सूचनाको शक्ति - The Power Of Information

        

‘चाचाजी’ बृत्तचित्र आज प्रदर्शन गरिँदै

बाँके । प्रेस स्वतन्त्रता सेनानी एवम् वरिष्ठ पत्रकार पन्नालाल गुप्तको जीवनमा आधारित बृत्तचित्र ‘चाचाजी’ आज प्रदर्शन गरिँदै छ । नेपाल प्रेस युनियन बाँकेको संयोजनमा गर्न लागिएको उक्त प्रदर्शनीको सबै तयारी पुरा भएको प्रेस युनियनका केन्द्रिय सदस्य एवम् कार्यक्रम संयोजक जयसिंह केसीले जानकारी दिए ।
नेपालगन्जस्थित होटल कल्पतरुमा बेलुका साढे ५ बजे बृत्तचित्र प्रदर्शन गरिने र त्यसका लागि सबै तयारी पुरा भएको प्रेस युनियनले जनाएको छ । ‘कार्यक्रमको तयारी पुरा भइसकेको छ,’ संयोजक केसीले भने ‘बृत्तचित्र अवलोकन गर्न समयमै उपस्थित हुन आग्रह गर्दछौं ।’ युनियन बाँकेका अध्यक्ष जयनारायण शाहले बृत्तचित्र अवलोकन गर्न सबैलाई निमन्त्रणा गरिएको बताए ।
कार्यक्रममा उपस्थित हुन बाँकेका सम्पूर्ण पत्रकार, नागरिक समाज, राजनीतिक दल, जनप्रतिनिधी, सुरक्षा निकाय, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधी, उद्योगी, ब्यवसायी, समाजसेवी, विद्यार्थी सबैलाई उनले आह्वान गरेका छन् । बृत्तचित्र प्रदर्शनी गरेर संकलन भएको रकम ‘पन्नालाल गुप्त पत्रकारिता पुरस्कार कोष’मा जम्मा गरिने र हरेक वर्ष पत्रकारलाई पुरस्कार गरिने उनले जनाए ।
बृत्तचित्रमा पत्रकार सन्तोष रेग्मीको निर्देशन रहेको छ । नेपालगन्ज निवासी वरिष्ठ पत्रकार गुप्त युनियन बाँकेको संस्थापक अध्यक्ष हुन् । विगत चार दशकभन्दा बढी समयदेखि प्रकाशित हुँदै आएको स्थानीय किरण साप्ताहिकका प्रकाशक सम्पादकसमेत रहेका ९० वर्षिय चाचाजीको सम्मानमा यसअघि युनियनले नेपालगन्जमा रथारोहनसहित नागरिक अभिनन्दन गरेको थियो ।

प्रकाशित मिति : २० माघ २०७५, आइतवार ०६:४७