सूचनाको शक्ति - The Power Of Information

        

पाटेबाघको आक्रमणमा बर्दियामा एक जनाको मृत्यु

बाँके । भारतबाट आएको पाटेबाघको आक्रमणमा परि एक जनाको मृत्यु भएको छ । बर्दियाको बढैयाताल गाँउपालिका–२ मा भारतको जङ्गलबाट आएको पाटेबाघले आक्रमण गर्दा स्थानीय ७१ वर्षीय चन्द्रबहादुर शाहीको मृत्य भएको छ ।
बाघकै आक्रमणमा परि अर्का स्थानीयबासी ३० वर्षिय विजय बुढा सामान्य घाइते भएका छन् । बुढालाई बाघले आक्रमण गर्दा उनको टाउको, ढाड र घाँटीमा घाउ बनेको छ । घाइते दुवैजनालाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका लागि ल्याइए पनि शाहीको उपचारका क्रममा मृत्यु भएको हो ।
प्रहरी चौकी जमुनीका ईन्चार्ज प्रहरी नायव निरिक्षक लोकेन्द्र कार्कीका अनुसार गौघाटबाट सीतापुर जाने पक्की पुलको बाटोमा सोमबार साँझ उनीहरुमाथि पाटेबाघले आक्रमण गरेको थियो । नहर छेउ नजिकै रहरबारीमा रहेको पाटेबाघले स्थानीय चन्द्रबहादुर शाहीलाई आक्रमण गरेको हो ।
‘शाहीलाई बाघले आक्रमण गरेलगत्तै पुनः विजय बुढामाथि बाघ जाइलागेको थियो,’ स्थानीयबासी गणेश राई भने । सो क्षेत्रमा सुरक्षाको लागि ईलाका प्रहरी चौकी मैनापोखर, प्रहरी चौकी जमुनी र सशस्त्र प्रहरीको सुरक्षा बेस क्याम्पबाट सुरक्षाकर्मी घटनास्थलमा खटाइएको छ ।
केही दिनअघि बाघले सोही ठाउँ नजिकै मानखोलामा निलगाई र घरपालुवा गाई मारेको पाइएपछि स्थानीय सचेत रहदै आए पनि सोमबार बेलुका गाँउमै पसेर आक्रमण गरेको हो । गाउँमै पसेर बाघले आक्रमण गर्न थालेपछि बाघलाई नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी चौकी जमुनीका ईन्चार्ज प्रहरी नायव निरिक्षक कार्कीले बताए ।

प्रकाशित मिति : २२ माघ २०७५, मंगलवार ०७:४८