बाँके । अघिल्तिर घना जङ्गल छ । पछिल्तिर पहाडी र थारूहरूको बाक्लो बस्ती छ । जङ्गलसगैं सटेको सतखलुवा ताल, तालको पूर्वतिर ग्याँग र पश्चिममा भादा खोला छ । पूर्वपश्चिम राजमार्गको बैदीचोकबाट साढे तीन किलोमिटर उत्तर लागेपछि सतखलुवा ताल पर्छ ।
ताल पुग्नु अगावै फराकिला बाटा, सफा मनोरमदृष्यका बीचमा सतखलुवा होमस्टे छ, जहाँ आउने पाहुनालाई हार्दिकताका साथ स्वागत गरिन्छ । बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका–९ स्थित सतखलुवा पुग्ने जोकोही पर्यटक आनन्दित नभइरहन सक्दैनन् ।
नगरपालिकाभित्र पर्ने भए पनि बाटोमा ग्रामीण जीवनको अवलोकन गर्न सकिन्छ । बर्खायाम होस् वा गर्मी अथवा कठ्यांग्रिने चिसो । जङ्गलबाटो छिचोल्दै हिँड्नुको मज्जा बेग्लै हुन्छ । सतखलुवा होमस्टे हुँदै १० मिनेट पैदल हिँडेपछि सीमसार जङ्गलमै उक्त ताल देखिन्छ ।
सार्वजनिक सवारीमा नेपालगन्जबाट करिब सवा घण्टा हिडेपछि बर्दियाको बासँगढी हुँदै सतखलुवा पुग्न आधा घण्टा लाग्छ । निजी सवारीमा डेढ घण्टामै पुगिन्छ । बर्दियाको ककौरा हुदै कतर्निया पुग्नु अगावै बैदीचोकबाट उत्तरतिर लागेपछि सतखलुवा पुग्न सकिन्छ ।
जैविक विविधताले भरिपूर्ण यो क्षेत्रमा विभिन्न २५० बढी प्रजातिका चराचुरूंगी, पुतलीका साथै जंगली पाटेबाघ, चित्तल, बँदेल लगायतका जनावर तालमा देख्ने मौका मिल्छ । बाटोमा होमस्टे र साना चियापसल भेटिन्छन् । अर्गानिक तरकारी, फलफूल र दुग्धजन्य पदार्थ ठाउँ–ठाउँमा किन्न पाइन्छ ।
अर्गानिक खानाका परिकारको स्वाद लिने पारखीलाई स्थानीय तम्तयार रहन्छन् । यसक्षेत्रको प्रबद्र्धन गर्न यहाँका स्थानीय र जनप्रतिनिधि पनि उत्तिकै सक्रिय छन् । सतखलुवा तालको संरक्षण र पुनर्निर्माण गरि ब्यवस्थित गर्ने कार्य पनि सुरु भइसकेको छ ।
तालको पुनर्निर्माण गर्न ताल वरिपरि माटो पटान, तटबन्ध र पानी संरक्षणका लागि सौर्य प्यानल जडान गरि डिप बोरिङबाट पानी पटान भइरहेको छ । ६० विघा क्षेत्रफलमा फैलिएको उक्त ताल २१ फिट गहिरो छ । तालको पुनर्निर्माण र व्यवस्थित भएमा आन्तरिक तथा बाह्रय पर्यटकलाई थप आकर्षणको स्थल हुनेछ ।
सतखलुवा ताल संरक्षण समितिका अध्यक्ष सुनिल चापागाईले पोखरीको वरिपरि ग्राभेल बाटो, पिकनिक स्थल, तालमा बोट विहार र आसपासको क्षेत्र अवलोकन गर्न ४० फिट अग्लो भ्यू टावर निर्माण गरिने बताए । सतखलुवा ताल पर्यटकीय गन्तव्य बन्न सक्ने प्रशस्त सम्भावना बोकेको भए पनि प्रचारप्रसारको अभावमा पछि परेको छ ।
ताल संरक्षण समितिका संस्थापक उपाध्यक्ष शिवप्रसाद अधिकारीले आर्थिक अभावका कारण आफूहरूले उलेख्य प्रचारप्रसार गर्न नसकेको बताए । तालको निर्माणका लागि हालसम्म एक करोड लगानी भइसकेको उपाध्यक्ष अधिकारीको भनाइ छ । बारबर्दिया नगरपालिकाको मध्यवर्ती सामुदायिक वनमा रहेको सुन्दर तालको दृष्यले त्यहाँ आउने पर्यटकलाई लालयीत पार्दछ ।
सतखलुवा ताल पर्यटकीय दृष्टिकोणले निकै रमणीय छ । सामुदायिक वनभित्रको तालमा डुँगा सयरको व्यवस्था गरिएसगैं त्यस वरपरका पर्यटकहरूको भीड लाग्ने गरेको अधिकारी बताउँछन् । सतखलुवा ताल सिमसार क्षेत्रमा पर्ने भएकाले यहाँ २५० बढि विभिन्न चराहरू देख्न सकिन्छ । उक्त तालमा साइबेरियन चराहरू पनि आउने गरेको उपाध्यक्ष अधिकारी बताउँछन् ।
बर्दिया राष्ट्रिय निकुञ्जसँगै सटेको उक्त तालमा आहारा र पानीका लागि पाटेबाघ, चित्तल, बँदेल, दुम्सी लगायतका जनावर आउने गरेको उनले बताए । ‘विभिन्न विशेषता बोकेको तालको प्रशस्त पर्यटकीय सम्भावना रहेको छ । यसको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्न सके यहाँ पर्यटकहरूको आगमन हुने देखिन्छ,’ सतखलुवा सामुदायिक होमस्टेका अध्यक्ष सुरेश आचार्यले भने ।
उनले आर्थिक अभावका कारण सकेजति प्रचारप्रसार गर्न नसकिएको बताए । पर्यटकीय दृष्टिकोणमा सम्भावनायुक्त भएपनि अहिलेसम्म प्रचार प्रसार र पर्यटन पूर्वाधारको अभावले ओझेलमा परेको आचार्य बताउँछन् । बारबर्दिया नगरपालिका र महेन्द्र राजमार्गदेखि साढे तीन किलोमिटरको दुरीमा रहेपनि सरोकारवालाको बेवास्थाले पूर्वाधार निर्माण गर्न नसकिएको उनको गुनासो छ ।
पर्यटकीय सम्भावना बोकेका सतखलुवा ताल र सिमसार क्षेत्रको महत्व एवम् सम्भावनालाई उजागर गर्न सतखलुवा सामुदायिक होमस्टेले अभियान सञ्चालन गर्ने योजना बनाएको अध्यक्ष आचार्यले बताए । यहाँ लुकेर रहेको सम्भावनालाई उजागर गरि पर्यटन विकास मार्फत ग्रामीण वस्तीको मुहार फेर्न सकिने उनको भनाई छ ।
‘यहाँ पर्यटक भित्र्याउन प्राकृतिकरूपमा कुनै अभाब छैन, पर्यटन विकासमा न्यूनतम आधारहरू प्रचारप्रसार र राष्ट्रिय निकुञ्जमा हात्ती र घोडामा जंगल सफारी लगायतकोे विकास गर्नसके हामीले आन्तरिकसंगै बाह्य पर्यटकहरूलाई समेत भित्र्याउन सक्छौँ,’ अध्यक्ष आचार्यले भने ।
कसरी रह्यो सतखलुवा नाम
बारबर्दिया नगरपालिका–९ मा रहेको सतखलुवा ताल प्राकृतिक ताल हो । सात वटा तालको मुहान मिलेर बनेकाले स्थानीय थारू भाषामा सतखलुवा भनिएको हो । तालको उत्तर, पूर्व र पश्चिम बर्दिया राष्ट्रिय निकुञ्ज छ । पूर्वमा ग्याँग र पश्चिममा भादा खोलाको बिचमा रहेको तालमा वर्खायाम र चुरे पहाडबाट बगेर आएको पानी जम्मा हुन्छ । हालसम्म उक्त तालको पानी सुकेको छैन ।
सिचाँईको मुख्य श्रोत
बारबर्दिया नगरपालिकाको मध्यवर्ती सामुदायिक वनमा रहेको तालको पानी साविकको खैरेनी हाल सतखलुवा गाँउका ३०० विगाह जमिनमा सिचाई गर्ने मुख्य मुहान हो । तालमा रहेको पानीबाट त्यसक्षेत्रका किसान आफ्नो खेतमा सिचाँई गर्छन् ।
तालमा रहेको पानीको सदुपयोग गर्ने किसानलाई पानीको अभाव नहोस् भनेर सौर्य प्यानल जडान गरि डिप बोरिङबाट पानी पटानको कार्य चलिरहेकोछ । करिब ३०० घरधुरीका १ हजार ४०० स्थानीयबासी त्यसको प्रत्येक्ष लाभ लिइरहेका छन् ।
पिकनिक स्पट
पर्यटकीयस्थलको रूपमा विकास हुँदै गइरहेको तालको स्तरोन्नती तथा व्यवस्थापनमा स्थानीय लागेकाछन् । तालमा यतिवेला दुईवटा डुँगा सयरको लागि राखिएको छ । जहाँ आन्तरिक पर्यटकहरूको घुइँचो लाग्छ । प्रतिव्यक्ति एक घण्टाको २० रूपैयाँ र ग्रुपका लागि २०० रूपैयाँ शूल्कसमेत लिने गरिन्छ ।
तालवरिपरि ८ मिटर चौडा बाँध र बाँधमा ग्राभेल बाटो निर्माण गरिएको छ । ताल प्रवेशद्वारसगै पिकनिक गर्न आउनेका लागि उचित पानी, शौचालय, आरामका लागि कटेज निर्माण समेत गरिएकोछ । त्यसक्षेत्रको मनोरम दृष्य अवलोकनका लागि ४० फिट अग्लो भ्यू टावर समेत आगामी फाल्गुन महिनाबाट निर्माण गरिदैछ ।
धार्मिक महत्व
सीमसार क्षेत्रमा अवस्थित सतखलुवा तालको यसअघि स्थानीयरूपमा ठेक्कामा माछापालनका लागि दिइन्थ्यो । त्यसक्षेत्रमा एकजना स्थानीय चौकीदार रहन्थे । उनी विहानबेलुका तालको वरिपरि चौकीदारी दिन्थे त्यसक्रममा उनले तीनमुखे नाग देखेँ ।
नियमित रूपमा उनले उक्त नाग पोखरीमा आउन थालेपछि, ती चौकीदारले तालको बीचमा सानो नागमन्दिर बनाई पूजाअर्चना गर्न थाले । नागको बारेमा थाहा पाएका स्थानीयले औपचारिक रूपमा हरेक वर्ष नाग पञ्चमीमा त्यहाँ दूध, फलफूल चढाई भव्य रूपमा पूजाअर्चना गर्न थाले । अहिले नागपञ्चमीमा नागको विशेष पुजा गर्ने परम्परा बसेको सतखलुवा सामुदायिक होमस्टेका अध्यक्ष आचार्य बताउँछन् ।
होमस्टे र विशेषता
सीमसारक्षेत्रभित्र पर्ने सतखलुवा सामुदायिक होमस्टेले सतखलुवाको प्रवर्धनमा थप पृष्ठपोषण गरेको छ । सतखलुवा ताल अवलोकन गर्न आएका जोकोही होमस्टेमा आनन्द लिनेगर्छन् । स्थानीय अर्गानिक खानाका परिकार तथा परम्परागत लोक सँस्कृतिको मनोरञ्जन लिने गर्छन् ।
घोडा चढीबाट तालको अवलोकन, जहाँ २५० बढि चराचुरगी, पाटेबाघ, चित्तल र बँदेलले लगायतका जनावर देख्न पाइन्छ । स्थानीय परिकारहरूमा लोकल कुखुरा, खसीका मासु, कोदो ढिँडो, रक्सी, सेल, थारू परिकारको स्वाद लिन सकिन्छ । ताल अवलोकन गर्न आउनेलाई उचित खाजानास्ताको समेत प्रवन्ध मिलाइएको छ ।
समस्या र चुनौती
सीमसार क्षेत्रमा रहेको सतखलुवा गाँउ, गाँउसगै सटेको तालमा जंगली जनावर आफ्नो आहारा र पानी पीउन आउँदा मानव वस्तीसम्म पस्ने हुँदा मानिस, घरपालुवा जनावर र खेतीवाली नोक्सानी भइरहेकोछ । जंगली जनावरको हुन सक्ने सम्भावित आक्रमण र जोखिम हटाउन ताल वरिपरि काँडे तारबार गरिएको छ । जो अपुग छ । यसका लागि स्थानीय तह, पर्यटन बोर्ड लगायत सरोकारवाला निकायले सहयोग गर्न जरुरी रहेको स्थानीयहरु बताउँछन् ।
सत्यपाटी - ।