रेनुका गिरी । बुटवल । मन्त्रालयहरुको आपसी समन्वयको अभावले राष्ट्रिय गौरवका परियोजनाहरु सफल हुन नसकेको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा।डा। पुष्पराज कँडेलले बताएका छन् । उनले मन्त्रालयका आ–आफ्नै स्वार्थका कारण समयमै परियोजनाहरु सफल हुन नसकेको बताए ।
राष्ट्रिय योजना आयोगले आइतबार मणीग्राममा गरेको १५ औं योजना आर्थिक वर्ष २०७६/०७७ देखि २०८०/०८१ को आधारपत्र सम्बन्धी प्रदेशस्तरिय परामर्श बैठक तथा अन्तरक्रिया कार्यक्रममा उनले विगत १२ वर्षदेखि कुनै पनि परियोजनाहरु सफल नभएको बताए ।
उपाध्यक्ष कँडेलले स्थानीय स्तरमा आवश्यकता अनुसारका परियोजनाहरु छनौट गर्ने कार्य भैरहेको बताउँदै भने, ‘स्थानीय तहमा तथ्याङ्कलाई कसरी ब्यवस्थित बनाउने भन्ने कार्यमा राष्ट्रिय योजना आयोग लागिरहेको छ ।’ उनले परियोजनाकालागी स्रोत संकलन र खर्च गर्न पनि त्यत्तिकै समस्या रहेको बताए ।
कार्यक्रममा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले गरिबी निवारणमा स्थानीय तहको भूमिका महत्वपूर्ण हुने बताए । उनले आमजनताबीचमा समन्वय गर्न स्थानीय सरकार लाग्नुपर्ने बताए । मुख्यमन्त्री पोख्रेलले स्थानीय सरकारलाई सबल र सक्षम बनाउन जनताको आकांक्षा र महत्वकांक्षाका हिसाबले बाटो तयार गर्नुपर्ने बताए ।
कार्यक्रममा प्रदेश नम्बर ५ को योजना आयोगका उपाध्यक्ष डा.प्रकाश श्रेष्ठले प्रदेश विकासको मोडल र समृद्ध प्रदेश सुखी जनता भन्ने अवधारणासहितको प्रदेश योजनाको खाका प्रस्तुत गरेका थिए । दुई दिनसम्म चल्ने बैठकमा ५ नम्बर प्रदेशका मन्त्रीहरु, प्रदेश सभाका सदस्यहरु, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख र स्थानीय तहका प्रमुख तथा उपप्रमुखसहित करिब तीन सयजना जनप्रतिनिधिहरुको सहभागिता रहेको छ ।
रेनुका गिरी - ।