सूचनाको शक्ति - The Power Of Information

        

सुत्केरी प्रोत्साहन भत्तामा वृद्धि

सुर्खेत । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाले सुत्केरी प्रोत्साहन भत्तामा वृद्धि गरेको छ । सुरक्षित सुत्केरी सेवामार्फत आमा तथा नवजात शिशुको स्वास्थ्य जोगाउन नगरपालिकाले भत्ता बढाउने निर्णय कार्यान्वयनमा ल्याएको हो ।
आर्थिक वर्ष २०७४/७५देखि पञ्चपुरी नगरपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई प्रोत्साहन भत्ता थप गर्ने नीति लिएको हो । प्रोत्साहन भत्ता रु दुई हजार वृद्धि भएसँगै स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने गर्भवतीको संख्या पनि बढेको पाइएको छ ।
नगर स्वास्थ्य शाखाका प्रमुख गङ्गादेव पुरीले गर्भवती भएदेखि नियमित जाँच गराउने, परामर्श लिने, स्वास्थ्य संस्थामै सुत्केरी हुन आउनेको संख्या बढेको बताइन् । उनका अनुसार आव २०७४/७५ मा ६७६ र चालू आवको छ महीनाको अवधिमा ३०६ स्वास्थ्य संस्थामा सुत्केरी भएका छन् ।
स्वास्थ्य संस्थामा सुत्केरी हुँदा सुरक्षित पनि हुने र भत्ता पनि बढी पाइने हुँदा कार्यक्रम प्रभावकारी बन्न पुगेको उनको दाबी छ । सङ्घीय सरकारले नियमित गर्भ जाँच गराएवापत रु ८०० र यातायात खर्चवापत रु दुई हजार दिँदै आएको छ ।
नगरपालिकाको थप रु दुई हजारसमेत गरी सुत्केरीले सम्बन्धित स्वास्थ्य संस्थाबाट रु चार हजार ८०० बुझ्ने गरेका छन् । गर्भवतीले गर्भ रहेको चार महीनामा पहिलो छ, आठ र नौ महीनामा गरी कम्तीमा चार पटक जाँच गराउनुपर्दछ । सङ्घीय सरकारले एक पटक गर्भ जाँच गराए रु २०० दिने गरेको छ ।
नगरपालिकाले भने स्वास्थ्य संस्थामा सुत्केरी हुन आएमा एकमुष्ट रु दुई हजार दिन थालेको छ । नगर उपप्रमुख मुक्ति रेग्मीले ग्रामीण बस्तीमा सुत्केरी अवस्थामा पर्याप्त पौष्टिक आहार नपाउने, बालबालिका कुपोषित हुनेलगायतका समस्याका कारण आमा र बच्चाको स्वास्थ्य खतरामुक्त गर्न पोषण भत्ता दिन थालेको बताए ।
‘सुत्केरी आमा र शिशुको औषधि उपचार, पोषणयुक्त खानपानमा मुद्दत पुग्ने विश्वासका साथ थप प्रोत्साहन भत्ता दिने व्यवस्था गरेका हौँ,’ उनले भने, ‘यसबाट नगरका शतप्रतिशत गर्भवती र सुत्केरी लाभान्वित भएको पाएका छौँ ।’

प्रकाशित मिति : १८ माघ २०७५, शुक्रबार १३:२५