बाँके । पश्चिम नेपालको व्यवसायीक केन्द्र नेपालगन्जको वायु गुणस्तरहीन देखिएको छ । पानी परेपछि प्रदूषणको मात्रा कम हुँदासमेत नेपालगन्जमा प्रदूषण उच्च हुनुले समग्र वायुको गुणस्तर मापदण्डभन्दा कम भएको पाइएको छ ।
वायु प्रदूषणको हिसाबले पार्टीकुलर म्याटर (पीएम) २.५ को मात्रा ४० माइक्रोग्राम प्रतिक्युबिक मिटरसम्मलाई गुणस्तरीय वायु मानिन्छ । वातावरण विभागको वायु गुणस्तर अनुगमनबाट सबैभन्दा बढी प्रदूषित सहरका रूपमा नेपालगन्ज देखिएको छ । मापनअनुसार नेपालगन्जमा पीएम २.५ को मात्रा १८४ माइक्रोग्राम प्रतिक्युबिक मिटर रहेको छ ।
देशभर मापन गरिएका १३ स्टेसनमध्ये ३ स्टेसनमा मात्रै गुणस्तरीय वायु रहेको छ । प्रदूषणको हिसाबले दोस्रो उच्च प्रदूषण रहेको क्षेत्रका रूपमा सुनसरीको झुम्का क्षेत्र रहेको छ । जहाँ पीएम २.५ को मात्रा १४६ दशमलव ४ माइक्रोग्राम प्रतिक्युबिक मिटर मापन गरिएको छ ।
यस्तै, तेस्रो उच्च प्रदूषित सहरमा सिमरा रहेको वायु प्रदूषण अनुगमन शाखाले जनाएको छ । शाखाका अनुसार पीएम २.५ को मात्रा ९९ दशमलव ३ माइक्रोग्राम प्रतिक्युबिक मिटर प्रदूषण रहेको पाइएको छ । अमेरिकी राजदूतावासमा स्थापना गरिएको मापन केन्द्रले पीएम २.५ को मात्रा ५५ दशमलव ८ माइक्रोग्राम प्रतिक्युबिक प्रदूषण रहेको मापन गरिएको हो ।
सत्यपाटी - ।