बाँके । नेपाली काँग्रेसले आज नेपालगन्जसहित देशभर शक्ति प्रदर्शन गरेको छ । केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिपक्षीलाई देख्नै नचाहने र देशमा सुशासन कायम गर्न नसकेको, सुरक्षा दिन नसकेकोसहित मर्यादामै नबसेको लगायतका १६ वटा आरोप लगाउँदै काँग्रेसले शक्ति प्रदर्शन गरेको हो ।
काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले आइतबार संसद बैठकमै सरकारलाई चुनौती दिँदै भनेका थिए, ‘प्रतिपक्षी कहाँ छ भनेर अब काँग्रेसले सडकदेखि सदनसम्म देखाउँछ ।’ उनले सरकारले प्रतिपक्षीलाई जस्तो व्यवहार गर्छ प्रतिपक्षले पनि त्यस्तै व्यवहार गर्ने जनाएका थिए । ७७ वटै जिल्लामा छुट्टाछुट्टै विरोध सभा गर्नका लागि सबै केन्द्रीय सदस्यहरु विभिन्न जिल्लामा पुगेका छन् । पार्टीले केन्द्रीय नेताहरुलाई जिल्ला जानको लागि निर्देशन दिएको थियो । काँग्रेसले १६ वटा मुद्दालाई सोमबारको विरोध सभामा उठाएको छ । उसले समसामयिक विषयका मुद्दा नै उठाएको हो । सरकारको अधिनायकवादको विरोध, संसदीय सर्वोच्चता कायम गर्न, सरकारको भ्रष्टाचार, राज्य आतंक बन्द गर्न , संसदीय मर्यादा पालना गर्न, वाइडबडी भ्रष्टाचारीलाई कार्वाही गर्न, निर्मला पन्तका बलात्कारी र हत्यारालाई कार्वाही गर्नुपर्ने लगयातका मुद्दाहरू काँग्रेसले उठाएको छ ।
सत्यपाटी - ।