सूचनाको शक्ति - The Power Of Information

        

पर्यटन प्रवर्धन गर्न पश्चिम नेपालमा पहिलो पटक साइकल यात्रा (फोटोफिचर)

नेपालगन्ज साइक्लिङ क्लबले आयोजना गरेको ‘टुर द ठाकुरद्वारा–२०७५’ शुभारम्भका क्रममा विश्व साइकल यात्री पुस्कर शाहलाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा.धवलसम्शेर राणा, उपमेयर उमा थापा मगरलगायत ।

नेपालगन्ज साइक्लिङ क्लबले आयोजना गरेको ‘टुर द ठाकुरद्वारा–२०७५’ शुभारम्भका क्रममा विश्व साइकल यात्री पुस्कर शाहलाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा.धवलसम्शेर राणा, उपमेयर उमा थापा मगरलगायत ।


बाँके । पश्चिम नेपालमै पहिलो पटक ‘साइकल यात्रा’ सुरु भएको छ । नेपालगन्ज साइक्लिङ क्लबको आयोजनामा ‘सद्भाव डटकम टुर दी ठाकुरद्धारा–२०७५’ नाम राखिएको साइकल यात्रा सुरु भएको हो ।
साइकल यात्रामा विश्व साइकल यात्री पुस्कर शाहको नेतृत्वमा ७७ वटै जिल्ला घुमेका साइकल यात्री तेजप्रसाद पराजुली, मेची महाकाली साइकल यात्री रेशम केसी, झापाका ओम बानियाँ, एउटा खुट्टाले कैलालीदेखि रारासम्मको यात्रा गरेका प्यारा साइक्लिष्ट यामलाल रसाइली, काठमाडौंका प्यारा साइक्लिष्ट युवक लामा, सबैभन्दा बृद्ध अष्ट्रेलियन साइक्लिष्ट निल, चार महिलासहित ४२ जनाले सहभागिता जनाएका छन् ।
सद्भाव डटकम टुर दी ठाकुरद्धारा कार्यक्रम संयोजक सतिष निरौलाका अनुसार साइकल यात्राका क्रममा पर्यापर्यटन मञ्चले ठाकुरद्धारा, डल्ला होमस्टे, ठाकुरबाबा मन्दिर लगायत पर्यटकीयस्थलको विषयमा साइकल यात्रीलाई जानकारी गराउने छन् । वातावरणमैत्री र मानव स्वास्थ्यका हिसाबले साइक्लिङ धेरै आवश्यक रहेको उनको भनाई छ । ‘साइक्लिङबाट पनि पर्यटन प्रर्वद्धन गर्न सकिन्छ, साइकल सबैका लागि आवश्यक छ भन्ने सन्देश दिने पनि यो कार्यक्रमको अर्को उद्देश्य हो,’ उनले भने । पश्चिम नेपालमा पहिलो पटक आयोजना गरिएको साइकल यात्राले पर्यटन वर्ष सन् २०२० लाई सघाउने सद्भाव डटकम टुर दी ठाकुरद्धारा कार्यक्रम संयोजक निरौलाले बताए ।
‘पश्चिम नेपालमा हुन लागेको साइकल यात्रा एकदमै नयाँ हो, फ्रान्सबाट सुरु भएको यो साइकल यात्रा काठमाडौं, पोखरा, धरान, हेटौडा लगायतका केही शहरमा हुने गरेको भए पनि पश्चिम नेपालमा पहिलो पटक हुँदैछ,’ कार्यक्रम संयोजक निरौलाले भने, ‘यसले नयाँ सन्देश प्रवाह गर्नेछ, नेपालगन्जलाई बर्दियासँग जोड्ने काम गर्छ, गाउँलाई शहरसँग जोड्ने पनि हाम्रो अभियान हो ।’
कार्यक्रमका लागि नेपालगन्ज उपमहानगरपालिका तथा कोहलपुर, बाँसगढी र ठाकुरबाबा नगरपालिका, पर्यापर्यटन मञ्च ठाकुरद्धारा, विजया स्टिल, नेपालगन्ज फोटो वाकर, नेपालगन्ज बाइसाइकल प्रालिले सहकार्य गरेका छन् । नेपालगन्जको प्रशिद्ध धार्मिकस्थल बागेश्वरी मन्दिरबाट सुरु भएको साइकल यात्रा आज पहिलो दिन कोहलपुर, बर्दियाको बाँसगढी, भुरीगाउँ हुँदै ठाकुरद्वारा पुग्नेछ ।
‘ठाकुरद्वारा पुगेपछि ठाकुरबाबा नगरपालिका र नागरिक समाजले स्वागत गर्ने र ठाकुरबाबा मन्दिरमा साइकल यात्रीहरुले दर्शन गर्ने कार्यक्रम तय भएको छ,’ कार्यक्रम संयोजक निरौलाले जानकारी दिँदै भने, ‘बेलुकी ठाकुरद्वारामा बास बस्छौं । भोली बिहान साइकल यात्रीहरु कर्णाली चिसापानी हुँदै नेपालगन्जतर्फ फर्किने कार्यक्रम छ ।’

प्रकाशित मिति : १८ माघ २०७५, शुक्रबार ११:००