सूचनाको शक्ति - The Power Of Information

        

दूध, अण्डा, मासु र माछामा आत्मनिर्भर

प्रदेश नं ५

खस्यौली । आगामी तीन वर्षभित्र दूध, अण्डा, मासु र माछामा प्रदेश नं ५ लाई आत्मनिर्भर बनाउने योजना सरकारले अगाडि बढाएको छ । प्रदेश नं ५ पशुपक्षी तथा मत्स्य निर्देशनालयले आज बुटवलमा आयोजना गरेको कार्यक्रम सार्वजनिकीकरण गोष्ठीमा वरिष्ठ पशु विकास अधिकृत शरण पाण्डेले आर्थिक वर्ष २०७५/०७६ को बजेट र कार्यक्रमबारे जानकारी दिँदै त्यस्तो योजना ल्याइएको बताए ।
‘पशु आहाराको व्यवस्थापन, नश्ल सुधार, पशु स्वास्थ्यमा सक्षमता, विभिन्न तालीम र बजारीकरणमार्फत प्रदेशलाई पशुजन्य पदार्थ उत्पादनमा आत्मनिर्भर बनाउन सकिन्छ,’ उनले भने । चार लाख नौ हजार ४३४ लिटर दूध उत्पादनको आवश्यक्ता रहेको यो प्रदेशमा अहिले तीन लाख ३१ हजार ३९२ लिटर दूध उत्पादन भइरहेको छ ।
अपुग भएको दूध आर्थिक वर्ष २०७५/०७६ मा २० हजार लिटर र यसलाई वर्षेनी बढाएर लक्ष्य हासिल गरिनेछ । ६२ हजार ९०० मेट्रिक टन मासुको आवश्यकता हुने यो प्रदेशमा ५७ हजार ३३९ मेट्रिक टन मासु उत्पादन हुने गरेको छ । अपुग भएको मासु आव २०७५/०७६ मा दुई हजार ५०० मेट्रिक टन आपूर्ति गरिने र यसलाई वर्षेनी बढाएर लक्ष्य हासिल गरिनेछ ।
दुई लाख १५ हजार ९६५ अण्डा आवश्यक भएकामा अहिले एक लाख ५७ हजार २१ अण्डा प्रदेशमा उत्पादन भइरहेको छ । अपुग भएको अण्डालाई आव २०७५/०७६ मा ३० हजार र त्यसपछि क्रमशः अण्डा उत्पादन बढाउने लक्ष्य लिइएको छ । त्यस्तै २२ हजार ४९६ मेट्रिक टन माछाको आवश्यक्ता हुने यो प्रदेशमा १२ हजार ३१३ मेट्रिक टन माछा उत्पादन हुँदै आएको छ ।
अपुग भएको माछा एक हजार मेट्रिक टन आव २०७५/०७६ मा पूरा गरिने र यसलाई वर्षेनी बढाएर लगिने नीति रहेकोे पशुपक्षी तथा मत्यस निर्देशनालयले जनाएको छ । सो अवसरमा भूमि, व्यवस्था कृषि तथा सहकारीमन्त्री आरती पौडेलले अर्घाखाँचीमा बाख्राको स्रोत केन्द्र बनाउने तयारी भएको जानकारी दिँदै गोठ र बारीमा रहेका कृषकलाई सरकार सहयोग गर्न तत्पर रहेको बताए ।
मन्त्रालयका सचिव यमनारायण देवकोटाले मागमा आधारित कार्यक्रमलाई सम्बोधन गरिने बताए । ह्याचारी सञ्चालक कमलकान्त गौतमले ह्याचरी र दानामा जथाभावी ढङ्गले मूल्य वृद्धि भएको उल्लेख गरे । स्थानीय कृषक रवीन्द्र खड्काले कच्चा पदार्थमा परनिर्भर भएकाले उत्पादन लागत बढेको बताए । रासस

प्रकाशित मिति : १७ माघ २०७५, बिहीबार १६:५५