सूचनाको शक्ति - The Power Of Information

        

राजनीतिक दलभित्र यौन चर्चा, कति सुरक्षित छन् महिला कार्यकर्ता ?

काठमाडौं । विभिन्न क्षेत्रमा कार्यरत महिलामाथि हुने यौनजन्य हिंसाको चर्चा भइरहेका बेला राजनीतिक दलभित्रचाहिँ यस्ता घटना कत्तिको हुने गरेका छन् ? अन्य क्षेत्रमा हुने हिंसाका विषयमा आवाज उठाउने र दण्डित गर्नका लागि दबाब दिने नेपालका विभिन्न राजनीतिक दलभित्र यौनजन्य हिंसा हुने गरेका तथ्य यदाकदा सार्वजनिक हुने गरेका छन् ।
शक्ति केन्द्रमा रहेका नेताबाट महिला कार्यकर्तालाई प्रलोभन र त्यसो नभए धम्की दिएरै भए पनि यौन प्रस्ताव हुने गरेको भन्दै खुल्न थालेका छन् । यौनजन्य कुदृष्टि राख्ने केही नेताका विषयमा भने सामाजिक सञ्जाललगायतका फोरममा महिला कार्यकर्ता खुलेर बोल्ने गरेका हुन् ।
अपवादका रूपमा सार्वजनिक भएका विवरण बाहेक नेताबाट यौनहिंसामा पर्नेको संख्या ठूलो रहेको तथा कतिपय अवसरका लागि नेतासँग सम्बन्ध कायम राख्न पनि उद्दत हुने महिला कार्यकर्ता रहेको ‘ओपन सेक्रेट’ चर्चा छ । नेकपाका एकजना नेता तथा पूर्व सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतले यौनिक रूपमा हिंसा गरको अनुभूति राख्दै सल्यानकी महिला कार्यकर्ता महिमा खत्रीले शुक्रबारमात्र लामो स्ट्याटस लेखेकी थिइन् ।
उनले मानवअधिकारकर्मी र पत्रकारलाई न्यायका लागि सहयोग गरिदिन अपिल गर्दै उक्त स्ट्याटसमा यस्तै भाव राख्दै भनेकी थिइन्, ‘बस्नेतले मलाई चितवनमा बोलाउँदै यौनजन्य हर्कतको प्रस्ताव जस्तो गरेको मैले अनुभुति गरें ।’ राजनीतिक दलका विभिन्न तहमा पुराउने, निर्वाचनका बेला उम्मेदवारको टिकट दिने, मन्त्री नियुक्त गर्ने, सरकारी र संस्थानमा नियुक्त गर्ने विषयमा दलका नेताबाट महिला कार्यकर्तामाथि यौनजन्य प्रस्ताव हुने गरेको बताइन्छ ।
यस्तो ओपनसेक्रेट हल्लाचाहिँ सम्बन्धित राजनीतिक दलका नेताबीच पनि चलिरहने गरेको छ । संसदीय मामिला हेर्ने एकजना पत्रकार भन्छन्, ‘अनौपचारिक हिसाबमा कतिपय महिला कार्यकर्ता र सांसदको कोसँग कस्तो सम्बन्ध कायम रहेको छ भन्ने चर्चा तिनै दलका नेताले नै गरेको सुनेका छौं ।’ नेकपा, नेपाली कांग्रेस, राप्रपा, राजपा होस् वा साना दल सबैमा महिला कार्यकर्ता सुरक्षित नरहेको बताइन्छ ।
त्यतिमात्र होइन, ठूला दलका भ्रातृ संगठनमा सक्रिय नेता कार्यकर्तामा पनि यौनहिंसाको मानसिकता कायम रहेको बताइन्छ । अहिले पनि यो संस्कारको अन्त्य र कुशल राजनीतिक दृष्टिकोण नरहेको बताइएको छ । त्यसो त यौनजन्य हिंसा राजनीतिमा कायम रहेका प्रमाण त लेखिका शारदा शर्माको पुस्तकमा पनि उल्लेख गरिएको थियो ।
उनले पुस्तकमा तत्कालिन सभापति गिरीजाप्रसाद कोइरालाले ढाडमा सुमसुम्याएको उल्लेख गरेपछि यस्ता रहस्यहरू कायम रहेको अनुमान स्वभाविक बनेको छ । त्यसो त कतिपय राजनीतक नियुक्तिमा सीमित महिलाले बारम्बार अवसर पाउनु, नेतासँग निरन्तर भ्रमणमा परिरहनु पनि यसका संकेत हुनसक्ने महिला कार्यकर्ताहरू नै बताउँछन् । त्यसैले गुपचुप नै भए पनि भुसको आगो जस्तो ‘सम्बन्ध’का चर्चा चलिरहेका हुन्छन् ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार ०८:४५