनका अनुसार अनुमानित २०० बोरा चामल र चेक सट ४२०, पेलेन सट ८० थान, सेन्डो १ हजार ४४० र अण्डरवेयर २७ प्याकेट बरामद गरिएको हो ।नेपालगन्जका सरिफ सिद्दिकीले सञ्चालन गरेको स्वस्तिक ट्रेडर्सको नाममा दर्ता भएको उक्त कम्पनीले राजश्व छली गरि नक्कली चामल विक्री वितरण गर्दै आएको थियो । गर्ग एग्री प्रोडक्टस ईन्डिट्रिजको नामबाट विक्री भइरहेको सुमो नामको चामलको हुबहु नक्कल गरि सो चामल विक्री गरिरहेको खबर पाएपछि राजस्व कार्यालय तथा वडा प्रहरी कार्यालयले मङ्गलबार राती छापा मारेको थियो ।
ठूलो परिमाणमा भण्डारण गरि राखेको चामल तथा लत्ता कपडा प्रहरीले बरामद गरेको छ । स्वस्तिक ट्रेडर्सका सञ्चालक सरिफ सिद्धिकी फरार छन् । राजश्व अनुसन्धान कार्यालयका सुरेन्द्र पाण्डेको नेतृत्वमा पुगेको टोलीले उक्त सामान बरामद गरेको हो । सो टोलीले गोदाम घरको सटर तोडेर अबैद्ध सामान बरामद गरेको हो ।

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार ०७:१०